मोदीका तीन नयाँ हस्ती 

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका गठन गरेको मन्त्रिपरिषद्मा पूर्वप्रशासकदेखि गायकसम्मले मौका पाएका छन् । मोदीले बिहीबार ३३ मन्त्री र २४ राज्यमन्त्रीसहितको मन्त्रिपरिषद् गठन गरेका हुन् । 

मोदीका तीन नयाँ हस्ती 

नवगठित मन्त्रिपरिषद्मा पूर्वअनुमान गरेअनुरूप नै भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष अमित शाहलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । मोदीका निकट विश्वासपात्र शाह उनी गुजरातको मुख्यमन्त्री हुँदा गृहमन्त्री थिए । यी दुईबीच दुई दशक लामो घनिष्ठ सम्बन्ध छ । त्यसैगरी वरिष्ठ नेता तथा पूर्वगृहमन्त्री राजनाथ सिंहलाई यसपटक रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

लोकसभा चुनावमा विपक्षी भारतीय राष्ट्रिय कंग्रेसले रक्षा मन्त्रालयसँग सम्बन्धित रफाल लडाकु विमान खरिद प्रकरणलाई प्रमुख मुद्दा बनाइएको थियो । उक्त खरिद प्रक्रियामा ठूलो भ्रष्टाचार भएको कंग्रेसले दाबी छ । त्यसैले सिंहका सामु रफाल लडाकु प्रकरणलाई पारदर्शी र विश्वसनीय ढंगले अवतरण गराउन चुनौती छ ।


मोदी सरकारको विदेशमन्त्रीमा पूर्वविदेशसचिव सुब्रमण्यम (एस) जयशंकरलाई चयन गरेपछि भने धेरै आश्चर्यमा परेका छन् । करिअर डिप्लोम्याट जयशंकर भूराजनीतिक मामिलामा विशेष दख्खल राख्छन् । उनको चयनलाई मोदीको भारतलाई विश्व राजनीतिमा प्रमुख शक्तिका रूपमा उभ्याउने रणनीतिका रूपमा हेरिएको छ ।


जयशंकर अमेरिका र चीनका लागि राजदूत रहिसकेका छन् । दुई वर्षअघि भारत र चीनबीचको दोक्लाम विवाद सुल्झाउन जयशंकरले प्रमुख भूमिका खेलेको बताइन्छ । यसअघि उनी भारतको बहुराष्ट्रिय कम्पनी टाटा समूहको ग्लोबल कर्पोरेट अफेयर्स प्रेसिडेन्ट थिए ।


जनवरी २०१८ मा परराष्ट्र सेवाबाट अवकाश पाएको केही महिनाभित्रै शंकर टाटामा आबद्ध भएका थिए । मनमोहन सिंहको दोस्रो मन्त्रिपरिषद्मा उनी अमेरिकाका लागि भारतीय राजदूत भएका थिए । त्यसताका उलने भारत र अमेरिकाबीच आणविक सम्झौता गराउन अहंभूमिका खेलेका थिए ।


अर्थमन्त्रीमा निर्मला सिथारमणको चयनलाई पनि रोचक मानिएको छ । स्वतन्त्र भारतमा अर्थमन्त्रीको जिम्मेवारी पाउने इन्दिरा गान्धीपछि उनी दोस्रो महिला हुन् । अघिल्लो कार्यकालमा अर्थमन्त्री रहेका अरुण जेट्लीले स्वास्थ्यको कारण देखाउँदै मन्त्री बन्न अस्वीकार गरेपछि निर्मलाले अर्थ मन्त्रालयको जिम्मेवारी पाएकी हुन् । अघिल्लो कार्यकालमा उनले केही समय वाणिज्य र पछि रक्षा मन्त्रालय सम्हालेकी थिइन् ।


पछिल्लो समय केही सुस्त देखिएको भारतीय अर्थतन्त्र गति दिनु उनको प्रमुख चुनौती हुनेछ । भारतीय तथ्यांक विभागका अनुसार गतवर्ष भारतको कुल गार्हस्थ उत्पादनको वृद्धिदर पछिल्लो पाँच वर्षयताकै न्यून अर्थात् ६.८ प्रतिशत थियो । यसअघि सन् २०१३/१४ उक्त वृद्धिदर ६.४ प्रतिशत मात्र थियो ।


