२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

बेलायती मेयरमा नेपाली

नवीन पोखरेल

लन्डन — बेलायतमा नेपालीमूलका डा. जगन्नाथ शर्मा मेयर निर्वाचित भएका छन् । शर्मा नर्थ योर्कसायरको कोलबर्न टाउन काउन्सिल मेयरमा निर्वाचित भएका हुन् । 

बेलायती मेयरमा नेपाली

मे पहिलो साता कन्जरभेटिभ पार्टीबाट काउन्सिलर निर्वाचित उनी सोमबार काउन्सिलरमाझ भएको मतदानमा करिब दुई तिहाइ मतले मेयर निर्वाचित भए । बेलायतमा नेपालीमूलका दोस्रो मेयर उनी यसअघि उक्त काउन्सिलको उपमेयर थिए ।


यसअघि सन् २०१६ मा पहिलो मेयर बनेका शंकर गैरेले भने स्वान्ली टाउन काउन्सिलबाटै ‘असहयोग र षड्यन्त्र’ भएको भन्दै ६ महिना नपुग्दै राजीनामा दिएका थिए ।


बेलायती रक्षा मन्त्रालयअन्तर्गत क्याट्रिक ग्यारिसनको डिपार्टमेन्ट प्रमुख सुपरिटेन्डेन्ट डा. शर्मा कोर्लबर्न टाउनमा जातीय अल्पसंख्यक (इथ्निक माइनोरिटी) बाट मेयर बन्ने पहिलो मेयर हुन् ।


पर्वत बिहादी रानीपानीका शर्माको कार्यकाल कम्तीमा एक वर्ष हुनेछ । ‘यसलाई मैले अवसर र चुनौतीका रूपमा लिएको छु,’ उनले कान्तिपुरसँग भने, ‘मेयरका रूपमा स्थानीय मुद्दाजस्तै भौतिक पूर्वाधार समस्या समाधान, मेरो क्षेत्रमा उच्च दक्ष व्यक्तिका लागि उपयुक्त जागिर नहुँदा मानिस अन्यत्र सर्ने समस्या निराकरण गर्न सरकारी निकाय, सांसद एवं काउन्सिलरहरूसँग पहल, समुदायबीच समायोजन आदि मेरा प्राथमिकता छन् ।’ उनको क्षेत्रमा ६ हजार ५ सय जनसंख्या छ ।


सन् २००१ मा बेलायत आएका शर्मा सन् २००३ देखि बेलायती रक्षा मन्त्रालयको जागिरमा प्रवेश गरेका थिए । स्पोर्टस् मेडिसिनमा विद्यावारिधि गरेका डा. शर्माको विभागीय व्यवस्थापन र सैनिकहरूलाई घाइते हुनबाट बचाउने एवं बिरामी भएकालाई चाँडो निको पार्ने जिम्मेवारी छ । उनका स्वास्थ्यसम्बन्धी कैयौं जर्नल प्रकाशित छन् ।


पछिल्ला वर्ष बेलायतको स्थानीय राजनीतिमा नेपाली प्रवेश हुने क्रम विस्तारै बढ्दै गएको छ । मे पहिलो साता सम्पन्न स्थानीय निर्वाचनमा करिब आधा दर्जन नेपाली काउन्सिलर पदमा निर्वाचित भएका थिए ।


प्रकाशित : जेष्ठ ८, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?