२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

थाइल्यान्ड सडक : जोखिमपूर्ण मोटरसाइकल यात्रा

गत डिसेम्बर २७ देखि जनवरी २ सम्म भएका ३ हजार ७ सय ९१ सवारी दुर्घटनामा ४ सय ६३ को मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७३ प्रतिशत मोटरसाइकल चालक छन् ।
सीएनएन

बैंकक — जीवनको उत्तम समयमा थाइल्यान्डमा सवारी चलाउनु निकै उत्साहित क्षण हुन सक्ला तर नयाँ वर्षको छुट्टीका तथाकथित ‘खतरनाक सात दिन’ को समयमा मोटरसाइकल चालकहरूले आफ्नो जीवन हत्केलामा राखे । 

थाइल्यान्ड सडक : जोखिमपूर्ण मोटरसाइकल यात्रा

अधिकारीहरूले एक साताको चाडपर्वको अवधिमा मित्र तथा परिवारजनको भेटघाटका लागि निस्केका यात्रु दुर्घटनामा पर्ने, मृत्यु हुने, तथा गम्भीर चोटपटक लाग्नेको संख्यामा निकै वृद्धि भएको जनाएका छन् । दुर्घटनाका कारणहरूमा मदिरा सेवन गरी सवारी चलाउनु, भ्रष्ट प्रहरी र ट्राफिक कानुनहरूको कार्यान्वनमा भएको कमजोरीलाई मुख्य मानिएको छ ।


गत डिसेम्बर २७ देखि जनवरी २ अर्थात् ७ दिनको अवधिमा ३ हजार ७ सय ९१ सवारी दुर्घटना भए । जसमा ४ सय ६३ जनाका ज्यान गएको थियो । जुन गत वर्षको तुलनामा बढेको देशको विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ । गतवर्ष नयाँ वर्षको बिदाका समयमा भएका सडक दुर्घटनामा ४ सय २३ जनाको मृत्यु भएको थियो ।


विश्व स्वास्थ्य संगठनका अनुसार थाइल्यान्डमा ट्राफिकसम्बन्धी दुर्घटनामा परी बर्सेनि २२ हजार ९ सय ४१ जनाको ज्यान जाने गरेको छ । जुन दक्षिण–पूर्वी एसियाकै सबैभन्दा खतरनाक हो ।


विश्व स्वास्थ्य संगठनको विश्वव्यापी सडक सुरक्षासम्बन्धी प्रतिवेदन २०१८ का अनुसार थाइल्यान्डमा हरेक दिन ६२ जनाको सडक दुर्घटनामा मृत्यु हुन्छ । उक्त तथ्यांक नयाँ वर्षको सातामा भएको मृत्युभन्दा केही कम हो । नयाँ वर्षको बिदाको अवधिमा भने दैनिक औसत ६६ जनाको मृत्यु भएको थियो ।


सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७३ प्रतिशत मोटरसाइकल चालकहरू छन् । थाइल्यान्डमा पछिल्ला वर्षहरूमा मोटरसाइकल यातायातको सजिलो साधनका रूपमा लोकप्रिय छ ।


सुरक्षित सडक यात्राको सबैभन्दा ठूलो बाधक ट्राफिक नियमहरूको कमजोर कार्यान्वयन हो । गृह मन्त्रालयअन्तर्गतको थाइल्यान्ड सडक सुरक्षा इकाईले नयाँ वर्ष २०१९ को बिदाको समयमा भएका दुर्घटनामा मारिनेमध्ये ४१.५ प्रतिशत मदिरा सेवन गरी सवारी चलाएर र २८ प्रतिशत द्रूतगतिका कारण भएको जनाएको छ ।


उत्तरी प्रान्त चियाङ माइका अवस्था डरलाग्दो देखिन्छ । यस प्रान्तमा नयाँ वर्षको अवधिमा ज्यान गुमाउने संख्या दोस्रो ठूलो हो । थाइल्यान्डमा हालैका वर्षहरूमा प्रान्तीय राजधानीमा ट्राफिक प्रहरी स्टपहरूको संख्या बढाइएको छ भने मोटरसाइकल चालकलाई हेलमेट लगाउन आदेश दिने संकेतहरू बढाइएको छ ।


तर सहरका थुप्रै क्षेत्रहरूमा राखिएका ट्राफिक स्टपहरू सडक सुरक्षाका लागि भन्दा पनि पैसा कमाउने धन्धाका रूपमा विकसित भएका छन् । चियाङ माईमा सवारी चालक अनुमतिपत्र नभएका वा हेलमेट नलगाई मोटरसाइकल चलाउने चालकहरू देख्नु सामान्य हो । तर उनीहरू जरिवान तिर्छन् र फेरि मोटरसाइकल चलाउन थाल्छन् ।


