कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भारतमा छैटौंं चरणको चुनाव : दिल्लीको रस्साकस्सी

कंग्रेस र आपबीच चुनावी तालमेल नहुँदा भाजपालाई फाइदा हुन सक्ने 
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा जारी १७ औं लोकसभा चुनावअन्तर्गत आइतबार छैटौं चरणको मतदान हुँदै छ । यो चरणबाट विभिन्न सात राज्यका ५९ लोकसभा सदस्यको भाग्यको फैसला हुनेछ । तीमध्ये दिल्लीका सातवटा लोकसभा क्षेत्रमा पनि आइतबार नै मतदान हुँदै छ ।

भारतमा छैटौंं चरणको चुनाव : दिल्लीको रस्साकस्सी

भारतको राजधानीसमेत भएकाले यहाँको सरगर्मी र नतिजामाथि सबैको चासो छ । १ करोड ४३ लाख मतदाता रहेको दिल्लीका ७ स्थानमा यसपटक १ सय ६४ जना उम्मेदवार मैदानमा छन् ।


पाँच वर्षअघिको चुनाव परिणामलाई हेर्ने हो भने दिल्लीको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) को प्रभाव क्षेत्र नै भन्दा हुन्छ । सन् २०१४ को चुनावमा भाजपाले दिल्लीका सातवटै स्थानमा विजय हासिल गरेको थियो । सन् २००९ को चुनावमा सातवटै स्थानमा जित हासिल गरेको कंग्रेस पाँच वर्षपछि सबैमा पराजय भोगेको थियो । त्यति मात्र होइन, उक्त चुनावमा कंग्रेसले ७ वटैमा तेस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो ।


तर, यस पटकको चुनावी परिदृश्य भने केही भिन्न छ । हुन त बलियो सांगठनिक प्रभावका अलावा देशकै केन्द्रीय राजधानीसमेत भएकाले सत्तारूढ भाजपा अझै बलियो स्थितिमा छ । तर, भाजपाको पक्षमा विगतको जस्तो लहर नभएका कारण कंग्रेसलगायतका विपक्षीको मनोबल केही उच्च देखिन्छ ।


त्यसमाथि पूर्व मुख्यमन्त्री शिला दीक्षितको सक्रिय राजनीतिमा पुनरागमनले विशेषगरी कंग्रेस पंक्ति बढी उत्साहित देखिन्छ । साथै आम आदमी पार्टी (आप) ले पनि आफ्नो पूरै शक्ति दिल्लीमै केन्द्रित गरेको छ । सन् २०१४ को चुनावमा पार्टीका अध्यक्ष अरविन्द केजरीवाल बाराणासीबाट उम्मेदवारी दिएका कारण पार्टीले धेरै शक्ति त्यता लगाएको थियो । साथै, पन्जाब र हरियाणामा पार्टीको पक्षमा राम्रै जनाधार बनेका कारण ती राज्यलाई प्राथमिकतामा राखेको थियो ।


तर, यसपटक पन्जाब र हरियाणाबाट खासै सकारात्मक नतिजा आउने अपेक्षा नभएकाले समेत आपको सम्पूर्ण पार्टीपंक्ति दिल्ली चुनावमा होमिएको छ । यी कारणले पनि यसपटकको दिल्लीको चुनाव बढी रोचक बन्न पुगेको हो । सात स्थानमध्ये पनि विशेषगरी दक्षिण दिल्ली, उत्तरपूर्वी क्षेत्र, चाँदनी चोक, पूर्वी क्षेत्र सिटमा भने भाजपा, कंग्रेस र आपबीच त्रिपक्षीय भिडन्त हुने देखिन्छ । उत्तरपूर्वी क्षेत्रमा भाजपाबाट भोजपुरी अभिनेता तथा गायक मनोज तिवारी मैदानमा छन् । तिवारीले पाँच वर्षअघि यही क्षेत्रबाट जितेका थिए । यसपटक उनलाई टक्कर दिँदै छन् कंग्रेसकी पूर्व मुख्यमन्त्री शिला दीक्षितले र आपबाट पार्टीका प्रवक्ता दिलीप पाण्डे ।


