साउदी राजकुमारी अमेरिकाका लागि राजदूत 

एजेन्सी

रियाद — साउदी अरबकी राजकुमारी रिमा बिन्ट बन्दर अल–साउद अमेरिकाको राजदूत बन्ने भएकी छन् । उनी साउदी अरबका तर्फबाट राजदूत बन्ने पहिलो महिला समेत हुनेछिन् । रिमाको नियुक्तिसँगै अन्य साउदी महिलासमेत कूटनीतिक क्षेत्रमा देखिने अनुमान गरिएको छ । 

साउदी राजकुमारी अमेरिकाका लागि राजदूत 

रिमालाई अमेरिकाका लागि राजदूत बनाउने शाही निर्णय सार्वजनिक भएलगत्तै साउदी राजाको प्रशंसा गरिएको छ । रिमा सायदी अरब र अमेरिकाबीचको सम्बन्ध बिग्रेको समय राजदूत बन्ने भएकी हुन् । साउदी पत्रकार जमाल खसोग्गीको हत्यापछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण छ । यस्तो अवस्थामा राजदूत नियुक्त रिमालाई अमेरिका–साउदी अरब सम्बन्ध सुधार्न कठिन हुने आकलन गरिएको छ ।


अमेरिकी अखबार वासिङटन पोस्टका लागि काम गर्दै आएका खसोग्गीको टर्कीस्थित साउदी कन्सुलेट कार्यालयमा हत्या भएको थियो । खसोग्गी कुनै समय साउदी राजपरिवारका सल्लाहकार थिए । हत्या हुनुपूर्व उनले साउदी राजपरिवारको कडा आलोचना गर्दै कैयौं लेख प्रकाशित गरेका थिए ।


खसोग्गीको हत्या साउदी युवाराज मोहम्मद बिन सलमानको निर्देशनमा भएको अमेरिकी गुप्तचर संस्था र टर्कीको दाबी छ । यद्यपि, साउदी अरबले उनको हत्यामा सलमानको कुनै संलग्नता नरहेको बताउँदै आएको छ ।


अमेरिकी विधायकहरूले सरकारले खसोग्गी हत्याको पूर्ण विवरणका लागि साउदी अरबलाई दबाब दिनुपर्ने माग गर्दै आएका छन् । अमेरिकी संसदका सदस्यहरूले यमन युद्ध तथा परमाणु प्रविधि लगायतका विषयमा अमेरिका र साउदी अरब सम्बन्धबारे अनुसन्धान गरेका थिए ।


यसअघि राजकुमार खालिद बिन सलमान अमेरिकाका लागि साउदी राजदूत थिए । उनी साउदी युवराज मोहम्मद बिन सलमानका भाइ हुन् । खालिद उपरक्षामन्क्रीमा नियुत्त भएपछि रिमालाई नयाँ राजदूत बनाइएको हो ।


को हुन् रिमा ?

राजकुमारी रिमाले आफ्नो बाल्यकाल अमेरिकाको वासिङटनमा बिताएकी हुन् । यसअघि रिमाका बुबा बन्दर बिन सुल्तान अल–साउद सन् १९८३ देखि २००५ सम्म अमेरिकाका लागि राजदूत बनेका थिए । त्यसैक्रममा अमेरिकामा हुर्केकी रिमाले जर्ज वासिङटन विश्वविद्यालयबाट संग्रहालय विषयमा स्नातक गरेकी छन् ।


अध्ययनपछि साउदी अरब फर्केकी रिमासँग निजी तथा सरकारी क्षेत्रमा काम गरेको अनुभव छ । उनले विभिन्न व्यावसायिक कम्पनीको नेतृत्व तहमा रहेर समेत कार्य गरिसकेकी छन् । उनी अल हामा र हार्भी निकोल्स रियाद नामक कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेत भएकी थिइन् । रिमा महिला उद्यमीका लागि वित्तीय पहल सम्बन्धी विश्व बैंकको सल्लाहकार परिषदकी सदस्य समेत हुन् ।


साउदीमा महिला अधिकारको पक्षधरका रूपमा परिचित रिमा सन् २०१४ मा फोर्ब्सले सार्वजनिक गरेको अरबका शक्तिशाली २ सय महिला सूचीमा परेकी थिइन् । यसअघि साउदी खेलकुद निकाय रहेकी रिमा खेलकुदमा महिला सहभागिता बढाउनका लागि क्रियाशील थिइन् । उनी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको महिला आयोग तथा साउदी ओलम्पिक कमिटीकी सदस्य समेत हुन् ।


सन् २०१७ मा साउदी अरबको उत्तराधिकारी घोषित भएदेखि मोहम्मद बिन सलमान महिलाप्रति उदार देखिएका छन् । रिमालाई सलमानको पहलमा नियुक्त गरिएको बताइएको छ । सलमानले यसअघि साउदी महिला रंगशालामा फुटबल हेर्ने तथा सवारी चलाउने स्वतन्त्रता प्रदान गरिसकेका छन् ।

प्रकाशित : फाल्गुन १३, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?