३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कमिलाको पनि पार्सल

एजेन्सी

छाङसा — चीनमा बेलायतबाट आएको एक मेल पार्सलमा कमिला भेटिएका छन् । चीनको केन्द्रीय भन्सार कार्यालयका अनुसार ‘पार्सल’ मा एक हजारभन्दा बढी कमिला पठाएको भेटिएको हो । 

कमिलाको पनि पार्सल

चीनको हुनान प्रान्तको छाङसाबाट कमिलासहितको उक्त पार्सल नियन्त्रणमा लिइएको छ । ती कमिला ‘हार्भेस्टर एन्ट’ लाई आवश्यक पोषणयुक्त खानासहित टेस्टट्युबमा बन्द गरिएको अवस्थामा भेटिएको भन्सार अधिकारीले जनाएका छन् । चीनमा पछिल्लो समय विदेशी जीव पाल्ने सोख बढ्दो छ । कमिलाको उक्त प्रजातिलाई आयात गरिएको हुन सक्ने अधिकारीहरूले बताएका छन् ।


‘हार्भेस्टर एन्ट्स’ मध्ये ३७ वटा १.४ सेमि लामो र काला तथा राता रानी कमिला रहेका छन् । रानी कमिलासँगै ठूलो संख्यामा ज्यामी कमिला र तिनीहरूका फुलसमेत पार्सलमा भेटिएको भन्सारले जनाएको छ । एक अधिकारीले भने, ‘सबै कमिला ‘हार्भेस्टर एन्ट’ प्रजातिका रहेका र सुन्दर भएका कारण जीव पाल्न सौखिन चिनियाँबीच लोकप्रिय छ ।’ उक्त प्रजातिका कमिलाको प्रजनन छिटो हुने भएकाले हुर्काउन सहज मान्ने गरिएको चिनियाँ जीवविज्ञहरूले बताएका छन् ।


चीनमा हुलाक वा हुलाकजन्य सेवामार्फत जीवित अवस्थामा कुनै पनि जीव ल्याउन कानुनी प्रतिबन्ध छ । चिनियाँ अधिकारीहरू भन्छन्, ‘गैरकानुनी रूपमा आयात गरिने विदेशी कमिलाको प्रजातिका कारण मुलुकको पारिस्थितिक सन्तुलन जोखिममा पर्न सक्छ ।’ चिनियाँ कानुनअनुसार ती कमिला र पार्सललाई प्रक्रिया पुर्‍याएर नष्ट गरिनेछ ।


चीनमा फस्टाउँदो ई(कमर्सका कारण सरीसृप (सर्प), सानाठूला किरा र छेपारो प्रजातिका विदेशी जीवको आयातमा वृद्धि भइरहेको छ । विदेशी जीव र संकटापन्न जीवको अवैध कारोबार गरेको आरोप चीनले पटक–पटक खेप्दै आएको छ ।

प्रकाशित : वैशाख १६, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?