दिल्लीका केही स्थानमा अन्तर्राष्ट्रिय ख्याति कमाएका खेलाडीको उम्मेदारीका कारण विशेष चर्चामा छ । यिनैमा पर्छ दक्षिण दिल्ली र पूर्व दिल्ली सिट । पूर्व दिल्ली क्षेत्रबाट अन्तर्राष्ट्रिय क्रिकेटर गौतम गम्भीर भाजपाका तर्फबाट उम्मेदवार छन् । उनलाई चुनौती दिँदै छन् कंग्रेसका अरविन्दर सिंह लवली र आपकी अतिशिले ।


तीनपटकसम्म विधायक चुनिइसकेका लवली शिला दीक्षित नेतृत्वको सरकारमा मन्त्रीसमेत रहिसकेका छन् भने आपकी प्रवक्तासमेत रहेकी अतिशि दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाकी प्रमुख सल्लाहकारसमेत छिन् । दिल्लीको सार्वजनिक शिक्षामा भएको पछिल्लो सुधारका लागि अतिशिको भूमिकाको प्रशंसा हुँदै आएको छ । जसले गर्दा यो क्षेत्रमा पनि त्रिपक्षीय प्रतिस्पर्धाको अनुमान गरिएको छ ।


त्यसैगरी, दक्षिण दिल्ली सिट कंग्रेसका पूर्वअन्तर्राष्ट्रिय बक्सर भिजेन्दर सिंहका कारण विशेष चर्चामा । कंग्रेसका उम्मेदवार सिंहले सन् २००८ मा बेइजिङमा भएको ओलम्पिकमा भारतका लागि बक्सिङ खेलमा पहिलो ऐतिहासिक पदक जितेका थिए । उनले मिडल वेट प्रतिस्पर्धामा कास्य जितेका थिए ।


उनीसँग भिड्दै छन् आपका सबभन्दा कान्छा उम्मेदार राजीव चढ्ढा र भाजपाका तर्फबा रमेश विधुरी । पेसाले चार्टर्डड एकाउन्टेटसमेत रहेका चढ्ढा युवामाझ विशेष लोकपि्रय छन् भने दिल्लीका परिचित राजनीतिज्ञ विधुरी दक्षिण दिल्ली सिटका साविक विजेता हुन् । साथै चाँदनी चोक सिट पनि निकै प्रतिस्पर्धात्मक मानिएको छ ।


यहाँ भाजपातर्फबाट केन्द्रीय मन्त्री हर्षवर्द्धन, कंग्रेसका तर्फबाट पुराना नेता जयप्रकाश अग्रवाल र आपबाट सफ्टवेयर इन्जिनियर पञ्कज गुप्ता चुनावी मैदानमा छन् । विगतमा कंग्रेसको गढ मानिने यस लोकसभा क्षेत्रबाट सन् २०१४ को चुनावमा हर्षवर्द्धनले जितेका थिए । कंग्रेस र आपको आक्रामक चुनावी प्रचारका कारण यो क्षेत्रमा पनि त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ ।


केन्द्रीय राजधानीसमेत भएकाले यहाँको चुनावी परिणामको सन्देश पूरै राष्ट्रिय राजनीतिमा प्रवाह हुने हुँदा आफ्नो पक्षमा नतिजा ल्याउन पार्टीले पूरै शक्ति लगाएको देखिन्छ । चुनावी मुद्दाको सन्दर्भमा भने यसपटक भाजपाले मोदीको व्यक्तित्व र राष्ट्रिय सुरक्षालाई प्रमुखता साथ अगाडि सारेको छ भने विपक्षीले भने बेरोजगारी, नोटबन्दी, जीएसटीजस्ता विषयलाई चुनावी नारा बनाएका छन् । दिल्लीले लोकसभा चुनावमा राष्ट्रिय मुद्दा र विधानसभा चुनावमा स्थानीय मुद्दाका आधारमा अभिमत प्रकट गर्ने गरेको विगतलाई हेर्ने हो भने यसपटकको चुनावमा पनि मोदीको 'फ्याक्टर' हाबी हुने सम्भावना नकार्दैनन् राजनीतिक विश्लेषकहरू ।


