२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

राजकुमारीको उम्मेदवारीप्रति थाइल्यान्डका राजाको असन्तुष्टि

सिन्ह्वा

बैङ्कक — थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टामै असन्तुष्टि जनाएका छन् । 

राजकुमारीको उम्मेदवारीप्रति थाइल्यान्डका राजाको असन्तुष्टि

‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट उनकी ६७ वर्षीया दिदी तथा थाई राजकुमारी उबोलरतना महिडोलले उम्मेदवारी दिने घोषणा शुक्रबार गरेकि थिईन् । राजकुमारी अहिले पनि राजपरिवारको सदस्य भएकाले दलिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाई छ ।


तत्कालिन राजा भूमिबोल अदुल्यादेज र रानी सिरिकितको जेठी सन्तान उबोलरतनालाई सन् १९७२ मा राजपदवी दिइएको थियो । उबोलरतनाले सन् १९७२ मा अमेरिकी नागरिक पिटर जेन्सेनसँग विवाह गरेपछि राजपदवी त्यागेकी थिइन् । तर जेन्सेनसँग उनको सम्बन्ध विच्छेद भएपछि थाइल्यान्ड फर्किएकी थिइन् । त्यसपछि पनि उनलाई राजपरिवारकै सम्मानित सदस्यको सम्मान दिइएको छ ।


फेरी पनि राजपरिवारकै सदस्य भएको व्यक्ति दलिय राजनीतिमा संलग्न हुनु थाई संस्कृति र मान्यताअनुसार उपयुक्त नहुने राजाले शुक्रबार बेलुका बताए । शाही दरबारद्धारा जारी वक्तव्यमा राजपरिवारका सदस्यहरु राजनीतिमा सक्रिय हुनु संविधान, परम्परा, संस्कृति र संवैधानिक राजतन्त्रको मान्यता विपरित हुने उल्लेख गरिएको छ ।


आउदो मार्च २४ का दिन हुने आम निर्वाचनमा प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने प्रस्तावलाई राजकुमारी उबोलरतनाले शुक्रबार स्विकार गरेकी थिइन् । थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो पहिलो घटना हो ।


थाइल्यान्डमा सन् १९३२ मा संवैधानिक राजतन्त्रको व्यवस्था भएयता प्रधानमन्त्रीका रुपमा कुनैपनि राजसंस्थाका व्यक्ति प्रधानमन्त्रीमा नियुक्त भएका छैनन् ।


थाई राजतन्त्रलाई परम्परागतरुपमा राजनीतिक प्रतिस्पर्धाभन्दा माथि पवित्र संस्थाका रुपमा हेर्ने गरिन्छ । थाइल्यान्डको कडा कानुनी व्यवस्थाका कारण राजतन्त्रविरुद्ध आलोचना गर्न पनि पाइन्न । राजतन्त्रले मुलुकमा राजनीतिक सङ्कट उत्पन्न भएका बखत हस्तक्षेप गर्ने गरेको छ ।


पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको राजनीतिक प्रभावका कारण राजकुमारीले उम्मेदवारी दिएको बताइन्छ । थाइल्याण्डमा थाक्सिन समर्थक “राता” टिसर्टधारी र राजावादी “पहेंला” टिसर्टधारीबीच परम्परागत दुश्मनी रहँदै आएकामा राजकुमारीको उम्मेदवारीले दुबैलाई एक ठाउँमा ल्याउने अपेक्षा गरिएको छ । यी दुई समूहबीचको डरलाग्दो हिंसाले गत दशकमा थाइल्यान्डको राजनीतिलाई अस्थिर बनाएको थियो ।

प्रकाशित : माघ २६, २०७५ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?