२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

अफगान युद्ध रोक्न अमेरिका सक्रिय

कार्यवाहक रक्षामन्त्री काबुलमा
एएफपी

काबुल — अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका कार्यवाहक प्रमुख प्याट्रिक सनाहन अप्रत्याशित भ्रमणका क्रममा सोमबार अफगानिस्तान आइपुगेका छन् ।

अफगान युद्ध रोक्न अमेरिका सक्रिय

अमेरिकाले अफगान सरकार र युद्धरत तालिबान लडाकुसँग शान्ति वार्ताको जारी राखेको अवस्थामा सनाहनको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।


सनाहनले आफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग भेटवार्ता गर्ने जनाइएको छ । गत महिनाको अन्त्यमा कतारको राजधानी दोहामा अमेरिका र तालिबान लडाकुबीच भएको वार्ता हतारमा गरिएको भन्दै राष्ट्रपति घानीले चेतावनी दिएका थिए ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा रहेको अमेरिकी सेनाको संलग्नता अन्त्य गर्ने बताइरहेका छन् । त्यसका लागि अमेरिका तालिबान विद्रोही र अफगान सरकारबीच दिगो शान्ति सम्झौताको पक्षमा रहेको अमेरिकी

अधिकारीहरू बताउँछन् ।


अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सेना छन् । सनाहनले अफगानिस्तानबाट तत्काल सेना फिर्ता गर्नेबारे आफूलाई कुनै निर्देशन प्राप्त नभएको बताए । ‘मलाई सेना फिर्ता गर्नेबारे कुनै निर्देशन प्राप्त भएको छैन,’ उनले पत्रकारहरूसँग भने, ‘हाम्रो देशको प्रतिरक्षा र क्षेत्रीय सुरक्षाका लागि अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिति आवश्यक छ ।’


काबुल पुगेलगत्तै सनाहनले अफगानिस्तानस्थित अमेरिकी तथा नेटो सेनाका कमान्डर स्कट मिलरसँग भेटवार्ता गरेका थिए । त्यसपछि उनले अमेरिकी सेनाका क्याम्पको भ्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।


अमेरिकाले अफगानिस्तानमा १७ वर्षदेखि जारी सरकार र तालिबान लडाकुबीच जारी द्वन्द्व समाधानका लागि मध्यस्थता गरिरहेको बताउने गर्छ ।


तालिबान लडाकु समूहले ‘अफगान सरकार अमेरिकी कठपुतली’ बताउँदै उसको मालिक अर्थात् अमेरिकासँग मात्रै वार्ता गर्ने बताउने गर्छ । तर अफगान राष्ट्रपति घानीका समर्थकहरू तथा मित्रराष्ट्रहरूले तालिबानसँगको शान्ति प्रक्रियामा अफगान सरकारको मुख्य भूमिका हुनुपर्ने बताउँदै आएका छन् ।


तालिबानसँगको वार्ताका लागि अमेरिकी विशेष दूत जाल्मी खलिलजादले आगामी जुलाईमा हुने अफगानिस्तानको राष्ट्रपतीय निर्वाचनअघि नै शान्ति सम्झौता हुने आपेक्षा गरेका छन् । तालिबान लडाकु समूहले अफगान राजनीतिज्ञको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग गत साता मस्कोमा भेटवार्ता गरेको थियो ।

प्रकाशित : माघ २९, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?