भारतको लोक सभा विघटन

रासस

काठमाडौँ — भारतका राष्ट्रपति रामनाथ कोबिन्दले शनिबार तल्लो सदन अर्थात् भारतको लोक सभा विघटन गरेका छन् । भारतमा हालै भएको १७ औ लोकसभा निर्वाचनको अन्तिम नतिजा औपचारिक रुपमा घोषणा भएको भोलिपल्ट राष्ट्रपतिले शनिबार लोकसभा विघटनको घोषणा गरेका हुन् ।

शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको संयुक्त गठबन्धन(एनडीए) ले ३५२ सिट हासिल गरेको छ । भाजपा एक्लैले भने ३०३ सिट ल्याएको छ । जुन नतिजा सन् २०१४ मा भन्दा २२ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ ।


एनडीए गठबन्धनमा रहेका अन्य दलहरु मध्ये शिव सेनाले १८, जनता दल युनाईटेड (जेडियु) ले १६, लोक जनशक्ति पार्टीले छ, अकाली दल र अप्ना दलले दुई/दुई सिट तथा झारखण्ड विद्यार्थी सङ्घ, लोकतान्त्रिक पार्टी, मिजो नेशनल फ्रन्ट र नेश्नल पिपल्स पार्टीले एक एक सिट जितेका छन् । त्यसैगरी भाजपाको समर्थन रहेका एक जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् । विपक्षीहरूको गठबन्धनतर्फ भने भारतीय राष्ट्रिय काँग्रेसले ५२ सिटमा मात्रै जित हासिल गरेको छ । अघिल्लो पटकको लोकसभा निर्वाचनको तुलनामा यो पनि ८ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ ।


कंग्रेस नेतृत्वको युपिए गठबन्धनले कुल ८७ निर्वाचन क्षेत्रका विजयी भएको छ । यस गठबन्धनमा आबद्धमध्ये द्रविदा मुन्नेत्र काझागम (डिएमके)ले २३, नेशनलिष्ट कंग्रेस पार्टी (एनसिपी)ले ५, इण्डियन यूनियन मुस्लिम लिगले तीन सिट जितेका छन् ।


त्यसैगरी रिभोलुसनरी सोसलिष्ट पार्टी (आरएसपी), केरला कंग्रेस -एम (केसी-एम), झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र विदुथलाई चिरुथाइगल काट्ची (भिसिके)ले एक एक सिटमा जित हासिल गरेका छन् । निर्वाचनको अन्तिम नतिजा सार्वजनिक र तल्लो सदनको विघटनसँगै भारतमा फेरी नयाँ सरकार गठनको चरण सुरु हुन लागेको छ ।

प्रकाशित : जेष्ठ ११, २०७६ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?