२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

अस्ट्रेलियाली आमनिर्वाचन : मरिसन पुनः प्रधानमन्त्री बन्ने 

एजेन्सी

क्यानबेरा — अस्ट्रेलियाको प्रधानमन्त्रीमा स्कट मरिसन पुनः निर्वाचित हुने भएका छन् । उनको नेतृत्वको गठबन्धनले सरकार बनाउनका लागि आवश्यक बहुमत ल्याउने करिब निश्चित भएकाले उनी पुनः प्रधानमन्त्री हुने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

अस्ट्रेलियाली आमनिर्वाचन : मरिसन पुनः प्रधानमन्त्री बन्ने 

निर्वाचन आयोगका अनुसार ७६ प्रतिशत मतगणना सकिँदा मरिसन नेतृत्वको गठबन्धन ७५ सिट विजयी भइसकेको छ । मतपरिणाम सार्वजनिक भएलगत्तै बोल्दै मरिसनले 'आफूले सधैं आश्चर्यमा विश्वास गर्ने' प्रतिक्रिया दिए । विजयी भाषणका क्रममा मरिसनले मतदातालाई धन्यवाद दिंदै आफूले जनताको अपेक्षाअनुसार अघि बढ्ने बताए ।


चुनावी सर्वेक्षणहरूले ५ वर्षमा पहिलो पटक लेबर पार्टीले विजयी हुने देखाएका थिए । तर निर्वाचनमा पराजित भएसँगै विपक्षी दल लेबरका नेता बिल सर्टनले राजीनामा दिइसकेका छन् ।


अन्तिम मतपरिणाम सार्वजननिक नभइसके पनि मरिसन नेतृत्वको लिबरल-नेसनल गठबन्धनले सरकार बनाउने पक्का भइसकेको छ । सरकार गठनका लागि आवश्यक बहुमतका लागि ७६ सिट आवश्यक पर्छ । गठबन्धनले बहुमत पुर्‍याउन केही स्वतन्त्र सांसदको समर्थन जुटाउने जनाइएको छ ।


परिणामअनुसार विपक्षी लेबर पार्टी ६५ सिटमा विजयी भएको छ । अस्टे्रलियामा १ सय ५० प्रतिनिधिसभा सदस्य र माथिल्लो सदन सिनेटका ७६ सिटका लागि चुनाव भएको हो ।


अस्टे्रलियामा बालिगमध्ये ९० प्रतिशतले मतदान गरेका थिए । अनिवार्य भोटिङको व्यवस्था भएकाले कुनै खास कारणबिना मतदानमा सरिक नहुनेलाई जरिवान गर्ने गरिन्छ । प्रत्येक ३/३ वर्षमा आम निर्वाचन हुने गर्छ । तर, पार्टीभित्रको आन्तरिक शक्तिसंघर्षका कारण सन् २००७ यता कुनै पनि प्रधानमन्त्री पूरा कार्यकाल पदमा रहेका छैनन् । ९ महिनाअघि माल्कोल्म टर्नबुलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेका मरिसनले आफ्नो दल लिबरल र नेसनल पार्टीबीच चुनावी गठबन्धन गरेका हुन् ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?