कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हास्य कलाकार बने युक्रेनका राष्ट्रपति

एएफपी

किभ, युक्रेन — युक्रेनका भोलोदिमिर जेलेन्स्की पहिले दर्शकलाई हँसाउँथे, अहिले उनको जिम्मेवारी फेरिएको छ । पछिल्लो चुनावमा उनी युक्रेनको राष्ट्रपति पदमा जित हासिल गरेका छन् । आइतबार भएको मतदानमा हास्य कलाकार भोलोदिमिर विजयी भएका हुन् । उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका छन् । 

हास्य कलाकार बने युक्रेनका राष्ट्रपति

राजनीतिमा उनको खासै अनुभव छैन । तर युक्रेनी मतदाताले ४१ वर्षीय भोलोदिमिरलाई ७३.२ प्रतिशत मत दिएका छन् । उनका निकटम प्रतिद्वन्द्वी पेट्रोले २४.४ प्रतिशत मत पाएको निर्वाचन आयोगले जनाएको छ । करिब १५ प्रतिशत मतगणना हुन बाँकी छ ।


यसअघि सम्पन्न पहिलो चरणको चुनावमा पेट्रोलाई भोलोदिमिर र पूर्वप्रधानमन्त्री युलिया टिमोसेन्कोले कडा चुनौती दिएका थिए । कलाकार भोलोदिमिरले राष्ट्रपति पेट्रोको भन्दा दोब्बर मत प्राप्त गरेका थिए । तर, निर्वाचित हुन आवश्यक ५१ प्रतिशत मत प्राप्त गरेका थिएनन् । युक्रेनी चुनाव आयोगका अनुसार पहिलो चरणमा भोलोदिमिरले ३०.२ प्रतिशत र पेट्रोले १६.७ प्रतिशत मत

प्राप्त गरेका थिए । पूर्वप्रधानमन्त्री युलियाले भने १३.०८ प्रतिशत मत प्राप्त गरेकी थिइन् ।


करिब ४ करोड २० लाख जनसंख्या रहेको युक्रेनमा यस पटकको राष्ट्रपतिको चुनावमा ३९ जनाले उम्मेदवारी दिएका थिए । पछिल्ला वर्षहरूमा भ्रष्टाचार, अर्थतन्त्रमा छाएको मन्दी तथा पूर्वी भेगमा रूसी समर्थनमा झइरहेको सशस्क्र संघर्षबाट युत्रेन आक्रान्त छ । युत्रेनको संविधानअनुसार पहिलो चरणको चुनावमा कुनै उम्मेदवारले पूर्णबहुमत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच दोस्रो चरणको चुनाव हुन्छ ।


चुनावी मतपरिणामबाट विजयी हुने सुनिश्चित भएसँगै भोलोदिमिरले आफ्ना समर्थकलाई राजधानी किभमा सम्बोधन गर्दै आफूले युक्रेनी जनताको भावनामा कहिल्यै कुठाराघात नगर्ने प्रतिबद्धता जनाए । उनको विजयप्रति युरोपेली युनियन, नेटो, फ्रान्स, अमेरिकालगायतमा मुलुकका नेताहरूले खुसी व्यक्त गर्दै युत्रेनको स्थायित्व र विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।


चुनावपछिको विश्लेषणमा युद्धरत एवं अशान्त पूर्वी क्षेत्रबाट भोलोदिमिरले भारी मत प्राप्त गरेका छन् । पेट्रोको पडक क्षेत्रमा पनि उनले राम्रै मत प्राप्त गरेका छन् । वर्तमान राष्ट्रपति पेट्रोले आफ्नो हार भएको स्विकार्दै भोलोदिमिरलाई बधाई दिएका छन् । उनले पछिल्लो नतिजाबाट रूस खुसी भएको हुन सक्ने भन्दै युक्रेनले पश्चिमा राष्ट्रसँगको सम्बन्धलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिए । विश्लेषकले नवनिर्वाचित राष्ट्रपतिले रूससँगको सम्बन्धलाई पुनः परिभाषित गर्ने अनुमान गरेका छन् । मस्कोले युक्रेनी जनताले परिवर्तन चाहेको देखिएको जनाएको छ ।


यसैबीच, रुसले युक्रेनका नव निर्वाचित राष्ट्रपति भोलोदिमिरप्रति तत्कालै प्रतिक्रिया नदिने जनाएको छ । उसले भोलोदिमिरसँग सहकार्य हुने/नहुने विषयमा प्रतिक्रिया जनाउनु हतार हुने भनेको छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले तत्कालै बधाई दिने र सहकार्य गर्नेबारे प्रतिक्रिया जनाउने अवस्थामा नरहेको बताए । क्रेमलिन प्रवक्ता दमित्री पेस्कोभले हास्य कलाकारबाट युक्रेनको राष्ट्रपतिमा निर्वाचित भोलोदिमिरको कामका आधारमा निर्णय लिन सकिने बताएका छन् ।

प्रकाशित : वैशाख १०, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?