१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ब्रेक्जिट प्रभाव : युरोप सर्दै बेलायती बैंक

नविन पाेखरेल

काठमाडौँ — बेलायतको युरोपेली संघबाट बहिर्गमन (ब्रेक्जिट) सम्झौताको अनिश्चितता बढदै गएपछि बैंक र अरू वित्तीय कम्पनीहरूले युरोपेली बजार ताकेका छन् । बेलायतस्थित एक परामर्शदाता कम्पनीका अनुसार कम्तीमा ८ सय अर्ब पाउन्ड बराबरको सम्पत्ति युरोपेली देशमा सारिसकिएको छ ।

ब्रेक्जिट प्रभाव : युरोप सर्दै बेलायती बैंक

लन्डनस्थित प्रतिष्ठित बहुराष्ट्रिय परामर्शदाता कम्पनी अर्नेस्ट एन्ड योङका अनुसार ब्रेक्जिटको त्रासले धेरै बैंकले युरोपेली देशभित्र कार्यालय स्थापना गरी ईयूको नीति नियम अवलम्बन गर्न जुटिरहेका छन् । अन्य कम्पनीहरूले समेत बजार अस्थिरता तथा नियम कानुनमा हुन सक्ने आकस्मिक परिवर्तनको त्रासले आफ्ना ग्राहकको सम्पत्ति सारिरहेको उक्त कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार धेरै बैंकले सम्पत्ति सार्न आकस्मिक योजना बनाइरहेका छन् । बेलायतको बैंकिङ क्षेत्रको करिब १० प्रतिशत सम्पत्ति ईयूमा सर्न सक्ने कम्पनीले जनाएको छ । अर्नेस्ट एन्ड योङले सन् २०१६ को ईयू जनमत संग्रहपछि बेलायतको सबभन्दा ठूला २ सय २२ वटा वित्तीय संस्थाको अध्ययन गरेको थियो । अध्ययनमा ब्रेक्जिटका कारण २ हजारभन्दा बढी रोजगारी ईयूभित्र वित्तीय क्षेत्रमा सृजना भएको उल्लेख छ । बेलायत ईयूबाट बिनासहमति बहिर्गमन भए निकै नोक्सान पुग्ने भविष्यवाणी पनि गरिएको छ ।

बेलायत ईयूबाट बाहिरिन २ महिनाभन्दा पनि कम समय बाँकी छ । यस अवधिमा बेलायती संसद्ले ईयूसँग पारपाचुके तथा भविष्यको सम्बन्धबारे कस्तो नीति तय गर्ने भन्नेमा चर्को विमति छ । बेलायती संसद्ले बहुमतले ईयू सम्झौता पारित गर्न नसके मार्च २९ पछि स्वत: बिनासम्झौता (नो डिल) हुन पुग्नेछ जुन बेलायतको अर्थतन्त्रलाई घातक हुने केन्द्रीय बैंक ‘बैंक अफ इंग्ल्यान्ड’ले बताएको छ । सन् २००८ को वित्तीय मन्दीभन्दा पनि खराब हुने प्रक्षेपण बैंक अफ इंग्ल्यान्डको छ ।

डोइचा बैंक, गोल्डम्यान स्याक्स, सिटी जस्ता ठूला बैंकले आफ्ना केही व्यवसाय युरोपियन देशहरूमा सारिसकेका छन् । डब्लिन, लक्जेम्बर्ग, फ्रान्कफर्ट, पेरिस स्थानान्तरणका लागि लोकप्रिय रोजाइ हुन् । युरोपको प्रमुख वित्तीय सहरको रूपमा लन्डन रहँदै आएको छ ।

लन्डनमा अन्तर्राष्ट्रिय बैंकका धेरै प्रधान कार्यालय छन् । ती वित्तीय संस्थाले बेलायत सरकारलाई वार्षिक ७२ अर्ब पाउन्डभन्दा बढी कर तिर्छन् ।

बेलायतको वित्तीय सेवाले २२ लाख मानिसलाई रोजगारी र कुल गार्हस्थ उत्पादनको १२ दशमलव ५ प्रतिशत योगदान दिने उल्लेख गर्दै अर्थ व्यवस्थापन विज्ञ विकलचन्द्र आचार्य ‘नो डिल’ ब्रेक्जिट भए लन्डनको वित्तीय साख कमजोर बन्ने विश्लेषण गर्छन् । ब्रेक्जिट कारणले बेलायती अर्थतन्त्रले नोक्सान बेहोरिसकेको छ । यसले मुद्रास्फिति बढ्नुका साथै ग्राहकको आत्मविश्वासमा गिरावट आई बेलायतको खुद्रा व्यापारमा असर परिरहेको पनि आचार्यले जनाए ।

ब्रेक्जिट अनिश्चितताका कारण धेरै कम्पनीले व्यावसायिक लगानी निकै कम गर्नुका साथै आफ्ना योजना पनि थाती राखेका छन् । ठूला कम्पनीहरू जस्तै एयरबसले ‘नो डिल’ ब्रेक्जिट सम्झौता भए बेलायत छोड्ने चेतावनी दिइसकेको छ । जर्मनीको इन्जिनियरिङ ग्रुप स्चाइफिएरले आफ्ना दुई कारखाना बन्द गर्ने घोषणा गरिसकेको छ । बेलायतको मोटर म्यानुफ्याक्चरिङ तथा ट्रेडिङ संघले सन् २०१८ मा नयाँ गाडीको दर्ता ६ दशमलव ८ प्रतिशतले घटेको जनाएको छ ।

प्रकाशित : माघ २७, २०७५ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?