त्यसैगरी बेरोजगारी दर पनि चिन्ताजनक ढंगले बढेको देखिन्छ । विभागद्वारा जारी पछिल्लो तथ्यांकअनुसार गत वर्ष कुल श्रमशक्तिको ६.१ प्रतिशत बेरोजगार थियो । जुन विगत ४५ वर्षयताको सबैभन्दा बढी भएको विभागले जनाएको छ ।


बिहीबार मन्त्री भएकामध्ये केहीले पुरानै मन्त्रालय पाएका छन् । यसमध्ये केही मोदीका विश्वासपात्र र केही अघिल्लो कार्यकालमा राम्रो काम गर्ने भनेर चिनिएका अनुहारहरू बढी छन् । मोदी निकट मानिने पीयूष गोयललाई रेल तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । गोयल यसअघि पनि रेलमन्त्री नै थिए ।


नीतिन गडकरी र धर्मेन्द्र प्रधान अघिल्लो मन्त्रिपरिषद्मा राम्रो काम गर्नेमध्येमा पर्छन् । प्रधानले अघिल्लो कार्यकालमा जस्तै यसपटक पनि पेट्रोलियम, प्राकृतिक ग्यास र स्टिल मन्त्रालय पाएका छन् । त्यसैगरी गडकरीलाई यसपटक पनि सडक, यातायात र हाइवे मन्त्रालयको जिम्मेवारी दिएको छ ।


पटनासाहिब लोकसभा सिटमा बलिउड अभिनेता शत्रुघ्न सिन्हालाई भारी मत अन्तरले पराजित गरेका रविशंकर प्रसादले पुनः सञ्चार, कानुन तथा सूचना प्रविधिको जिम्मेवारी पाएका छन् । यसअघि पनि मन्त्री रहेका रामविलाश पासवान, हरसिम्रत कौर बादल, थवार चन्द गेहलोत र मुख्तार अब्बास नक्वीले मोदीको दोस्रो कार्यकालमा पनि मन्त्री बन्ने अवसर पाएका छन् ।


यसअघि राज्यमन्त्री रहेका गिरिराज सिंह र गजेन्द्र सिंह शेखावत यसपटक क्याबिनेट मन्त्री बनेका छन् । जवाहरलाल नेहरू विश्वविद्यालयका चर्चित विद्यार्थी नेता कन्हैया कुमारलाई बेगुसराय लोकसभा क्षेत्रबाट पराजित गरेका गिरिराज सिंहले जलशक्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् ।


यसैगरी, विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीलाई उनकै गढ मानिएको अमेठीको लोकसभा क्षेत्रमा पराजित गरेर सनसनी मच्चाएकी स्मृति इरानीलाई पनि मन्त्री बनाइएको छ ।


अघिल्लो मन्त्रिपरिषद्मा इरानी टेक्सटाइल मन्त्री थिइन् । यसपटक उनले प्रभावशाली मन्त्रालय पाउने चर्चा चले पनि महिला तथा बालबालिका विकास र टेक्सटाइल मन्त्रालयकै जिम्मेवारी दिइएको छ । सिथारमण, इरानी र कौरसहित ६ जना महिलाले मोदी सरकारमा मन्त्री बन्ने अवसर पाएका छन् । हालै सम्पन्न ५४३ सदस्यीय चुनावमा ७८ जना निर्वाचित भएका थिए ।


मोदी सरकारमा बलिउड

गायक बाबुल सुप्रियले पनि मौका पाएका छन् । पश्चिम बंगालबाट निर्वाचित सुप्रियलाई हेभी इन्डस्ट्री र पब्लिक इन्डस्ट्र्रिजको जिम्मेवारी दिइएको छ । हालै सम्पन्न चुनावमा भाजपालाई पश्चिम बंगालमा अहिलेसम्मकै सबैभन्दा बढी १८ सिट जिताउन उनको प्रमुख भूमिका रहेको थियो ।

प्रकाशित : जेष्ठ १८, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?