कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लन्डन विमानस्थलमा ड्रोन उडाउने दुई जना पक्राउ

एएफपी

ग्याटविक,बेलायत — बेलायतको लन्डनस्थित व्यस्त ग्याटविक विमानस्थलमा मानवरहीत यन्त्र (ड्रोन) उडाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

लन्डन विमानस्थलमा ड्रोन उडाउने दुई जना पक्राउ

इसाईहरूको ठुलो पर्व क्रिसमसको पूर्वसन्ध्यामा छुट्टी मनाउन हिँडेका लाखौँ यात्रु ड्रोनका कारण विमानस्थल बन्द गरिएपछि विमानस्थलमै अलपत्र परेका थिए ।


ग्याटविक विमानस्थल तीन दिनसम्म बन्द भएका कारण झन्डै एक लाख २० हजार यात्रु अलपत्र परेका थिए । बुधवार बेलायतको दोस्रो सबैभन्दा व्यस्त क्याटविक विमानस्थलको आकाशमा ड्रोनहरु देखा परेका थिए । प्रहरीले उक्त घटनालाई आपराधिक कार्य भन्दै ड्रोन उडाउने व्यक्तिको खोजी तीव्र बनाएको थियो ।


प्रहरी अधिकृत जेम्स कोलिसले ड्रोनको आपराधिक प्रयोगको अभियोगमा दुई व्यक्तिलाई ससेक्स प्रहरीले पक्राउ गरेको जानकारी दिए । आगामी दिनमा पनि थप ड्रोन आक्रमणका घटना हुनसक्ने भन्दै प्रहरीले सूचना प्राप्त गर्न सबै विकल्पहरू खुला राखेको उनले बताए ।


प्रहरीले लन्डनको दक्षिणतर्फ कुनै ड्रोन उडेको देखिए खबर गर्न आम सर्वसाधारणलाई अनुरोध पनि गरेको छ । शुक्रवार विमानस्थल खुला गरिए पनि अर्को ड्रोन देखिएसँगै केही समय विमानस्थल पुनः बन्द गरिएको थियो । ससेक्स प्रहरीले रहस्यमयी ड्रोन सञ्चालकको खोजी गर्न प्रहरी अधिकारीहरूले विभिन्न उपाय अवलम्बन गरिसकेको जनाएको छ ।


तीव्र गतिमा हुने विमानमा ड्रोन ठोक्किए त्यसले अकल्पनीय क्षति पुग्न सक्दछ ।


अधिकारीहरूले छुट्टी मनाउने सिलसिलामा विमान सेवा प्रयोग गर्ने यात्रुहरूलाई विमानस्थल जानुअघि हवाई सेवाको पछिल्लो अवस्था बुझ्न आग्रह गरेका छन् ।


ग्याटविक विमानस्थलका प्रवक्ताले शुक्रवार बिहानका लागि निर्धारित ४१२ वटा विमान आगमनमध्ये ९१ वटा रद्द गरिएको तथा ३७१ मध्ये ६४ वटा प्रस्थान उडान रद्द गरिएको जानकारी दिए ।


बिहीबार ड्रोनका खतरा रोक्न सेनाको समेत सहयोग लिइएको थियो । रक्षा मन्त्रालयले ड्रोन पत्ता लगाउने विशिष्ट उपकरण सहितको सैनिक टोली परिचालन गरिएको जनाएको छ ।


ग्याटविक विमानस्थलको समस्याका बारेमा सरकारी अधिकारीहरूको आपत्कालीन बैठक समेत बसेको छ । बेलायको कानुन अनुसार ड्रोनहरु विमानहरूको नजिक वा विमानस्थलको एक किलोमिटरभित्र वा ४०० फिटभन्दा माथि उडाउन पाइन्न ।


कानुनको उल्लंघन गर्नेमाथि पाँच वर्षसम्मको जेल सजाय हुन सक्दछ ।


यो पनि पढ्नुहोस्ः

बेलायतको ग्याटवीक विमानस्थल बन्द गरिंदा दशौं हजार यात्रु प्रभावित

प्रकाशित : पुस ७, २०७५ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?