कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

विस्फोटको निसाना चर्च र होटल

विश्वका नेताद्वारा भर्त्सना
एजेन्सी

कोलम्बो — श्रीलंकामा आइतबार भएको शृंखलाबद्ध बम विस्फोट घटनाप्रति विश्वका नेताले भर्त्सना, निन्दा र दुःख प्रकट गरेका छन् । उनीहरूले रक्तपातपूर्ण आक्रमणलाई ‘सिंगो मानवतामाथिको हमला’ भनी प्रतिक्रिया दिएका छन् ।

विस्फोटको निसाना चर्च र होटल

आक्रमणप्रति दुःख व्यक्त गर्ने अमेरिका, भारत, पाकिस्तान, बेलायत, इजरायल, युरोपेली युनियनलगायत मुलुकका नेता छन् ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत समवेदना प्रकट गर्दै वासिङटन श्रीलंकालाई सहयोग गर्न तयार रहेको जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमा लेखेका छन्, ‘श्रीलंकामा भएको विस्फोटको निन्दा गर्छु, यो क्षेत्रमा यस प्रकारको बर्बरताको कुनै स्थान छैन । भारत श्रीलंकाका नागरिकसँगै उभिएको छ ।’


भारतकै विदेशमन्त्री सुष्मा स्वराजले विस्फोटको घटनालाई नजिकबाट हेरिरहेको जनाउँदै आफ्नो ट्वीटमा लेखेकी छन्, ‘म कोलम्बोस्थित भारतीय उच्चायुक्तसँग सम्पर्कमा छु, हामी त्यहाँका हरेक अवस्थालाई नजिकबाट नियालिरहेका छौं ।’


पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैजलले आफ्नो मुलुक श्रीलंकाली नागरिकको साथमा उभिएको बताए । उनले ट्वीट गर्दै भनेका छन्, ‘पाकिस्तान, श्रीलंकाको गिर्जाघर तथा होटलमा भएको विस्फोट र आतंकवादी आक्रमणको घोर निन्दा गर्दछ ।’


यसैगरी, न्युजिल्यान्डका प्रधानमन्त्री ज्यासिन्डा अर्डनले पनि आक्रमणप्रति खेद प्रकट गरेका छन् । उनले भने, ‘न्युजिल्यान्ड सबैखाले आतंकवादी हमलाको घोर भर्त्सना गर्दछ ।’ त्यस्तै, बेलायती प्रधानमन्क्री टेरेजा मेले आत्रमणलाई ‘भयावह’ भनी प्रतिक्रिया दिएकी छन् । उनले भनेकी छन्, ‘यो घटनाबाट प्रभावित भएकाहरूप्रति मेरो गहिरो संवेदना छ ।’


इजरायलले विस्फोट घटनाबाट सरकार दुःखी भएको जनाएको छ । ‘मारिएकाको आत्माको शान्ति र घाइतेको शीघ्र स्वास्थलाभको हामी कामना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।


त्यस्तै, रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना श्रीलंकाली समकक्षीलाई प्रेषित गरेको शोक सन्देशमा भनेका छन्, ‘मस्को आतंकवादविरुद्धको युद्धमा श्रीलंकाको विश्वासिलो साझेदार बनिरहनेछ । रूसका नागरिक मृतक परिवारजनको दुःखमा साथ रहेको र घाइतेको शीघ्र स्वास्थलाभको कामना गर्छ ।’ युरोपेली संघका कार्यकारी आयोग प्रमुख ज्या–क्लाउडर जंकरले भनेका छन्, ‘यो भयावह र दुःखद् बम विस्फोटप्रति खेद प्रकट गर्दछु ।’


तीन खाडी मुलुकले पनि आक्रमणको निन्दा गरेका छन् । बहराइन, कतार र संयुक्त अरब इमिरेट्सले विदेश मन्त्रालयमार्फत विज्ञप्ति जारी गर्दै आक्रमणको भर्त्सना गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयब एर्दोगानले श्रीलंकामा भएको आक्रमणको निन्दा गर्दै यसलाई ‘सम्पूर्ण मानवतामाथिको हमला’ भनी फ्रतिक्रिया दिएका छन् । त्रिस्चियन धर्मगुरु पोपले चर्चमा इस्टर मनाइरहेका धर्मावलम्बीलाई लक्षित आक्रमणको घोर भर्त्सना गर्दै घटनामा मारिएकाप्रति प्रार्थनासभा गर्न आग्रह गरेका छन् ।


कोलम्बोका आर्कविसप म्याल्कोम रन्जिथले पीडितलाई सहयोग गर्न सर्वसाधारणलाई अपिल गरेका छन् । उनले आफ्नो अपिलमा मुलुकका सबै चिकित्सकलाई बिदामा नबस्न आग्रह गर्दै सर्वसाधारणलाई रक्तदान गर्न अनुरोधसमेत गरेका छन् । यसैगरी श्रीलंकाको मुस्लिम काउन्सिलले आक्रमणप्रति खेद जनाउँदै सर्वसाधारणमा धैर्यधारण गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेका छन् । ‘आततायी आक्रमणले निर्दोषको ज्यान लिएकामा हामी शोकमा डुबेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हिंस्रक तत्त्वहरूले मुलुकको धार्मिक र जातीय समूहमा विभाजन ल्याउनका लागि यो आक्रमण गरेको हुनुपर्छ । ’


श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन अपिल गरेका छन् । उनले साम्बोधन क्रममा कायरतापूर्वक गरिएको आक्रमणका दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रधानमन्त्री रनिल वित्रमसिङ्घेले आतंकवादी हमलाका कारण राष्ट्र शोकको घडीमा रहेको बताउँदै सबैलाई धैर्यधारण गर्न, घाइतेको उपचारमा विशेष ध्यान दिन तथा आक्रमणकारीको खोजीमा सरकारी सुरक्षाफाैज सक्रिय रहने बताएका छन् ।

प्रकाशित : वैशाख ९, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?