कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मोदीको पुनरागमनले चीन उत्साहित  

लक्ष्मी लम्साल

बेइजिङ — १७औं लोक सभामार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठवन्धन विजयी भएकोमा चीनले प्रसन्नता प्रकट गरेको छ।  चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार नै भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना सन्देश पठाएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।

मोदीको पुनरागमनले चीन उत्साहित  

सन्देशमा सीले चीन र भारत एकअर्काका महत्वपूर्ण छिमेकी हुनुका साथै विश्वका दुई ठूला विकासशील राष्ट्र र उदाउँदा अर्थतन्त्र भएको उल्लेख गरेका छन्। पछिल्ला वर्षहरूमा चीन र भारतबीचको संयुक्त प्रयासबाट आपसी सम्बन्धमा निकै सुधार आएको मूल्यांकन गर्दै सीले बहुपक्षीयतावाद, बहुध्रुवीयता तथा विश्व मामिलामा आपसी तालमेल र सहकार्य भएको स्मरण गरेका छन्।


‘चीन-भारत सम्बन्धको विकासमा निकै महत्व दिएको छु,’ उनले सन्देशमा भनेका छन्, ‘मोदीसँगै आपसी सम्बन्धलाई सही दिशातर्फ लैजान, अन्तर्विश्वास बढाउन, व्यवहारिक सहयोग सबल पार्न र साझेदारीलाई नयाँ उचाइ दिन इच्छुक छु ताकि दुवै देश अधिक घनिष्ठ साझेदारीबाट नयाँ गन्तव्यसम्म पुग्न सकौं।’


यसैबीच भारतमा लोकसभाको चुनावपछि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुनः सत्तामा फर्किने भएपछि चिनियाँ विश्लेषकहरू पनि चीन-भारत सम्बन्धले अझै राम्रो गति लिनेमा आशावादी देखिएका छन्। भारतमा मतदान चल्दै गर्दा पनि चिनियाँ संचारमाध्यममा मोदीको पुनरागमनका प्रभावबारे प्रक्षेपण भैरहेका खबरहरू देख्न सकिन्थ्यो।


सन् २०१४ मा मोदीको प्रथम सत्तारोहण पश्चात् चीनसँगको सम्बन्ध हल्का ‘गरम्’ भएपनि अन्ततः ‘नरम्’ नै थिए। विगतका केही घटना अनुरूप चीनका लागि मोदी नै सहमति र सहकार्यका लागि सहज नेता हुन्। सन् २०१५ मेमा चीन भ्रमण आउनुअघि मोदी चिनियाँ सामाजिक संजाल ‘वैपो’मा प्रवेश गरेका थिए। चिनियाँ सञ्जालभित्र छिरेपछि अझै पनि उनी वैपो चलाइरहन्छन्।


उनका हजारौं चिनियाँ फलोअर्स छन्। चीनका चाडपर्व तथा दिवसहरूमा मोदीले सबैभन्दा चाँडो शुभकामना दिन्छन्। त्यति नै खेर अन्तर्देशीय सम्बन्धको इतिहासदेखि वर्तमानसम्मका उपलब्धी र संभाव्यता पनि केलाउँछन्। मोदी मात्रै त्यस्ता नेता हुन् जसले बेला बेलामा चिनियाँ नेताहरूका जन्मदिनहरू याद गरेर शुभकामना ट्वीट गर्ने गर्दछन्। त्यसकारण मोदी चिनियाँका लागि हार्दिक र व्यवहार गर्न सजिला मित्र हुन्।


दोक्लम विवादले चीनजस्तो छिमेकी बिच्किने संभावनाकाबीच मोदी र सी चिनफिङबीच चीनको वुहानमा वार्ता भयो। सन् १९६२ को चीन-भारत युद्धको पुनरावृत्ति हुने ठानिएको त्यो जटिल परिस्थिति दुई नेताको सुझबुझपूर्ण वार्ताले नै झण्डै साढे २ महिनापछि सहज रूपमा अवतरित भयो। यसबाट मोदी मत भिन्नताका बावजुद सहकार्य गराउन सकिने खालका नेता हुन् भन्ने प्रष्टिन्छ।


नेताद्वयको वुहान भेटवार्ताको प्रथम वार्षिकोत्सव पारेर चीनले गत अप्रिल अन्त्यमा भारत-हुपै वाणिज्य गोष्ठी वुहानमै आयोजना गर्‍यो। जहाँ चीनका लागि भारतीय राजदूत विक्रम मिस्रीले वुहानमा दुई नेताबीच भएको अनौपचारिक वार्ता दुई मुलुकबीच दौत्य सम्बन्धको इतिहासमा कोसेढुङ्गा भएको विशेषण लगाए। वुहान भावना अनुरूप हाल चीन-भारत आवत-जावतका विभिन्न क्षेत्रहरू विस्तृत हुँदै गएको उनले ठहर्याए।


भारतका लागि चीन पनि सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। पछिल्ला वर्षहरूमा दुवै देशले सहकार्य र प्राविधिक क्षेत्रमा सहयोगको अभूतपूर्व शक्ति पनि देखाएका छन् र यसको ‘श्रेय’ मोदीलाई नै जान्छ। त्यति मात्रै नभएर चीनमा यतिखेर बलिवुडको पनि भव्य स्वागत हुन थालेको छ। मे १४ सन् २०१५ मा मोदीले चीनको राजकीय भ्रमण गर्दाखेरी पल्लो शान्सी प्रान्तको सिआन शहरमा रहेको टेराकोट्टा वारियर्स र घोडा संग्रहालयको निकै अभिरूचिपूर्वक विद्यार्थीजस्तो भएर अध्ययन गरेका दृश्यहरू चिनियाँ संचारमाध्यमहरूमा छताछुल्ल देख्न सकिन्छ।


चीन र भारत एकअर्काद्वारा मिल्काउन नसकिने छिमेकी हुन्। प्रतिष्पर्धाभन्दा पनि सहकार्यबाट निकै फाइदा हुने कुरा मोदीले बुझेका छन्। मोदीको कार्यकालमा उत्पन्न असमझदारी भनेको दोक्लाम विवाद र केही चीनले दावी गरेका विवादास्पद सीमा क्षेत्रमा भ्रमण मात्रै हो। त्यो पनि सहजै अवतरण भएपछि मोदी चिनियाँका नजरमा राम्रो नेता ठानिएका छन्।


चिनियाँहरूका नजरमा मोदी चिनियाँ राष्ट्रपति सीजस्तै विश्वनेता बन्नसक्ने ल्याकत भएका नेता हुन्। गुजरातको मुख्यमन्त्री हुँदादेखि नै उनले यस्तो क्षमता देखाएको चिनियाँहरूले पनि बुझेका छन् जसरी किशोरावस्थादेखि नै सी चिनफिङ पनि श्रमिकदेखि राजनीतिक कार्यभार सम्हाल्दै हुर्किएका नेता हुन्। मोदीको आगमनसँगै भारतले सुधारमा गरेको प्रगति नक्कली होइन भन्नेमा चिनियाँहरू विश्वस्त देखिन्छन् जब कि चीन पनि अहिले त्यही मोडबाट अगाडि बढिरहेको छ।


चीन-भारत सम्बन्ध सुध्रिँदै गैरहेका बेला यसलाई परिपक्व बनाउनका लागि अहिलेलाई नरेन्द्र मोदी नै चाहिएको छ। सी र मोदीजस्ता राष्ट्रवादी नेताहरूबीचको सहज सहकार्यबाट क्षेत्रीय स्थिरता र शान्ति स्थापनाका लागि यसअघि निर्माणाधीन पूर्वाधारहरूले गति लिने भएकाले चीनलाई पनि मोदीको पुनरागमनको प्रतीक्षा हो।


फेरि दुवै नेताबीच सहकार्य र भावनाका अनेकन् केमेष्ट्रीहरू मिलेकोले पनि भावी विश्व राजनीतिक स्थिरताका लागि मोदीको पुनरागमन नै सी चिनफिङको चाहना थियो। एउटा कुरा के प्रष्ट छ भने कुनै पनि स्पर्धा गर्नका लागि प्रतिष्पर्धी पनि उत्तिकै ‘नेक टू नेक’ हुनेखालको हुनुपर्छ, अनि मात्रै ठोस नतीजा निस्कनसक्छ।


मनोविज्ञान अध्ययन गर्दा चीन र चिनियाँ नेताहरूका लागि मोदीको पुनरागमन चीन-भारत भावी प्रतिष्पर्धा पनि रोचक हुनेछ।

प्रकाशित : जेष्ठ १०, २०७६ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?