कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विपक्षीद्वारा सर्वेक्षण नतिजा अस्वीकार

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा अन्तिम चरणको मतदान सकिएलगत्तै करिब आधा दर्जन मिडियाले गरेको मत सर्वेक्षणप्रति भारतीय राष्ट्रिय कंग्रेससहित सबै विपक्षी दलले असन्तुष्टि जनाएका छन् । 

मिडियाले सत्तारूढ भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन (एनडीए) ले स्पष्ट बहुमत ल्याउने सर्वेक्षण गरेका थिए । विपक्षी दलले विगतमा पनि यस्ता सर्वेक्षण गलत साबित भएको दाबी गर्दै मतगणनाको दिनसम्म पर्खन आग्रह गरेका छन् ।


उनीहरूले विहारको सन् २०१५ को विधानसभा चुनाव क्रममा गरिएको सर्वेक्षणको उदाहरण दिँदै यसपटक पनि त्यस्तै दोहोरिने दाबी गरेका छन् । उक्त चुनावमा मतगणना अघिका सबैजसो सर्वेक्षणले भाजपाको भारी बहुमत आउने देखाएका थिए ।


अन्तिम नतिजा भने त्यसको उल्टो विपक्षी महागठबन्धनका पक्षमा आएको थियो । कुल ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट चाहिनेमा यसपटक सर्वेक्षणले भाजपा नेतृत्वको गठबन्धनले करिब ३०० सिट ल्याउने अनुमान गरेका छन् ।


चुनाव अघिसम्म खण्डित मतादेशको चर्चा भइरहेका बेला सार्वजनिक सर्वेक्षणले उत्तरप्रदेश, विहार, उडिसा र पश्चिम बंगालमा भाजपा हावी हुने देखाएको छ । अधिकांश सर्वेक्षणले उत्तरप्रदेशको कुल ८० सिटमध्ये एनडीएले ३८ देखि ६८ सिट जित्ने अनुमान गरेका छन् ।


एबीपी–एसी नेल्सनले भने एनडीएले २२ सिट जित्ने दाबी गरेको छ । विपक्षी समाजवादी पार्टी (सपा) र बहुजन समाज पार्टी (बसपा) बीच चुनावी गठबन्धन भएका कारण चुनाव अघिबाटै उत्तरप्रदेशमा भाजपाले ठूलो क्षति बेहोर्ने अनुमान गरिँदै आएको थियो ।


चुनावअघि सार्वजनिक कतिपय मत सर्वेक्षणले २०१४ को चुनावमा लोकसभामा ८० मध्ये ७१ सिट जितेको भाजपाले यसपटक बढीमा ३५ देखि ४० ल्याउने भविष्यवाणी गरेका थिए । त्यसका पछाडि केही ठोस कारण थिए ।


पाँच वर्षअघिको चुनावमा सपा र बसपाले प्राप्त गरेको मतलाई जोड्ने हो भने त्यो भाजपाले पाएको ४२ प्रतिशतकै नजिक हुन्थ्यो । यादव जातिमा पकड राख्ने सपा र जाटभमा एकलौटी पकड भएको बसपाबीचको गठबन्धनमा मुस्लिमको समेत मत थपिने अुनमानका आधारमा यसपटकको नतिजा उनीहरूका पक्षमा आउने आकलन गरिएको थियो ।

प्रकाशित : जेष्ठ ७, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?