‘तातोपानी नाकाले बीआरआई गतिशील’

लक्ष्मी लम्साल

बेइजिङ — तिब्बतले नेपाल र चीनबीचको उत्तरी नाका तातोपानीको सञ्चालन बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को गतिशीलताको महत्त्वपूर्ण चरण भएको जनाएको छ । तातोपानी नाका पुनः सञ्चालनबारे तिब्बतको राजधानी ल्हासामा गरिएको पत्रकार सम्मेलनमा तिब्बती अधिकारीहरूले यस्तो बताएका हुन् ।

‘तातोपानी नाका पुनः सञ्चालन भएपछि बीआरआईको अभियान दक्षिण एसियातर्फ अझै तीव्र हुनेछ,’ मंगलबार ल्हासामा पत्रकारले सोधेको प्रश्नको जवाफमा तिब्बत स्वायत्त प्रदेशका उपसचिव चासी च्याङछुओले भने, ‘बिग च्यानलमार्फत दक्षिण एसियातिरको व्यापार, संस्कृति, पर्यटन र अर्थतन्त्रका विविध पक्षको सहकार्य थप प्रवर्द्धन हुनेछ ।’

तातोपानी नाका खुलेसँगै नेपाल र चीनबीचको मित्रता अझै गहिरिँदै जाने उनले बताए । नेपाल–चीन व्यापारिक तथा आर्थिक लेनदेनले दुवै देशका जनताको जीवनस्तर सुधार्न र उच्चतातर्फ लैजान पनि सघाउ पुग्ने उनको विश्वास थियो ।
चासीले तातोपानी नाका खुलेपछि तिब्बतको वैदेशिक व्यापारमा पर्ने प्रभाव, चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभको भूमिका लगायतका विषयमा पत्रकारहरूले राखेका जिज्ञासाको जवाफ दिएका थिए । ‘सुरक्षाका कारण व्यापारिक नाकाबाट मानवीय आवतजावत हुने छैन,’ चासीले पत्रकारमाझ भने, ‘चिनियाँ भाषामा चाङ्मु भनिने तातोपानी नाका तत्काल कार्गो ओसारपसारका लागि मात्रै खुल्ला हुनेछ ।’

पत्रकार सम्मेलनमा उपस्थित ल्हासास्थित नेपाली दूतावासका महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले कान्तिपुरसँग भने, ‘नाकामा बेइजिङबाट गएका जनरल भन्सार प्रशासनका उपमन्त्रीको टोली र नेपालबाट उद्योग वाणिज्य मन्त्रीसहितको टोलीबीच छोटो बैठक भएको’ जनाए ।

प्रकाशित : जेष्ठ १५, २०७६ ०८:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जापानमा चक्कु आक्रमण

विद्यालयको बस कुरिरहेकी ११ वर्षीया छात्रासहित ३ को मृत्यु, १८ घाइते
रोयटर्स/एएफपी

कावासाकी — जापानको कावासाकीमा भएको चक्कु आक्रमणमा कम्तीमा ३ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा विद्यालय जान बस कुरिरहेकी एक ११ वर्षीया बालिका छन् । मृतकमध्ये अर्का ३९ वर्षीय पुरुष छन् । 

जापानको कावासाकीमा मंगलबार भएको चक्कु प्रहारमा ज्यान गुमाउनेलाई समवेदना व्यक्त गर्दै सर्वसाधारण । तस्बिर : एपी

राजधानी टोकियोको दक्षिणको कावासाकी सहरमा गरिएको आक्रमणमा कम्तीमा १८ घाइते छन् । करिब ५० वर्षीय पुरुष आक्रमणकारीले घटनालगत्तै आफैंलाई घाँटीमा चक्कु प्रहार गरेका थिए । उनको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टोकियोको दक्षिणतर्फ रहेको कावासाकी सहरमा यस्तो आपराधिक घटना यसअघि विरलै हुने गरेका थिए । अधिकारीका अनुसार आक्रमणको कारण थाहा हुन सकेको छैन ।

प्रत्यक्षदर्शीका अनुसार दुवै हातमा चक्कु बोकेका आक्रमणकारीले एक निजी विद्यालयका विद्यार्थीमाझ जथाभावी प्रहार गरेका थिए । त्यसलगक्तै एक बसमा चढेका आक्रमणकारीले बसभित्रका केही मानिसलाई पनि दुवै हातले चक्कु प्रहार गरे ।

जापानी समाचार संस्थाले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जनाएअनुसार आक्रमणकारीले ‘म तिमीहरूलाई मार्न चाहन्छु’ भन्दै चक्कु प्रहार गरेका थिए । उनको नाम सार्वजनिक गरिएको छैन ।

स्थानीय अस्पतालका उपनिर्देशक कियोशी मात्सुडालका अुनसार ११ वर्षीया एक स्कुले बालिका र अर्का ३९ वर्षीय एक पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो । अस्पतालका अनुसार आक्रमणमा घाइते १८ को उपचार भइरहेको छ ।

जापानी प्रधानमन्त्री सिन्जो अबेले ‘घटनाप्रति दुःख व्यक्त गर्दै आफूलाई निकै रिस उठेको’ बताए । ‘यो निकै दुःखदायी घटना हो,’ उनले भने, ‘ममृतकहरूप्रति समवेदना प्रकट गर्दै घाइतको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु ।’

स्थानीय व्यक्तिहरूले मृतकफ्रति शोक व्यक्त गर्दै आत्रमणस्थलमा पुष्पगुच्छा राखेका छन् । जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

जापानमा मानसिक रोगीहरूको उपचार केन्द्रमा सन् २०१६मा फूर्व कर्मचारीले चक्कुआक्रमण गरी १९ जनाको ज्यान लिएका थिए । आक्रमणका बेला उनले ‘मानसिक रोगीलाई आफूले अन्त्य गर्न चाहेको’ बताएका थिए । सन् २००१ मा ओसाकाको एक प्राथमिक विद्यालयमा गरिएको आक्रमणमा ८ विद्यार्थीको मृत्यु भएको थियो ।

प्रकाशित : जेष्ठ १५, २०७६ ०८:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT