अमेरिकाले हुवावेलाई कमजोर ठान्यो - हुवावे संस्थापक तथा सीईओ रेन जेङ्फी

एजेन्सी

बेइजिङ/वासिङटन — चिनियाँ मोबाइल कम्पनी हुवावेका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रेन जेङ्फीले अमेरिकाले आफ्नो कम्पनीलाई कमजोर ठानेको भन्दै अमेरिकी कदमको बेवास्ता गर्ने जनाएका छन् । 

अमेरिकाले हुवावेलाई कमजोर ठान्यो - हुवावे संस्थापक तथा सीईओ रेन जेङ्फी

चिनियाँ सरकारी सञ्चारमाध्यमसँग मंगलबार कुरा गर्दै रेनले ‘हुवावेको फाइभ-जी सेवालाई भविष्यमा कसैले पनि चुनौती दिन नसक्ने’ दाबी गरे ।


अमेरिकाले गत बुधबार चिनियाँ दूरसञ्चार कम्पनी हुवावेलाई कालोसूचीमा राखेपछि अमेरिकी कम्पनीले हुवावेसँग व्यापार तथा अन्य सहकार्यका लागि अनुमति आवश्यक पर्छ । उक्त कदमलाई चिनियाँ कम्पनीको अमेरिकामा व्यापार विस्तार रोक्ने अमेरिकी रणनीतिका रूपमा लिइएको छ ।


‘अमेरिकी राजनीतिज्ञको पछिल्लो कदमले हाम्रो शक्तिलाई कमजोर आकेको छ,’ रेनले भने । हुवावेले आफ्नो फाइभ जी सेवासम्बन्धी उत्पादनबारे युरोपेली देशले नकारात्मक प्रतिक्रिया झेलिरहेको छ ।


हुवावेले चिनियँँ सरकारका लागि जासुसी गर्ने अमेरिकी दाबी छ । उक्त आरोपको हुवावेले खण्डन गर्दै ‘आफू चिनियाँ सरकारबाट स्वतन्त्र रहेको’ बताउने गर्छ ।


अमेरिकी कम्पनी गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टमका आफ्ना केही एप्सहरू हुवावे मोबाइलमा नराख्ने निर्णय गरेको थियो । यद्यपि, अमेरिकाले मंगलबार गुगललाई हुवावेसँग व्यापार गर्न ९० दिनको अनुमति प्रदान गरेको अमेरिकी वाणिज्यमन्त्री विल्बर रोसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।


यसअघि हुवावेकी प्रमुख वित्तीय अधिकृत तथा उपाध्यक्ष मेङ वाङ्झुलाई अमेरिकाको आग्रहमा क्यानडाले पक्राउ गरेको थियो । मेङ हुवावे संस्थापक रेनकी छोरी हुन् ।


अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापार विवाद मेङको पक्राउपछि थप चर्केको छ । अमेरिकाले केही चिनियाँ कम्पनीले आफ्नो बौद्धिक सम्पत्ति तथा प्रविधि चोरेको आरोप लगाउने गर्छ । अमेरिकी बुझाइमा त्यस्ता कम्पनीमा हुवावे पनि पर्छ ।


सोमबार गुगलले गरेको निर्णयसँगै हुवावेले आगामी दिनमा निर्माण गर्ने फोनमा गुगल प्लेस्टोर, गुगल सर्च, गुगल म्याप, गुगल क्रोम, युट्युब, जिमेललगायतका एपहरू राख्न पाउने छैन । तर ३ महिनाका लागि भने त्यो टरेको छ ।


गुगलले ‘अमेरिकी सरकारको निर्देशनअनुसार उक्त कदम चालेको र आशय समीक्षा’ गरिरहेको जनाएको थियो । गुगलको निर्णयपछि हुवावेले ‘एन्ड्रोइडको विकास र विस्तारमा कम्पनीको ठोस योगदान रहेको’ दाबी गर्दै ‘विश्वव्यापी ग्राहकका लागि सुरक्षित र भरपर्दो सफ्टवेयर बनाउने’ जनाएको थियो ।

प्रकाशित : जेष्ठ ८, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?