१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सत्तारूढ–गठबन्धन टक्कर

बिहारमा चुनाव
सुरेशराज न्यौपाने

पटना — उत्तर प्रदेशमा जस्तै बिहारमा पनि जातीय समीकरणले नै जारी लोकसभा निर्वाचनको नतिजा तय गर्ने देखिन्छ  । बिहारका ४० सिटमध्ये अहिलेसम्म तीन चरणमा चौध लोकसभा सिटमा मतदान भइसकेको छ  ।

सत्तारूढ–गठबन्धन टक्कर

यसपटक भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वको संयुक्त लोकतान्त्रिक मोर्चा (एनडीए) र विपक्षीहरूको महागठबन्धनबीच कडा टक्कर छ । एनडीए गठबन्धनमा भाजपा, प्रदेशका मुख्यमन्त्री नीतिशकुमार नेतृत्वको जनता दल युनाइटे (जेडीयू), रामविलाश पासवान नेतृत्वको लोकजनशक्ति पार्टी (एलजीपी) छन् । विपक्षी महागठबन्धनमा लालु यादवको राष्ट्रिय जनता दल (राजद), भारतीय राष्ट्रिय कांग्रेस, पूर्व मुख्यमन्त्री जितनराम माझीको हिन्दुस्तानी अवामी मोर्चा (हम), उपेन्द्र कुशवाहा नेतृत्वको राष्ट्रिय लोकसमता पार्टी (आरएलएसपी), मुकेश सहनी नेतृत्वको विकासशील इन्सान पार्टी (भीआईपी) छन् ।

जातीय समीकरणले प्रमुख भूमिका खेल्ने भएकाले गठबन्धन निर्माणदेखि सिट बाँडफाँड र उम्मेदवार चयन पनि त्यसैअनुसार गरिएको छ । र, जातीय समीकरणलाई आफ्नो पक्षमा पार्न दुवै गठबन्धनबीच चर्को प्रतिस्पर्धा छ । बिहारको राजनीतिमा विगतदेखि नै अति पिछडा वर्ग (ईबीसी) र मुस्लिम र यादव समीकरण (एमवाई) लाई निर्णायक शक्ति मानिँदै आएको छ । एमवाई समीकरण सधैंजसो लालु यादवको राजदको पक्षमा रहँदै आएको हुँदा सत्तारूढ गढबन्धनले त्यसलाई तोड्न प्रयासरत छ ।

सिटको बाँडफाँडबाट पनि त्यो झन् प्रस्ट हुन्छ । सन् २०१४ को लोकसभा चुनामा प्रदेशको कुल ४० सिटमध्ये २२ सिट जितेको भाजपाले यसपटक १७ सिटमा चित्त बुझाएको छ । त्यतिकै सिट जेडीयूलाई दिएको छ । भाजपाले अघिल्लो पटक २ सिट मात्र जितेको जेडीयूलाई यति ठूलो भाग दिनुका पछाडि नीतिश कुमारको विकासवादी छवि र उनको पक्षमा रहेको कुर्मी, अनुसूचित जातिलाई आकर्षित गर्नु रहेको जानकारहरू बताउँछन् ।

सन् २०११ को जनगणना अनुसार बिहारको १० करोड जनसंख्यामा पिछडा वर्ग (ओबीसी) र अति पिछडा वर्ग (ईबीसी) को हिस्सा ५० प्रतिशतभन्दा बढी छ । जसमा सबैभन्दा बढी करिब १५ प्रतिशत यादव छन् । त्यसैगरी करिब कुशवाहा (कोइरी) ६.४ प्रतिशत र कुर्मी ४ प्रतिशत छन् । करिब १७ प्रतिशत मुस्लिम छन् । अनुसूचित जाति (एसी) १६ प्रतिशत छन् । करिब १७ प्रतिशत उच्च जाति छन् ।

उच्च जातिमा भूमिहार, ब्राहृमण, राजपुत र कायस्थ पर्छन् । यादव र मुस्लिममा विपक्षी महागठन्धनको बलियो पकड छ । उच्च जाति, केही अनुसूचित जातिमा एनडीएको प्रभाव छ । पिछडा वर्गमा पर्ने कुर्मी जातिमा नीतिश कुमार आफैं पनि कुर्मी भएकाले एनडीए बलियो देखिन्छ । त्यसैगरी दलितमध्ये सबैभन्दा धेरै जनसंख्या दुसाध (पासवान) को छ । उक्त जातिमा एलजेपी अध्यक्ष रामविलाश पासवानको राम्रो पकड रहेको मानिन्छ । विपक्षी महागठबन्धनतर्फ भने भने राजद १९ सिट, कांग्रेस ९ सिट भने बाँकी १२ सिटमा जितन राम माझीको हिन्दुस्तानी अवामी मोर्चा (हम), आरएलसीपी, विकासशील इन्सान पार्टी (भीआईपी), भाकपा (माले) चुनाव लडदै छन् ।

जातीय समीकरणसँगै टिकटको बाँडफाँड र वितरणले सिर्जना गरेको असन्तुष्टि र त्यसको व्यवस्थापनले पनि चुनावी परिणामलाई प्रभाव पार्ने देखिएको छ । र, यस किसिमको असन्तुष्टि दुवैतर्फ छ । भाजपाभित्र सन् २०१४ को चुनावमा दुईवटा सिट मात्र जितेको जेडीयूलाई यस पटक १७ सिट दिएकोमा चर्को असन्तुष्टि देखिएको छ । बलिउड अभिनेता शत्रुध्नसिंहादेखि पूर्व क्रिकेटर कीर्ति आजादलगायतले भाजपा छाडेका छन् । सिट भागबण्डामा कुरा नमिले पछि उपेन्द्र कुशवाहाको राष्ट्रिय लोक समता पार्टी (आरएलसीपी) विपक्षी कित्तामा सामेल हुन पुगेको हो । भाजपा प्रदेश उपाध्यक्ष देवेश कुमार भने सुरुमा टिकट घोषणा हुँदा केही असन्तुष्टि रहे पनि अहिले त्यो सामान्य भइसकेको बताए । सन् २००५ र २०१०, २०१४ को चुनावमा पनि भाजपा र जेडीयूको गठबन्धनले राम्रो गरेको हुँदा यसपटक पनि त्यस्तै नतिजा दोहोरिने उनको दाबी थियो । र, विपक्षीहरूले गठबन्धन आफैंमा कमजोर भएका कारण त्यसले केही असर नपर्ने उनको भनाइ छ ।

‘एनडीएले चार महिनाअघि नै सिटको बाँडफाँड टुंग्याएको हो, उम्मेदवारको चयन त १ महिना नै तय भइसकेको हो । जब कि विपक्षीमा अझै पनि विवाद छ,’ कुमारले भने । तर, विपक्षी महागठबन्धन सत्ता पक्षीय खेमा रहेको विवादबाट फाइदा लिन सक्ने अवस्थामा भने देखिँदैन । किनकि सिट बाँडबाँडलाई लिएर गठबन्धनभित्रै झन् चर्को विवाद छ । अन्य साना दलहरूलाई बढी सिट दिएको भन्दै राजदभित्रै चर्को असन्तुष्टि छ ।

प्रकाशित : वैशाख ११, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?