कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

अस्ट्रेलियामा चुनावअघि उम्मेदवारको राजीनामा

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा सातापछि हुन गइरहेको आमनिर्वाचनमा उम्मेदवार बनेका विभिन्न ७ उम्मेदवारले निर्वाचनअगावै राजीनामा दिएका छन् । सामाजिक सञ्जालमा अस्ट्रेलियाली समाजको मूल्यमान्यताविरुद्ध आफ्नो विचार राखेकै आधारमा अधिकांश उम्मेदवारले सांसद बन्न सक्ने अवसर गुमाएका हुन् । 

स्थानीय सञ्चार माध्यमहरूका अनुसार निर्वाचनमा पार्टीबाट उम्मेदवार बनेर पनि आखिरी समयमा नाम फिर्ता लिनेमा सत्तारूढ लिबरल पार्टीका ४ उम्मेदवार छन् भने विपक्षी दल लेबरका दुई उम्मेदवारले राजीनामा दिएका छन् । यसैगरी तेस्रो ठूलो दल मानिने गि्रन्सका उम्मेदवारले समेत राजीनामा दिएका छन् ।


पछिल्लो समयमा राजीनामा दिनेमा भिक्टोरियाको मेलबर्नस्थित स्कलिन निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका गुरपाल सिंह छन् । उनले आफ्नो श्रीमान्बाट शारीरिक शोषण र अत्याचार भएको गुनासो गर्ने महिलाको विपक्षमा सामाजिक सञ्जालमार्फत आफ्नो विचार व्यक्त गरेका थिए ।


अस्ट्रेलियामा यही महिनाको १८ तारिखमा आमनिर्वाचन हुन गइरहेको छ । अहिलेसम्मको विभिन्न सर्वेक्षणमा कडा प्रतिस्पर्धा हुने देखिइरहेको भए पनि विपक्षी दल लेबरले जित्न सक्ने अनुमान गरिएको छ । यही समयमा सत्तारूढ र विपक्षी दलहरूले विवादास्पद अभिव्यक्ति दिएका उम्मेदवारहरू फिर्ता लिनु परिरहेको छ ।


लिबरलका उम्मेदवार पिटर किलिनले समलिंगीहरूलाई पार्टीको नेतृत्व तह तथा निर्वाचनमा उम्मेदवार हुन रोक्नुपर्ने सामाजिक सञ्जालमा विचार व्यक्त गरेपछि उम्मेदवारीबाट हट्नुपरेको छ भने सोही पार्टीका अर्का उम्मेदवार जेरेमी हर्नले मुस्लिमविरोधी कमेन्ट गरेकै कारण उम्मेदवारी छोड्नुपरेको हो ।


समाचार माध्यहरूले उल्लेख गरेअनुसार विपक्षी दल लेबरबाट मेलबर्नमा उम्मेदवार बनेर राजीनामा दिनुपरेका लुक क्रिसीले बलात्कार, समलिंगीका बारेमा ठट्टा गरेको विचार समाजिक सञ्जालमा व्यक्त गरेका थिए भने गि्रन्सका मेलबर्नस्थित ललोर निर्वाचन क्षेत्रका उम्मेदवार जे डेस्सीले समेत सामाजिक सञ्जालमा अभद्र पोस्ट गरेका कारण उम्मेदवारी त्यागेका हुन् ।


अस्ट्रेलियाको मन्त्रीस्तरीय सुझाव समितिमा रहेर काम गरिसकेका महेन्द्र लम्साल समाजको भावनालाई कदर नगर्ने किसिमका कुरा सार्वजनिक भएपछि पार्टीलाई नै आफ्नो उम्मेदवारलाई हटाउन नैतिक दबाब पर्ने सुनाउँछन् । 'अहिलेको यहाँको निर्वाचन एकदमै कडा प्रतिस्पर्धाको छ, सञ्चार तथा नागरिक समाजहरूको दबाबलाई थेग्न नसकेर विवादास्पद अभिव्यक्ति दिने उम्मेदवारहरूलाई हटाइएको वा राजीनामा दिन लगाइएको हो ।' उनका अनुसार अहिले राजीनामा दिनुपरेका प्रायः सबै उम्मेदवारले विगतमा सामाजिक सञ्जालमा व्यक्त गरेका विचारका कारण समस्यामा परेका हुन् ।

प्रकाशित : वैशाख ३०, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?