भारतीय राजनीतिज्ञ फर्नान्डिज रहेनन्

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतका पूर्व रक्षामन्त्री तथा वरिष्ठ राजनीतिज्ञ जर्ज फर्नान्डिजको ८८ वर्षको उमेरमा मंगलबार निधन भएको छ । केही वर्ष यता अल्जाइमर रोगबाट ग्रसित भएपछि उनी सार्वजनिक जीवनबाट टाढा रहेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय उनमा स्वाइन फ्लुको समेत संक्रमण देखिएको थियो । 

९ पटक लोकसभा र एकपटक राज्यसभामा सांसद बनेका फर्नान्डिज विद्रोही समाजवादी राजनीतिज्ञका रूपमा चिनिन्छन् । घुम्रुम्म परेको कपाल, कालो फ्रेमवाला चस्मा र खादी कुर्ता उनको पहिचान थियो । दक्षिण भारतको मैंग्लोरको क्रिस्चिय परिवारमा जन्मिएका फर्नान्डिजलाई सन् १९६७ को लोकसभाले राष्ट्रिय पहिचान दिलाएको थियो ।


लोकसभा चुनावमा पहिलोपटक प्रतिस्पर्धा गरेका फर्नान्डिजले वरिष्ठ कंग्रेस नेता एसके पाटिललाई हराएपछि ‘जायन्ट किलर’ को उपनामा दिइएको थियो । ८ मे, १९७४ मा उनको नेतृत्वमा भएको रेल्वे मजदुरको देशव्यापी हडतालपछि भने राजनीतिक छविले थप उचाइ लियो ।


सन् १९७५ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको संकटलकालको विरोधमा सशक्त रूपमा उभिएपछि उनी थप चर्चित बने । रेल्वे आन्दोलनका क्रममा पक्राउ परेका उनी संकटकाल लाग्नुअघि मुक्त भएका थिए । तर देशमा संकटकालको घोषणा हुनुअघि नै उनी भूमिगत भएका थिए । भूमिगत भएसँगै उनी पार्टीको संगठन विस्तारमा सक्रिय रहे । तर, १० जुन १९७६ मा उनी कोलकाताबाट पक्राउ गरे ।


तत्कालीन इन्दिरा गान्धी सरकारले फर्नान्डिज र उनका सहयोगीहरूमाथि रेल्वे लाइन र सरकारी भवनमा विस्फोट गराउन योजना बनाएको आरोप लगाएको थियो । त्यसका साथै उनीहरूमाथि तत्कालीन सरकारलाई ढाल्न खोजेको भन्दै राजद्रोहको आरोपसमेत लगाइएको थियो । मुद्दाको सुनुवाइका क्रममा अदालत पुर्‍याइएका बेला खिचिएको उनको हतकडी लगाएको तस्बिर भारतीय राजनीतिक इतिहासमा ‘आइकनिक’ मानिन्छ ।


उनी जेलमै रहेका बेला तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल अन्त्य गर्दै आमचुनावको घोषणा गरिन् । उनले जेलमै रहेर चुनावमा बिहारको मुजफ्फरपुर निर्वाचन क्षेत्रबाट उम्मेदारी दिए र भारी मतान्तरले विजयी भए ।


समता पार्टीको नेतृत्व गरेका फर्नान्डिज सन् १९७७ मा बनेको मोरराजी देसाई नेतृत्वको जनता पार्टीको सरकारमा केन्द्रीय उद्योगमन्त्री बने । वैदेशिक लगानीसम्बन्धी कानुन उल्लघंन गरेको भन्दै उनले अमेरिकी बहुराष्ट्रिय कम्पनीहरू कोकाकाला र आईबीएमलाई भारत छाड्न आदेश दिएका थिए । त्यसपछि उनले पटकपटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाले ।


आन्तरिक कलहका कारण देखाई नेतृत्वको सरकार २ वर्षमै ढल्यो । पछि सन् १९८८ मा उनी जनता पार्टी टुक्रिएर बनेको जनता दलसँग आबद्ध भए र बीपी सिंह नेतृत्वको सरकारमा रेलवे मन्त्री बने । पछि उनकै पहलमा जनता दल र समता पार्टीबीच एकीकरण भयो ।


सन् २००९ मा नीतिश कुमारसँगको सम्बन्ध बिग्रेपछि भने उनको राजनीति अवसान सुरु भएको थियो । त्यसपछि भएको लोकसभा चुनावमा उनले जमानतसमेत जोगाउन सकेनन् ।


सन् १९९८ देखि २००४ सम्म अटल विहारी बाजपेयी नेतृत्वको सरकारमा फर्नान्डिज रक्षामन्त्री रहेका समय भारतले पाकिस्तानसँग कारगिल युद्ध लड्यो । उनी रक्षामन्त्री रहेकै बेला भारतले राजस्थानको पोख्रनमा ५ आवणिक परीक्षण गरेको थियो । भारत आवणिक शक्ति राष्ट्र बन्न उक्त परीक्षण कोसेढुंगाा मानिन्छ । अन्यायविरुद्ध जस्तोसुकै परिस्थिति पनि लड्ने जुझारु नेताका रूपमा सम्झन्छन् वरिष्ठ राजनीतिज्ञ शरद यादव । ‘भारतको लोकतान्त्रिक आन्दोलनकका दस्तावेज थिए उनी,’ यादवले कान्तिपुरसँग भने । ‘मजदुर, किसान, गरीबमाथि हुने अत्याचार र अन्यायविरुद्ध सधैं लडिरहे । उनी एक्लैले गरेको आह्वानको भरमा पूरै बम्बई बन्द हुन्थ्यो, राजनीतिज्ञप्रतिको त्यस किसिमको विश्वास आज कल्पना पनि गर्न सकिन्न,’ यादवले भने ।


