कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बेलायती वयस्क विश्वकै जड्याहा

नवीन पोखरेल

लन्डन — बेलायती वयस्कहरु रक्सी पिउनेमा संसारमै एक नम्बरमा परेका छन् । एक विश्वव्यापी सर्वेक्षणका अनुसार बेलायती वयष्कहरुले १२ महिनाको अवधिमा औसत ५१.१ पटक रक्सी पिएको पाइएको छ, जुन साताको करिब एकपटक हो । तर, संसारका ३६ मुलुकमा गरिएको सर्वेक्षणले औसत वयस्कहरुले वर्षमा ३३ पटक मात्र रक्सीजन्य पेय पिउने गरेको देखाएको छ । 

बेलायतपछि अमेरिका, क्यानडा र अस्ट्रेलियाका वयस्कले बढी रक्सी पिउँछन् । आठ वर्ष लगाएर गरिएको विश्वव्यापी 'ग्लोबल ड्रग्स सर्भे' का अनुसन्धाताले विश्वका एक लाख २० हजार नमुनामा सर्वेक्षण गरेका हुन् । तीमध्ये इंग्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र नर्दन आयरल्यान्डमा ५ हजार ४ सय नमूना छनोट गरिएको थियो ।

यसअघि बेलायतमा गरिएको एक सर्वेक्षणले १० वर्ष अघिको तुलनामा बेलायती वयस्कहरुले कम रक्सी पिउन लागेको जनाएको थियो । विशेषज्ञहरुले वयस्क पुस्ताको तुलनामा सहस्राब्दी पुस्ता भनिने युवायुवतीहरुले कम रक्सी पिउने गरेको बताएका थिए । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले वयस्कहरुले सातामा १४ युनिट (झन्डै ६ पिन्ट बियर) भन्दा बढी पिउन नहुने सुझाएको छ ।


ग्लोबल ड्रग्स सर्भेका संस्थापक प्राध्यापक एडम विन्स्टकले भनेका छन्, 'रक्सी पिएर मातेको मान्छेलाई चोटपटक लाग्ने खतरा मात्रै होइन, स्वास्थ्यलाई पनि धेरै बढी जोखिम हुन्छ ।' उनले ब्रिटिसहरुलाई अन्य युरोपेली मुलुकका वयस्कहरुको जस्तै थोरै पिउने बानी बसाल्न पनि सुझाव दिएका छन् । इंग्ल्यान्डमा एक करोड मानिसले अल्कोहल सेवन गर्ने गरेको पाइएको छ । बेलायतको अल्कोहल उद्योग १३ बिलियन पाउन्ड बराबरको रहेको तथ्यांक छ ।


नेप्लिज डक्टर्स एशोसिएसन यूके (एनडिए यूके) महासचिव एवं कन्सल्टेन्ट डा. कमल अर्याल मदिरा सेवन धेरै वा थोरै जति भए पनि स्वास्थ्यका लागि हानिकारक हुने बताउँछन्। अर्याल लगातार रक्सी सेवनले मुटु, कलेजोको रोग, स्ट्रोक, ब्रेन ड्यामेज तथा मुख, घाँटी र छातीको क्यान्सर हुने जोखिम औल्याउँछन् । पछिल्ला वर्ष बेलायतमा रक्सीका कारण हुने मृत्युदर बढिरहेको पाइएको छ । बेलायतको राष्ट्रिय तथ्यांक कार्यालय (अफिस फर नेशनल स्टयाटिसटिक्स) का अनुसार, सन् २०१७ मा अल्कोहलका कारण ७ हजार ६९७ जनाले ज्यान गुमाएका थिए ।

उता, इंग्ल्यान्ड र वेल्समा धेरैजसो हिंसात्मक अपराधिक घटना अल्कोहल सेवनपछि भएका तथ्यांकले देखाएका छन् । सन् २०१६, २०१७ मा रक्सी सेवनका कारण ४ लाख ६४ हजार घटना भएका थिए जुन कुल हिंसात्मक अपराधको ४० प्रतिशत हो । सन् २०१७ देखि ०१८ सम्म इंग्ल्यान्डमा अल्कोहलका कारण ११ लाख मानिस अस्पताल भर्ना भएका थिए ।

प्रकाशित : जेष्ठ ५, २०७६ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?