पूर्व यातायात उपमन्त्री र जनता सुरक्षा फाउन्डेसनका अध्यक्ष निकोर्न जुमनोङले ‘सडक सुरक्षामा सुधार गर्न यस प्रकारको भ्रष्टाचार रोक्न आवश्यक’ भएको बताए । ‘यो हाम्रो प्रमुख समस्या हो, र यो दुईतर्फी समस्या पनि हो । भ्रष्ट अधिकारीहरू कानुनको कमजोर पक्ष देख्छन् र यात्रीहरू पनि कानुन पालन गर्दैनन्,’ उनले भने ।


देशव्यापी रूपमा करिब आधा मात्रा मोटरसाइकल चालकले हेलमेटको प्रयोग गर्छन् भने पछाडि बस्ने २० प्रतिशतले । त्यसैगरी, ५८ प्रतिशत गाडी चालकहरूले मात्र सुरक्षा पेटी (सिटबेल्ट) बाँध्छन् । विश्व स्वास्थ्य संगठनले मोटरसाइकल चालकले हेलमेट लगाएको खण्डमा ४० प्रतिशत मृत्यु रोक्न सकिने अनुमान गरेको छ ।


त्यसैगरी, हेलमेट र सिटबेल्ट नलगाउने, तीव्र गति, मदिरा सेवन र बालबालिकाको लागि रोकावटको कमी सडक सुरक्षाका प्रमुख जोखिम मानिएका छन् । ‘हामीले कानुनको पालना गर्न देशको डीएनए र हाम्रो प्रवृत्ति परिवर्तन गर्न आवश्यक छ,’ निकोर्नले भने, ‘कानुनको कार्यान्वयनबारेको शिक्षा मुख्य हो । हामीसँग धेरै नियम छन् । मलाई लाग्छ, ती असल र पर्याप्तभन्दा बढी छन् तर यो सबै कानुन कार्यान्वयनसँग सम्बन्धित छ ।’


थाइल्यान्डले हालैका वर्षहरूमा केही प्रगति गरिरहेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो रिपोर्टअनुसार सन् २०१५ मा १ लाख मानिसमध्ये ३६.२ प्रतिशतको सडक दुर्घटनामा मृत्यु भएकोमा हाल ३२.७ मा झरेको छ । थाइल्यान्ड सडकहरू सुरक्षित बनाउन संघर्षरत एक मात्र राष्ट्र होइन । धनी देशहरूको तुलनामा गरिब देशमा सडक दुर्घटनामा ज्यान गुमाउनेको जोखिम तीन गुणा बढी छ ।


भियतनाममा, डिसेम्बर २७ देखि जनवरी १ बीचमा भएका १ सय ४७ दुर्घटनामा १ सय ११ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । पुलित्जर सेन्टरले सडक दुर्घटना विश्वभर मानिसको मृत्युको आठौं मुख्य कारका रूपमा रहेको जनाएको छ । जसका कारण एचआईभी एड्स र क्षयरोगका कारणभन्दा बढी मानिसले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ ।


‘सडक सुरक्षा एक त्यस्तो मुद्दा हो जसलाई आवश्यकताअनुसारको केही ध्यान दिइँदैन । यो वास्तवमा हाम्रो वरपरका मासिनको जीवन बचाउने हाम्रो महान् अवसर हो,’ ब्लुमबर्ग परोपकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा विश्व स्वास्थ्य संगठनका विश्वव्यापी दूत माइकल आर ब्लुमबर्गले भने, ‘हामी जान्दछौं कुन हस्तक्षेपले काम गर्छ । बलिया नीति तथा कार्यान्वयन, छरिता सडक डिजाइन र प्रभावकारी जनचेतना अभियानले आगामी दशकहरूमा लाखौं जीवन बचाउन सक्छ ।’


विश्व स्वास्थ्य संगठनको प्रतिवेदनका अनुसार कानुन लगायतका क्षेत्रमा निश्चित प्रगति गरिएको छ । तर त्यो सन् २०१६ देखि २०२० को अवधिमा सडक दुर्घटनामा हुने मृत्यु आधामा सीमित पार्ने संयुक्त राष्ट्र संघीय लक्ष्यलाई पूरा गर्न पर्याप्त देखिँदैन ।

प्रकाशित : पुस २१, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?