त्यसो त कंग्रेस र आपबीचको सम्भावित तालमेलको चर्चाका कारण पनि दिल्लीले धेरै अघिदेखि पूरै भारतको ध्यान तानेको थियो । तर, अन्तिम समय आएर दुवै दल बेग्लाबेग्लै चुनाव लड्ने निर्णयमा पुगे । आपप्रतिको आकर्षण विगतभन्दा कमजोर हुँदै गएको र आगामी वर्ष हुने विधानसभा चुनावमा पार्टीको पुरानो जनाधार फर्काउनुपर्ने कार्यकर्ताको दबाबबीच कंग्रेस नेतृत्व चुनावी तालमेल नगर्ने निर्णयमा पुगेको बुझिन्छ ।


तर, यो निर्णयले दिल्लीको चुनाव भाजपाका लागि अनुमान गरेभन्दा सहज हुने राजनीतिक विश्लेषकको दाबी छ । 'आप र कंग्रेसबीच तालमेल नहुँदा त्यसको प्रत्यक्ष फाइदा भाजपालाई हुने र चुनाव सोचेभन्दा सहज हुने देखिन्छ,' राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकार रसिद किदवाईले भने । आप प्रमुख र दिल्लीका मुख्यमन्त्री केजरीवालको भाजपाले चुनाव जितेको खण्डमा त्यसको दोषी कंग्रेस हुने भन्ने अभिव्यक्तिले समेत किदाईको उक्त भनाइलाई पुष्टि गर्छ ।


चुनावी प्रचारका क्रममा भएका उम्मेदवारीहबीचको आरोपप्रत्यारोप र केही बिर्सनलायक घटनाले पनि दिल्लीको चुनावी गर्मी थप बढाएको थियो । मोती नगरको चुनावी र्‍यालीका क्रममा केजरीवालमाथि एक सर्वसाधारणले थप्पड नै प्रहार गरे । उक्त घटनाका पछाडि भाजपाको हात रहेको आरोप आपले लगाएको थियो । उक्त घटनापछि भाजपा र आपबीच एकअर्काविरुद्ध थप चर्को रूपमा प्रस्तुत हुन थाले ।


यसैबीच भाजपाका तर्फका पूर्वी दिल्लीका उम्मेदवार गौतम गम्भीरमाथि आपकी उम्मेदार अतिशिले आफ्नो चरित्रहत्या गर्ने गरी पर्चाबाजी गरिएको आरोप लगाएपछि दिल्लीको चुनावी प्रतिस्पर्धा तीक्ततापूर्ण बन्न पुगेका थियो । यद्यपि गम्भीरले उक्त आरोपलाई ठाडै नकार्दै यदि पुष्टि भएको खण्डमा राजनीतिबाटै संन्यास लिने घोषणासमेत गरेका छन् ।


अतिशिले उक्त घटनाका सम्बन्ध कारबाही अघि बढाएन दिल्ली आयोगमा निवेदन दिएका छिन् भने गम्भीरले पनि आपले बिनाआधार आरोप लगाएर मानहानी गरेको भन्दै सार्वजनिक रूपमै क्षमा माग्नुपर्ने भन्दै उजुरी दिएका छन् । अतिशि र गम्भीरबीचको आरोपप्रत्यारोपमा शुक्रबारको घटनाले आगोमा घ्यू थप्ने काम गर्‍यो ।


आपका नेता मनीष सिसोडियाले ट्वीट गर्दै शुक्रबारको चुनावी र्‍यालीमा गम्भीरले आफ्नो डुब्लिकेटलाई प्रचारमा प्रयोग गरेर जनतालाई ढाँटेको आरोपसमेत लगाए । उनले चुनावी र्‍यालीका क्रममा गम्भीर गाडीभित्र बसेको र उनी जस्तै अनुहार भएका भाजपा कार्यकर्ताले मतदातालाई अभिवादन गरिरहेको तस्बिर सार्वजनिक गरेका थिए ।


तर, गम्भीरले सिसोडियाको उक्त आरोपलाई मित्था भन्दै आफू गर्मीका कारण केही समय गाडीभित्र बसेको र त्यतिबेला आफ्ना कार्यकर्ताले स्थानीय मतदातालाई अभिवादन गरेको दाबी गरे । अतिशिले मतदाता सूचीमा गम्भीरको नाम दुईवटा लोकसभा क्षेत्रको रहेको हुँदा उनको उम्मेदवारी बदर हुनुपर्ने भन्दै निर्वाचन आयोगमा उजुरी दिए आयोगले खारेज गरिदिएको थियो ।

प्रकाशित : वैशाख २९, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?