कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सेना छाड्ने बेलायती बढे

नवीन पोखरेल

लन्डन — बेलायती सेनामा भर्ती हुने ब्रिटिस नागरिकहरूको संख्या घटेको छ । बेलायती सेनाका अनुसार गत वर्ष ८ हजार भन्दा बढी सैनिकले जागिर छाडेको तथ्यांक सार्वजनिक भएपछि प्रधानमन्त्रीले संसदको प्रतिरक्षा समितिका सदस्य मार्क फ्रांस्वालाई यसबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन समेत दिएकी छन् । गत वर्ष बेलायतले १३ हजार सैनिक भर्ती गरेको थियो । 

सेना छाड्ने बेलायती बढे

मार्कले आम्र्ड फोर्सेसमा धेरै मानिस सहभागी गराउन आवश्यक भएको जनाउँदै प्रधानमन्त्री मेले यसको सुधारका उपायका लागि अध्ययन गर्न निर्देशन दिएकी हुन् । सेनाले भर्तीमा सघाउन निजी क्षेत्रको एक कम्पनीलाई ठेक्का दिए पनि भर्ती हुनेको भने संख्या बढ्न नसकेको समाचारमा जनाइएको छ । बेलायतभित्रै सेनाको जागिरको आकर्षण घटदै गए पनि नेपाली युवाको आकर्षण बढदै गएको छ ।

यस वर्ष नेपालबाट भर्ती भई बेलायत आउने युवाको संख्या समेत वृद्धि हुने जनाइएको छ । सन् २०१९ का लागि बेलायती सेनाको गोर्खा ब्रिगेडका लागि नेपालमा भर्ती भने सकिएको छ । ‘दि फोर्सेस टिभी’ ले जनाएअनुसार झन्डै १० हजार नेपाली युवाले गोर्खा भर्तीका लागि विभिन्न चरणको छनोटमा भाग लिएका थिए । पोखरामा गरिएको अन्तिम छनोटमा ४ सय जना छनोट भएका छन् । जुन ३४ वर्ष यताकै सबभन्दा बढी हो ।

छनोटमा २५ किलो बालुवा भरिएको डोको नाम्लोले बोकेर पहाडमा ५ किलोमिटर पार गर्ने कठिन चरण थियो । २५ किलो बालुवा डोकोमा राखेर पहाड पहाड दौड्ने परीक्षा भर्ती छनोटमा सबैभन्दा कठिन र डरलाग्दो ठानिन्छ । डोको दौड सन् १९८९ देखि मात्र ल्याइएको हो ।

हाल झन्डै ३ हजार नेपाली बेलायती सेनामा छन् । बेलायती सेनामा गोर्खाका परिचित नेपाली सन् १८१५ देखि प्रवेश गरेका हुन् । पहिलो र दोस्रो विश्वयुद्धसहित अन्य कैयौं महत्त्वपूर्ण लडाइँमा ४३ हजार भन्दा बढी गोर्खाले ज्यान गुमाएका र हजारौं घाइते भएको इतिहास छ । यसबीचमा १३ जना गोर्खालाई सम्मानसहित साहसिक पदक भिक्टोरिया क्रस (भिसी) प्रदान गरिसकिएको छ ।

सेवारत गोर्खाहरूले बेलायती सैनिकसरह तलब र सेवा सुविधा पाए पनि निवृत्त भइसकेपछिको सेवा सुविधाबारे बेलायतले आफूहरूमाथि भेदभाव गरेको भन्दै आन्दोलनरत छन् । समान पेन्सन अलावा क्षतिपूर्ति र अन्य सेवा सुविधा हुनुपर्ने भूतपूर्व गोर्खाहरूको माग छ ।

प्रकाशित : माघ २६, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?