यद्यपि, उनको राजनीतिक जीवन विवादमुक्त भने रहेन । उनीमाथि बाजपेयी सरकारमा रक्षामन्त्री रहेका बेला कारगिल युद्धमा मारिएका भारतीय सैनिकका लागि खरिद गरिएको कफिनमा भ्रष्टाचार गरेको आरोप छ । अमेरिकाबाट १३ गुना बढी मूल्यमा ५ कमसल कफिन किनेको आरोप लागेको थियो ।


त्यसैगरी सन् २००६ मा उनी, सहयोगी जया जेट्ली र पूर्व जलसेना प्रमुख सुशील कुमारमाथि इजरायलबाट हतियार खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो । तर सबै आरोपबाट पछि उनले सफाइ पाए ।


आधा दर्जन भाषामा दख्खल फर्नान्डिज वाक् कुशलता भएका नेता मानिन्छन् । गरिब किसान र मजदुरलाई ऋण दिन उनले मुम्बईमा छुट्टै बैंकसमेत खोलेका थिए । उनी राजनीतिमा मात्र सीमित थिएनन् । पत्रकारिता र लेखनमा पनि उनको विशेष चासो थियो । प्रतिपक्ष र अदरसाइड म्यागेजिन उनको नेतृत्वमा प्रकाशित भएको थियो ।


फर्नान्डिजको नेपालका राजनीतिज्ञसँग पनि विशेष सम्बन्ध थियो । तानाशाही शासनविरुद्ध उभिनुपर्छ भन्ने अडानका कारण भारत निर्वासनमा रहेका बीपी कोइराला लगायतका नेपाली कांग्रेसका नेतासँग उनी निकट थिए ।


विशेषगरी समाजवादी नेता राममनोहर लोहियासँगको सम्बन्धले पनि फर्नान्डिज र बीपीलाई नजिक बनाएको थियो । दुवै जना लोहियाका प्रिय मानिन्थे । तर गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकार रहेका बेला काठमाडौं पुगेका फर्नान्डिज सुटुक्क तिब्बतको खासा पुगेर फर्केपछिको अभिव्यक्तिका कारण भने उनको कंग्रेससँगको सम्बन्ध चिसिएको थियो ।

प्रकाशित : माघ १६, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्

भेनेजुएला संकट : अमेरिकाले तेल नकिन्ने 

एजेन्सी

वासिङ्टन — भेनेजुएलाका विपक्षी नेतालाई अन्तरिम राष्ट्रपतिमा समर्थन जनाएको अमेरिकाले सरकारी कम्पनीको तेल नकिन्ने घोषणा गरेको छ । अमेरिकाले सरकारी तेल कम्पनी पीडीभीएसएमाथि प्रतिबन्ध लगाउँदै सेनालाई विपक्षी नेता खुवान गुआइडोलाई शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्नसमेत आग्रह गरेको छ । 

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले ‘राष्ट्रपति निकोलस मडुरो र उनका सहयोगीले अब भेनेजुएलाका जनताको सम्पत्ति लुट्न नसक्ने’ बताए । भेनेजुएलामा राष्ट्रपति मडुरोविरोधी विपक्षीको आन्दोलन चर्कर्दै गएको छ । अमेरिका तथा अन्य २० भन्दा बढी देशले विपक्षी नेता खुआन गुआइडोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएका छन् । अमेरिकी अर्थमन्त्री स्टेभेन मुनचिनले अबदेखि भेनेजुएलाको तेल बिक्री गरेको पैसा मडुरोको सरकारले दुरुपयोग गर्न नपाउने बताएका छन् । उनले गुआइडोलाई अन्तरिम राष्ट्रपति स्वीकार गरे तेल कम्पनी प्रतिबन्धबाट बच्ने बताए ।

उनका अनुसार अमेरिकास्थित पीडीभीएसएको सहायक कम्पनी सिट्गोले अमेरिकामा सुरक्षित खातामा पैसा जम्मा गरेको खण्डमा मात्र आफ्नो कामलाई निरन्तरता दिन सक्नेछ । भेनेजुएलाले देशमा उत्पादितमध्ये ४१ प्रतिशत तेल अमेरिकालाई निर्यात गर्दै आएको छ । त्यसका साथै भेनेजुएलाले अमेरिकालाई कच्चा तेल आपूर्ति गर्ने देशमध्ये ठूला ४ मा पर्छ ।

मडुरोले पीडीभीएसएलाई आफ्नो सहायक कम्पनी सिट्गोको अधिकारका लागि ‘अमेरिका र अन्तर्राष्ट्रिय अदालतमा राजनीतिक तथा कानुनी’ चुनौती दिन भनेका छन् । विपक्षी नेता गुआइडो भेनेजुएलाको संसद्लाई सरकारी तेल कम्पनी पीडीभीएसए र सहायक कम्पनी सिट्गोमा नयाँ प्रमुख नियुक्त गर्न माग गरेका छन् । गुआइडो देशको तेल सम्पत्तिबाट हुने कमाइ आफ्नो नियन्त्रणमा लिन चाहन्छन् । एक साताअघि ३३ वर्षीय विपक्षी नेता गुआइडोले एक विशाल र्‍यालीबीच आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।

प्रकाशित : माघ १६, २०७५ ०८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×