कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

थाई राजाले गरे अंगरक्षकसँग विवाह

महारानीको उपाधि प्रदान
एजेन्सी

बैंकक — थाईल्यान्डका राजा महा भाजिरलंकर्णले आफ्नी अंगरक्षकसँग बिवाह गरेका छन् । उनले आफ्नो सुरक्षा दस्ताको उपप्रमुख रहेकी जनरल सुथिदासँग विवाह गरेका हुन् ।

थाई राजाले गरे अंगरक्षकसँग विवाह

विवाहप्रश्चात भाजिरलंकर्णले उनलाई महारानीको उपाधि प्रदान गरेका शाही विज्ञप्तिमा जनाइएको छ । आगामी शनिबार हुने औपचारिक राज्याभिषेक समारोह अघि राजाले अप्रत्याशित रुपमा विवाह गरेका हुन् ।


विज्ञप्तिमा जनाइएअनुसार ‘राजा भाजिरालंकर्णले जनरल सुथिदा भाजिरालंकर्ण न आयुध्यालाई महारानी सुथिदामा पदोन्नति गर्ने निर्णय गरेसँगै उनी शाही परिवारकी सदस्य भएकी तथा महारानीको उपाधी प्राप्त गरेकी’ छन् ।


भाजिरालंकर्ण सन् २०१६ मा पिताको निधनपछि थाईल्यान्डका राजा बनेका हुन् । यसअघि तीन पटक विवाह र सम्बन्धविच्छेद गरेका भाजिरालंकर्णका ७ सन्तान छन् ।


सुथिदा लामो समयदेखि राजा भाजिरालंकर्णको साथमा छिन् । उनी केही वर्षयता राजासँगै सार्वजनिक स्थलमा देखिंदै आएकी छन् । तर उनीहरुको सम्बन्ध यसअघि आधिकारिक रूपमा स्वीकार नगरिए पनि वैवाहिक समारोहमा राजपरिवारका अन्य सदस्य पनि उपस्थित थिए ।


थाई टेलिभिजनले प्रसारण गरेका दृष्यमा राजाले रानी सुथिदाको शिरमा पवित्र जल छर्किएका देखिन्छ । त्यसलगत्तै राजदम्पतिले विवाह रजिस्टरमा हस्ताक्षर गरेका थिए ।

भाजिरलंकर्णले थाई एअरवेजकी भूतपूर्व परिचारिका सुथिदालाई सन् २०१४ मा आफ्नो अंगरक्षक दस्ताको उपप्रमुख नियुक्त गरेका थिए । उनी २०१६ को अन्त्यमा जनरलमा बढुवा भएकी थिइन् ।


भाजिरलंकर्णका बुवा भूमिबोल अदुल्यादेजले ७० वर्षसम्म शासन गरेका थिए । सन् २०१६ मा निधन हुँदा उनी विश्वमै लामो समय शासन गर्ने राजा थिए ।

प्रकाशित : वैशाख १९, २०७६ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?