१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हुवावेद्वारा अमेरिकी कर्मचारी बर्खास्त 

एपी

बेइजिङ — अमेरिकासँगको सम्बन्ध बिग्रँदै गइरहेका बेला चिनियाँ दूरसञ्चार कम्पनी हुवावेले अमेरिकी नागरिकलाई जागिरबाट हटाएको छ । अमेरिकी सञ्चार माध्यमका अनुासर हुवावेको केन्द्रीय कार्यालय सेन्जेनमा काम गर्ने अमेरिकी नागरिकलाई जागिरबाट निकालिएको हो । अमेरिकाले कम्पनीलाई कालो सूचीमा राखेपछि हुवावेले उक्त निर्णय लिएको जनाइएको छ ।

कुनैपनि कम्पनीलाई कालोसूचीमा राखेपछि अमेरिकामा व्यापार तथा अन्य सहकार्यका लागि अनुमति आवश्यक पर्छ । उक्त कदम चिनियाँ कम्पनीको अमेरिकामा व्यापार विस्तार रोक्ने रणनीतिका रूपमा लिइएको छ ।


हुवावेको फाइभ-जीलगायत प्रविधि अमेरिका र चीनबीच जारी व्यापार विवादको प्रमुख जड हो । अमेरिकाले चीनमाथि बौद्धिक सम्पत्ति तथा प्रविधिको चोरी गरेको आरोप लगाउँदै आएको छ ।


अमेरिकाले हुवावेको फाइभ-जी प्रविधि देशका लागि सुरक्षा जोखिम भएको बताउँदै आफ्ना निकटस्थ राष्ट्रलाई उक्त प्रविधि जडान नगर्न आग्रह गरिसकेको छ । त्यसका साथै अमेरिकाले कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेसँगै हुवावेले आगामी दिनमा निर्माण गर्ने मोइबाइल गुगलका एप्सहरू हुनेछैनन् । त्यस्ता एप्समा गुगल प्लेस्टोर, गुगल सर्च, गुगल म्याप, गुगल क्रोम, युट्युब, जिमेल छन् । गुगलले 'अमेरिकी सरकारको निर्देशनअनुसार आफू उक्त कदम चाल्न बाध्य भएको' बताएको थियो । हुवावेले भने 'विश्वव्यापी ग्राहकका लागि सुरक्षित र भरपर्दो सफ्टवेयर बनाउने' जनाइसकेको छ ।


हुवावेका प्रमुख रणनीतिज्ञ दाङ वेनसुवानलाई उद्धृत गर्दै बेलायती अखबारले 'अनुसन्धान तथा विकास विभागमा कार्यरत अमेरिकी नागरिकलाई जागिरबाट हटाइएको' जनाएको छ । अखबारका अनुसार हुवावेले आफ्ना कर्मचारीलाई अमेरिकी कम्पनीसँग कुनै प्रकारको प्राविधिक बैठक नगर्न निर्देशनसमेत दिएको छ ।


यसअघि हुवावे संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रेन जेङ्फीले अमेरिकाले आफ्नो कम्पनीलाई कमजोर सोचेको भन्दै 'आफ्नो कम्पनीको हुवावेको फाइभ-जी सेवालाई भविष्यमा कसैले पनि चुनौती दिन नसक्ने' दाबी गरेका थिए ।


हुवावेले चिनियाँ सरकारका लागि जासुसी गर्ने अमेरिकी दाबी छ । हुवावेकी प्रमुख वित्तीय अधिकृत तथा उपाध्यक्ष मेङ वाङ्झुलाई अमेरिकाको आग्रहमा क्यानडाले पक्राउ गरेपछि दुई देशबीच जारी विवाद थप बल्झेको हो । मेङ हुवावे संस्थापक रेनकी छोरी हुन् ।

प्रकाशित : जेष्ठ १९, २०७६ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?