२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

भेनेजुएला संकट : अमेरिकाले तेल नकिन्ने 

एजेन्सी

वासिङ्टन — भेनेजुएलाका विपक्षी नेतालाई अन्तरिम राष्ट्रपतिमा समर्थन जनाएको अमेरिकाले सरकारी कम्पनीको तेल नकिन्ने घोषणा गरेको छ । अमेरिकाले सरकारी तेल कम्पनी पीडीभीएसएमाथि प्रतिबन्ध लगाउँदै सेनालाई विपक्षी नेता खुवान गुआइडोलाई शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्नसमेत आग्रह गरेको छ । 

भेनेजुएला संकट : अमेरिकाले तेल नकिन्ने 

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले ‘राष्ट्रपति निकोलस मडुरो र उनका सहयोगीले अब भेनेजुएलाका जनताको सम्पत्ति लुट्न नसक्ने’ बताए । भेनेजुएलामा राष्ट्रपति मडुरोविरोधी विपक्षीको आन्दोलन चर्कर्दै गएको छ । अमेरिका तथा अन्य २० भन्दा बढी देशले विपक्षी नेता खुआन गुआइडोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएका छन् । अमेरिकी अर्थमन्त्री स्टेभेन मुनचिनले अबदेखि भेनेजुएलाको तेल बिक्री गरेको पैसा मडुरोको सरकारले दुरुपयोग गर्न नपाउने बताएका छन् । उनले गुआइडोलाई अन्तरिम राष्ट्रपति स्वीकार गरे तेल कम्पनी प्रतिबन्धबाट बच्ने बताए ।


उनका अनुसार अमेरिकास्थित पीडीभीएसएको सहायक कम्पनी सिट्गोले अमेरिकामा सुरक्षित खातामा पैसा जम्मा गरेको खण्डमा मात्र आफ्नो कामलाई निरन्तरता दिन सक्नेछ । भेनेजुएलाले देशमा उत्पादितमध्ये ४१ प्रतिशत तेल अमेरिकालाई निर्यात गर्दै आएको छ । त्यसका साथै भेनेजुएलाले अमेरिकालाई कच्चा तेल आपूर्ति गर्ने देशमध्ये ठूला ४ मा पर्छ ।


मडुरोले पीडीभीएसएलाई आफ्नो सहायक कम्पनी सिट्गोको अधिकारका लागि ‘अमेरिका र अन्तर्राष्ट्रिय अदालतमा राजनीतिक तथा कानुनी’ चुनौती दिन भनेका छन् । विपक्षी नेता गुआइडो भेनेजुएलाको संसद्लाई सरकारी तेल कम्पनी पीडीभीएसए र सहायक कम्पनी सिट्गोमा नयाँ प्रमुख नियुक्त गर्न माग गरेका छन् । गुआइडो देशको तेल सम्पत्तिबाट हुने कमाइ आफ्नो नियन्त्रणमा लिन चाहन्छन् । एक साताअघि ३३ वर्षीय विपक्षी नेता गुआइडोले एक विशाल र्‍यालीबीच आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।


प्रकाशित : माघ १६, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?