दैनिक ६५ हजारले मात्र ग्रेटवाल घुम्न पाउने

कान्तिपुर संवाददाता

बेइजिङ — चीनले ग्रेटवाल घुम्ने पर्यटकको संख्या क्षमताभन्दा बढी हुन थालेपछि संख्या सीमा तोकेको छ । जुन १ देखि बेइजिङको पातालिङ क्षेत्रबाट ग्रेटवाल घुम्न आउने पर्यटकको संख्या तोकिएको छ ।

अबदेखि दैनिक ६५ हजारभन्दा बढीले त्यहाँ भ्रमण गर्न नपाउने नियम बनाइएको छ । पर्यटनको ‘पिक सिजन’ चल्दै गर्दा चिनियाँ अधिकारीले यस्तो निर्णय गरिएको हो ।

बेइजिङमा पातालिङका साथै मुत्यान यु र च्वियोङक्वान नाका ग्रेटवाल चढ्नका लागि सबैभन्दा लोकप्रिय क्षेत्र हुन् । च्वियोङक्वानस्थित युनथाई नामक गेटमा रञ्जना लिपि कुँदिएको छ ।

तर, जानकारी नपाएका कारण नेपालबाट गएका पर्यटकले सजिलो मार्ग रोज्ने गरेका छन् । सजिलो मार्गका रूपमा बेइजिङदेखि ६० किलोमिटर उत्तर–पश्चिम यानछिङ जिल्लामा पर्ने पातालिङलाई लिने गरिएको छ ।

प्रकाशित : जेष्ठ १७, २०७६ ०९:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

खोला जथाभाबी उत्खनन

रमेशकुमार पौडेल

चितवन — गिट्टी, ढुंगा, बालुवा उत्खननको जिम्मा लगाएर अनुगमन नगर्दा खोलाको रूपै बिगारेर मनपरी गर्ने प्रवृत्ति बढेको छ । कालिका नगरपालिकाले उत्खननको अनुमति दिएको थाङखोला र बुङखोलामा सर्तविपरीतका काम रोक्ने प्रयास नभएको स्थानीय बताउँछन् ।

माघदेखि जेठसम्म उत्खनन अनुमति दिए पनि अहिलेसम्म एकपटक मात्रै अनुगमन भएको छ । त्यही अनुगमनको निर्देशनसमेत पालना भएको छैन ।

‘खोलामा मापदण्डविपरीतका काम भएको नांगै आँखाले देख्न सकिन्छ । त्यस्तो नहोस् भनेर जिल्ला समन्वय समिति, प्रहरी, वन कार्यालय, नगरपालिका जताततै गइयो तर केही लागेन,’ थाङखोला सामुदायिक वनका सचिव ढाकाराम दाहालले भने । थाङखोला र बुङखोलाको गिट्टी, ढुंगा, बालुवा उत्खनन गर्ने अनुमति कागजपत्रअनुसार भरतपुर–१ का टंक न्यौपानेको कम्पनी राजी कन्स्ट्रक्सनले पाएको छ ।

न्यौपानेका वारेस रमेश न्यौपानेले कालिका नगरपालिकासँग गरेको सम्झौताअनुसार कर र भ्याटसमेत गरेर तीन करोड ६६ लाख ४० हजार रुपैयाँ तिर्ने गरी ठेक्का परेको हो । थाङखोला, बुङखोला क्षेत्रबाट ५० हजार ४ सय १८ घनमिटर ढुंगा, गिट्टी, बालुवा र ग्राभेलसमेत निकाल्न पाउने सम्झौतामा उल्लेख छ । माघ २४ देखि जेठ मसान्तसम्म उत्खनन गर्न पाउने सम्झौता छ ।

सम्झौताको बुँदा नम्बर १८ मा उल्लेख भएअनुसार खोलाको दायाँबायाँ २५/२५ प्रतिशत भाग छाडेर बाँकी रहने बीचको भागमा मात्र तोकिएअनुसार गहिरो बनाई गिट्टी, ढुंगा निकाल्न पाउने उल्लेख छ । सम्झौतापत्रमा रहेको उत्खनन तथा संकलन विधिको बुँदा चारमा खोलामा खाडलको औसत गहिराइ ८० सेन्टिमिटरदेखि एक मिटरसम्म मात्र हुने उल्लेख छ ।

थाङखोलामा झन्डै चार किलोमिटर र बुङखोलामा झन्डै तीन किलोमिटर उत्खनन गर्दा खोलाको दायाँबायाँका २५ प्रतिशत छाडेको कतै भेटिँदैन । खाडल पनि तीन मिटरसम्म गहिरो छ । ‘साह्रै गुनासो आएपछि फागुनमा हामी अनुगमनमा गएका थियौं । दायाँबायाँ भाग छाडेको पनि भेटिएन । गहिराइ पनि तोकिएअनुसारको भेटिएन,’ कालिका–३ का वडाध्यक्ष टीकाराज रिजालले भने ।

पहिलो अनुगमनमै नियमविपरीत उत्खनन भएको देखेपछि कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठको अध्यक्षतामा स्थानीय अनुगमन समितिको बैठक बसेको थियो । फागुन ६ गते बसेको बैठकले ‘खोलाको दुवै किनारमा आईईई प्रतिवेदन र सम्झौताका प्रावधानबमोजिम छोड्नुपर्ने क्षेत्र र लम्बाइ, चौडाइ तथा गहिराइलाई पालना गर्न ठेकेदारलाई निर्देशन गर्ने’ निर्णय गरेको थियो ।

त्यो निर्देशन नै अलपत्र परेको छ । खोलामा आफ्नै तरिकाले गर्ने उत्खनन जारी छ । ‘कम्पनीको प्रोप्राइटर म भए पनि कामको जिम्मा साथीहरूलाई दिएको छु । त्यसैले के निर्देशन आयो भन्नेबारे म जानकार छैन । मैले
जिम्मा दिएको लालबहादुर तामाङ भन्नेलाई हो । उहाँलाई सोध्नु न,’ राजी कन्स्ट्रक्सनका टंक न्यौपानेले भने । लालबहादुरले भने यो काम आफूले नहेरेको प्रतिक्रिया दिए ।

कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ गोपी अनुगमन र कारबाहीका लागि आफूहरूले माथिल्लो निकायलाई अनुरोध गरेको बताए । ‘गुनासा आएकै हुन् । हामीले अनुगमन गरेर पनि निर्देशन दिएको हो । कारबाहीमा जानुअघि जिल्लास्तरको समितिलाई अनुगमन गर्न भनेका छौं । त्यो अनुगमन अब चाँडै होला । आवश्यक परे कारबाही पनि हुन्छ,’ मेयरश्रेष्ठले भने ।

प्रकाशित : जेष्ठ १७, २०७६ ०९:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT