लज्जास्पद हारपछि भारतीय कांग्रेसमा राहुलमाथि राजीनामा गर्न दबाब

सुरेशराज न्यौपाने

नयाँदिल्ली — लोकसभा निर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीमाथि नेतृत्व छाड्न चौतर्फी दबाब परेको छ । 

लज्जास्पद हारपछि भारतीय कांग्रेसमा राहुलमाथि राजीनामा गर्न दबाब

स्रोतका अनुसार शनिबार बिहान दिल्लीको अकबर रोडस्थित पार्टी मुख्यालयमा बस्ने केन्द्रीय कार्यकारिणी समिति (सीडब्लुसी) बैठकले चुनावमा पार्टीको हारको समिक्षासँगै राहुलको नेतृत्वसम्बन्धमा पनि निर्णय लिन सक्ने बताइएको छ ।

पार्टी स्रोतका अनुसार गान्धी आफू भने राजीनामा दिने मनस्थितिमा रहेको र त्यसको जानकारी आज बस्ने सीडब्लुसीलाई गराउने बताइएको छ । सीडब्लुसीको पार्टीको सर्वोच्च निकाय हो । गान्धीले दुई वर्षअघि पार्टीको नेतृत्व लिएका थिए ।

जबकि पार्टी पंक्तिमा अघिल्लो लोकसभा चुनावमा ४४ सिटमा खुम्चिएको कांग्रेसले यसपटक राहुलको नेतृत्वमा राम्रो गर्ने अपेक्षा थियो । तर, त्यसविपरीत पार्टीले देशभरि नै नराम्रो हार व्यहोरेको छ ।

केरल र पञ्जावलाई छाड्ने हो भने बाँकी सबै राज्यहरुमा कांग्रेस भारतीय जनता पार्टी (भाजपा) र ऊ नेतृत्वको राष्ट्रिय लोकतानित्रक गठबन्धन (एनडिए) का सामु निरीह साबित भएको छ । बिहीबार भएको १७ औं लोकसभा चुनावको मतगणनामा भाजपा एक्लैले ३०३ सिट जितेको छ । र, भाजपा नेतृत्वको एनडीएले ३५२ सिट जित्न सफल भएको छ । जबकि बहुमतका लागि २७२ सिट भए मात्र पुग्छ ।

पाँचवर्ष अघि संसदमा प्रमुख प्रतिपक्षको हैसियत गुमाएको कांग्रेसले यसपटक पनि त्यही नियति भोगेको छ । ५४३ सदस्यी लोकसभामा प्रमुख प्रतिपक्षको हैसियत हासिल गर्न कम्तीमा पनि ५५ सिट ल्याउनु पर्छ । यो चुनावमा पार्टीको अवस्था खासै सुधार देखिएन । यो चुनावमा पार्टीले ५२ सिट मात्र जित्न सफल भयो ।

चुनावमा अध्यक्ष राहुल आफै परम्परागत सिट अमेठीबाट पराजित भएका छन् । उनलाई भाजपाकी स्मृति इरानीले पराजित गरिन् । पाँच वर्षको चुनावमा राहुलले १ लाखभन्दा बढी भोटको अन्तरलाई इरानीलाई पराजित गरेका थिएन । राहुल केरलाको वायनाड लोकसभा सिटबाट भने विजयी भएका छन् । राहुलसँगै पार्टीका दर्जनौं हस्तीहरु पराजित भएका छन् । चुनावमा १८ वटा प्रदेश र केन्द्रशासित राज्यमा त खाता समेत खोल्न सफल भएन ।

केही महिनाअघि सम्पन्न विधान सभामा सत्तारुढ भाजपालाई विस्थापित गर्न सफल भएका राज्यहरुमा समेत पार्टी नराम्ररी बढारिएको छ । राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा विधान सभा चुनावमा कांग्रेसले जित हासिल गरेको थियो । तीनवटै राज्यमा पार्टीकै नेतृत्वमा सरकार छ । तर, लोकसभा चुनावमा ती राज्यमा समेत नमिठो हार खेपेको छ । कांग्रेसका तर्फबाट चुनावी मैदानमा उत्रिका विभिन्न राज्यका नौजना पूर्व मुख्यमन्त्रीहरुले हारेका छन् ।

पार्टीमा परिवारवादको प्रभाव, कमजोर संगठन र केन्द्रमा तय भएका चुनावी मुद्दालाई मतदातासम्म पुर्याउन नसकेका कारण पार्टीको लज्जास्पद हारको प्रमुख कारण ठानिएको छ । यो हार पछि पार्टीभित्र मात्र होइन, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत नेतृत्वसँगै संगठन परिचालनको विधिमै कठोर समिक्षा गर्नुपर्ने माग सुरु भएको छ ।

चुनावमा नराम्रो हारपछि पार्टी नेतृत्वका लागि पञ्जावका मुख्यमन्त्री अमरिन्दर सिंहको नाम समेत चर्चामा छ । देशव्यापी मोदी र भाजपा लहरका बाबजुद पञ्जावको १३ सिटमध्ये ८ वटा जित दिलाएको भन्दै सिंहले चौतर्फी वाहवाही कमाएका छन् ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?