१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अस्ट्रेलियामा पहिलो चालकरहित रेल

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा पहिलोपटक चालकरहित रेल सञ्चालनमा ल्याइएको छ । सिडनीबाट आइतबारदेखि सुरु ३७ किलोमिटर लामो रेल सेवा निर्माण सम्पन्न गर्न ५ वर्ष लागेको हो । 

अस्ट्रेलियामा पहिलो चालकरहित रेल

अस्ट्रेलियाको सबैभन्दा ठूलो राज्य न्यु साउथ वेल्समा निर्माण गरिएको रेलसेवाको आइतबार राज्यकी प्रिमियर ग्लाडिस ब्यारिजिक्लियनले उद्घाटन गरेकी हुन् ।


विश्वमा प्रयोगमा आएको नयाँ प्रवधि ‘अटोमेटिक ट्रेन प्रोटेक्सन (एटीपी)’ प्रविधिअन्तर्गत सुचारु रेलमा पहिलो दिनमै एक लाख बढीले यात्रा गरेका छन् । उद्घाटनको पहिलो दिन सबै यात्रुलाई निःशुल्क यात्रा गराइएको थियो । प्रतिघण्टा सय किलोमिटर गतिमा चल्ने रेलका लागि बाटो बनाउन १३ किलोमिटर सुरुङ तथा विभिन्न स्थानमा फलाई ओभर बनाइएको छ ।


ब्यारिजिक्लियनले ‘चालकरहित रेलको सुरुसँगै अस्ट्रेलियाको यातायात क्षेत्र नयाँ युगमा प्रवेश गरेको’ बताइन् । सिडनीका अति व्यस्त मानिएका क्षेत्रमा सर्वसाधारणलाई सहज यातायात सुविधा दिने उद्देश्यसाथ रेल निर्माण गरिएको हो । यात्रुले प्रत्येक ४ मिनेटको फरकमा रेलबाट यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।


सिडनीको च्यास्टवुडदेखि टालावुंगसम्म १३ स्टेसन रहेको रेल निर्माणका लागि ७ बिलियन डलर (करिब ५ खर्ब ५० अर्ब रुपैयाँ) लागेको जनाइएको छ । अस्ट्रेलियाको यातायात क्षेत्रकै सबैभन्दा महँगो मानिएको योजना सम्पन्न गर्न २२ हजार विभिन्न क्षेत्रका विज्ञ समावेश थिए । सोही योजनाअन्तर्गत सिडनीकै ब्यांकसटाउन क्षेत्र जोड्ने रेल सेवाको निर्माण भइरहेको छ ।


सिडनी रेलमा इन्जिनियरका रूपमा कार्यरत नेपाली इन्जिनियर शिशिर नेपालले अस्ट्रेलियाले चालकरहित रेल सञ्चालनमा ल्याइसकेको अवस्थामा नेपालमा पनि रेल सञ्चालनका लागि धेरै सम्भावना रहेको बताए । नेपालमा मोनोरेल र मेट्रोरेलभन्दा पनि लाइट रेल उपयुक्त हुने उनी बताउँछन् ।


‘नेपालको आर्थिक क्षमता र भौगोलिक अवस्थाअनुसार लाइट रेल सञ्चालन उपयुक्त र व्यावहारिक हुन्छ,’ उनले भने । उक्त योजना सफल पार्न ‘विश्वका विभिन्न देशमा रेल निर्माण क्षेत्रमा कार्यरत विज्ञलाई समावेश गर्दा प्रभावकारी हुने उनको भनाइ छ । नेपालले भने, ‘नेपाल सरकारले आग्रह गरेको खण्डमा म पनि रेल निर्माणमा योगदान गर्न तयार छु ।’

प्रकाशित : जेष्ठ १३, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?