कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अस्ट्रेलियामा फ्लुको महामारी

अस्ट्रेलिया — अस्ट्रेलियामा फ्लुका कारण यस वर्ष मात्रै ४२ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश वृद्धवृद्धा छन् । 

ज्यान गुमाउनेमध्ये अधिकांश क्विन्सल्यान्ड र दक्षिणी अस्ट्रेलियाका छन् । हालै सार्वजनिक तथ्यांकअनुसार क्विन्सल्यान्डमा २५ जनाले ज्यान गुमाइसकेका छन् भने दक्षिण अस्ट्रेलियामा १७ को मृत्यु भएको हो । ती मध्ये १३ वृद्धवृद्धा छन् । अस्टे्रलियमा ६ राज्य र दुई टेरिटोरी छन् । अन्य स्थानको तथ्यांक सार्वजनिक नभइसकेकाले मृतकहरूको संख्या अझ बढ्न सक्ने जनाइएको छ ।


दक्षिण अस्ट्रेलियामा फ्लुले मृत्यु हुने वृद्धवृद्धाको संख्या बढेपछि उनीहरू बस्ने नर्सिङ होम अस्थायी रूपमा बन्द गरिएको छ । प्रमुख स्वास्थ्य अधिकृत प्रोफेसर प्याडी फिलिप्सले वर्षको सुरुवातदेखि हालसम्म ५३ नर्सिङ होममा रोग पहिचान भएको जनाए । उनका अनुसार १८ नर्सिङ होम अस्थायी रूपमा बन्द गरिएको छ ।


अस्ट्रेलियामा फ्लुका कारण करिब ४० हजार बिरामी भएका जनाइएको छ । क्विन्सल्यान्ड हेल्थद्वारा सार्वजनिक तथ्यांकअनुसार फ्लुकै कारण हालसम्म १० हजार बिरामीमध्ये ८ सयभन्दा बढी अस्पतालमा भर्ना भइसकेका छन् । तीमध्ये दर्जनौं बालबालिका छन् ।


क्विन्सल्यान्डका प्रमुख स्वास्थ्य अधिकृत डा. जेनेट योङले सबै नागरिकलाई यथाशक्य फ्लुको खोप लगाउन आग्रह गरेकी छन् । उनले फ्लु सामान्य रुघाखोकी नभई गम्भीर प्रकारको भएकाले यसबाट बच्न खोप लगाउनु अत्यावश्यक भएको बताइन् ।


न्यु साउथवेल्स, पश्चिम अस्ट्रेलियालगायतका राज्यमा समेत फ्लुका कारण दर्जनौं बिरामी परेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हरेक वर्ष मौसमी फ्लुका कारण अस्ट्रेलियामा दर्जनौं नागरिकले ज्यान गुमाउने गरेका छन् ।


अस्ट्रेलिया सरकारले फ्लुबाट बच्ने खोपमा समेत नागरिकलाई सहुलियत दिने गरेको छ । कतिपय रोजगारदाताले समेत आफ्ना कर्मचारीलाई निःशुल्क खोप दिलाउने गरेका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?