२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

इन्डोनेसियामा सुनामीले २२२ को मृत्यु

बीबीसी

जाकार्ता — इन्डोनेसियाको सुन्दा स्ट्रेटस्थित सामुद्रिक तटमा आएको सुनामीका कारण कम्तीमा २ सय २२ जनाको मृत्यु भएको छ । 

इन्डोनेसियामा सुनामीले २२२ को मृत्यु

सुनामीका कारण घाइते हुनेको संख्या ८४३ पुगेको अधिकारीहरूले बताएका छन् । दुई दर्जन हराइरहेको जनाइएको छ । विपद् व्यवस्थापन निकायका अनुसार सुनामीपछि दर्जनौं भवन भत्किएका छन् ।


अधिकारीहरूले अनाक क्रकाटाउ ज्वालामुखी विस्फोटपछि समुद्रमुनि ठूलो मात्रामा भू–क्षय भएका कारण सुनामी आएको हुन सक्ने अनुमान गरेका छन् । इन्डोनेसियाका जाभा र सुमात्रा टापुबीचको सुन्दा स्ट्रेटले जाभा सागरलाई हिन्द महासागरसँग जोड्छ ।


विपद् व्यवस्थापन निकायले मानिसहरूलाई तटीय क्षेत्रबाट टाढै रहन चेतावनी दिएका छन् । निकाय प्रमुखले सार्वजनिक गरेका तस्बिरहरूमा सुनामीले पुर्‍याएको क्षति देख्न सकिन्छ । तस्बिरहरूमा पानीमा डुबेका सहर तथा पल्टिएका सवारी साधनहरू देखिएका छन् । उनले पानीको बहाव सहर क्षेत्रमा पसेपछि स्थानीयहरू भागिरहेका दृश्य पनि सार्वजनिक गरेका छन् ।


अनाक क्रकाटाउ ज्वालामुखी हालैका महिनामा पटक पटक विस्फोट भइसकेको छ । शनिबार रातिको विस्फोटपछि जाभाको पश्चिममा पर्ने पर्यटकीय गन्तव्य तान्जुङ बिच तथा रिसोर्टहरू ध्वस्त भएका छन् ।

रेडक्रस अधिकारी काथी मुलरले भनिन्, ‘भवनका भग्नावशेषहरू जमिनमा छरपस्ट भएका छन् भने कार तथा मोटरसाइकलहरू कच्याककुचुक भएका देखिन्छन् ।’ उनले पान्डेग्लाङको मुख्य सडकमार्ग अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा उद्धारका लागि जान कठिनाइ भइरहेको बताइन् ।


एक प्रत्यक्षदर्शी असेप पेराङटले भने, ‘सुनामीका छालले करिब २० मिटर टाढाका कारहरूसमेत तानेको थियो ।’ समाचार संस्था एएफपीसँग कुराकानी गर्दै उनले कारिटा बिचका रिसोर्टहरू ध्वस्त भएका तथा रुख र विद्युत्का खम्बा ढलेका बताए । विपद् व्यवस्थापन निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले लाम्पुङ क्षेत्रमा भएको क्षतिका दृश्य सार्वजनिक गरेका छन् ।


आपतकालीन सेवा प्रदायक निकायका अधिकारीले अनाक क्रकाटाउ ज्वालामुखीका कारण सुनामी आएको हो/होइन यकिन गर्न अनुसन्धान गरिहेको बताएका छन् । अनाक क्रकाटाउ सुन्दा स्ट्रेटमा पर्छ । गत सेप्टेम्बरमा त्यहाँको मध्य टापु सुलाबेसीमा शक्तिशाली भूकम्पपछि सुनामी आएको थियो ।


सुनामीका कारण २ हजार जनाको ज्यान गएको थियो । सुनामीले तटीय नगर पालुलाई पूर्णतया ध्वस्त बनाएको थियो । इन्डोनेसिया ‘रिङ अफ फायर’ भनिने प्रशान्त महासागरको तटीय इलाकामा पर्ने भएकाले भूकम्प तथा ज्वालामुखीको उच्च जोखिममा पर्छ ।


समुद्रमुनि हुने ठूलो हलचलका कारण ठूला तथा अग्ला छालहरू उत्पन्न हुन्छन् । त्यस्ता छाललाई सुनामी भनिन्छ । ती छाल निकै बेगका साथ अगाडि बढ्ने भएकाले तटीय क्षेत्रमा क्षति पुर्‍याउँछन् ।


सुनामी जापानी शब्द हो । जापानी भाषामा ‘सु’ भनेको सामुद्रिक तट र ‘नामी’ भनेको छाल हो । समुद्रमा छाल सामान्यतया चन्द्रमा, सूर्य तथा अन्य ग्रहको गुरुत्वाकर्षण शक्तिको प्रभावका कारण उत्पन्न हुन्छन् । तर सुनामी वा समुद्रमा अस्वभाविक छाल उत्पन्न हुने प्रमुख कारण भूकम्प हो । त्यसका अतिरिक्त जमिन धस्सिने वा ज्वालामुखी विस्फोटका कारण पनि सुनामी आउने गरेका छन् ।


‘भागेर बाँच्यौं’

नर्वेका ओएस्टिन लुन्ड एन्डरसन ज्वालामुखीबारे फोटो खिच्ने पेसाकर्मी हुन् । इन्डोनेसियाको सुन्दा क्षेत्रमा सुनामी आउँदा उनी जाभाको पश्चिममा पर्ने आन्यर तटीय क्षेत्रमा थिए । सुनामीका समय आफूले देखेको दृश्यबारे उनले बीबीसी विश्व टेलिभिजनलाई दिएको विवरण :


म तटमा एक्लै थिएँ । मेरा परिवार होटलको कोठामा सुतिरहेका थिए । म विस्फोट भइरहेको अनाक क्रकाटाउ ज्वालामुखीका तस्बिरहरू खिच्दै थिएँ । सुनामीको केही समयअघि ज्वालामुखी विस्फोटका घटनामा तीव्रता देखिएको थियो । तर तटीय क्षेत्रमा छाल आउनु ठीक अघि भने अवस्था सामान्य थियो ।

बाहिर अँध्यारो थियो । त्यसैबीच ठूलो छाल आइरहेको जस्तो देखेपछि म भागें । दुइटा छाल आइरहेका थिए । पहिलो छाल ठूलो नभएकाले म भाग्न सकें । त्यसलगत्तै म सोझै मेरी श्रीमती र छोरा सुतिरहेको होटल पुगें र उनीहरूलाई उठाएँ ।


त्यति नै बेला दोस्रो छालको आवाज सुने । झ्यालबाट बाहिर हेर्दा त्यो छाल निकै ठूलो देखें । त्यसले सडकबाट गाडीलाई समेत हुत्याएको थियो । हामी होटलका अन्य मानिसहरूसहित छिटोछिटो नजिकैको जंगलतर्फको उच्च भूभागमा लाग्यौं । हामी अहिले पनि त्यहीं बसिरहेका छौं ।

प्रकाशित : पुस ९, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?