कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

हुवावे प्रमुखको चुनौती ‘सुरक्षा खतराको प्रमाण देखाऊन्’

चिनियाँ सरकारका लागि गोप्य उपकरण डिजाइन नगरेको दाबी 
एपी

डोन्गुआन, चीन — चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका अध्यक्ष केन हुले आफ्नो उत्पादनबाट सुरक्षा खतरा रहेको प्रमाण देखाउन अमेरिकासहित विश्वका अन्य सरकारलाई चुनौती दिएका छन् । 

हुवावे प्रमुखको चुनौती ‘सुरक्षा खतराको प्रमाण देखाऊन्’

हुवावे टेक्नोलजी लिमिटेडको मुख्यालयमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष हुले आफ्ना उत्पादन कुनै ‘विचारधारा र भूराजनीतिक’ धारणाबाट निर्देशित छन् भन्ने आरोपमा सत्यता नरहेको बताए ।


उनले अस्ट्रेलिया र अरू बजारमा फाइभ–जी (पाँचौं पुस्ताको दूरसञ्चार सञ्जाल) विस्तारमा भइरहेको अवरोधले उपभोक्ता ठगिने दाबी गरे । ‘अरूका उत्पादन महँगा हुनेछन् र नवीन प्रविधिको परीक्षणमा अरू कम्पनीको काम गराइ ढिलो छ,’ उनले भने ।


अस्ट्रेलिया र न्युजिल्यान्डले सुरक्षा खतराको कारण देखाउँदै फाइभ–जी विस्तारमा हुवावेलाई रोकेका छन् । यी दुई मुलुकले अमेरिका र ताइवानसँग पनि सहकार्य गरेका छन् ।


जापानको साइबर सुरक्षा निकायले पनि जापानले हुवावे समेतका उच्च जोखिमयुक्त संसाधन खरिद नगर्ने बताएको छ ।


पछिल्ला कदमले हुवावेमाथि खासै असर भने परेको छैन । हुवावे अहिले विश्वकै सबैभन्दा ठूलो दूरसञ्चार नेटवर्क निर्माणकर्ता तथा फाइभ–जीको विकासमा अग्रणी कम्पनी हो । तर विश्लेषकहरूका अनुसार हुवावेमाथिको दबाब यथावत् रहेमा सन् २०२२ सम्ममा यसको व्यवसायमा २० अर्ब डलरले कमी आउनेछ ।


प्राय: अन्तर्वार्ता दिन नचाहने अध्यक्ष केन हुले यसपटक अमेरिकी, युरोपेली र एसियाली पत्रकारहरूसँग झन्डै २ घण्टा २० मिनेट कुराकानी गरे । ‘यदि तपाईंसँग कुनै प्रमाण छ भने त्यसलाई सार्वजनिक गर्नुपर्‍यो,’ हुले भने, ‘सायद हुवावेविरुद्ध होइन र यो आमजनतासँग सम्बन्धित पनि होइन होला । यो कार्य अरू टेलिकम कम्पनीका कारण भइरहेको हुन सक्छ किनभने उनीहरू हुवावेका सामग्री खरिद गर्न बाध्य भइरहेका छन् ।’


हुवावे पूर्व चिनियाँ सैनिक इन्जिनियरले सन् १९८७ मा स्थापना गरेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीले नियन्त्रण गरेको भन्ने आरोपमा सत्यता नरहेको दाबी पनि कम्पनीले गरेको छ ।


गोप्य उपकरण चिनियाँ सरकारका लागि डिजाइन नगरेको पनि कम्पनीको भनाइ छ । हुवावे चीनको पहिलो विश्वव्यापी प्रभाव राख्ने प्रविधि क्षेत्रको कम्पनी हो । यसमा हाल १ लाख ८० हजारले रोजगारी पाएका छन् भने यस वर्ष कम्पनीको बिक्री एक सय अर्ब डलर पुगेको छ ।


हुका अनुसार हुवावेलाई प्रतिस्पर्धा गर्न नदिने हो भने अस्ट्रेलियामा फाइभ–जी नेटवर्क निर्माणमा १५ देखि ४० प्रतिशत बढी महँगो पर्नेछ ।


हुवावेले २५ वटा टेलिकम कम्पनीका लागि फाइभ–जी उपकरण आपूर्ति गरिरहेको छ । हालसम्म १० हजारभन्दा बढी फाइभ–जीका बेस स्टेसन अन्य देशमा आपूर्ति गरिएको कम्पनीले जनाएको छ ।


चीनमा फेरि क्यानडेली पक्राउ

हुवावेकी प्रमुख वित्तीय अधिकृत सब्रिना मेङ्ग वाङझुलाई क्यानडामा पक्राउ गरेको घटनापछि चीन र क्यानडाबीचको कूटनीतिक सम्बन्ध झन् चिसिएको छ ।


चिनियाँ अधिकारीले बुधबार थप एकजना क्यानडेली अधिकारीलाई पक्राउ गरेको विदेश मन्त्रालयलाई उद्धृत गर्दै क्यानडाको नेसनल पोस्टले जनाएको छ । योसहित चीनले पक्राउ गरेका क्यानडेलीको संख्या ३ पुगेको छ ।


मेङ्गको पक्राउपछि रुष्ट चीनले आफ्नो राष्ट्रिय सुरक्षालाई खतरामा पारेको भन्दै गत साता दुई क्यानडेलीलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा नर्थइस्ट एसिया फर इन्टरनेसनल क्राइसिस ग्रुपका वरिष्ठ सल्लाहकार एवं पूर्व क्यानडेली कूटनीतिज्ञ माइकल कोभ्रिग र चीनको दानदोङ सहरमा व्यवसाय गर्दै आएका माइकल स्पाभोर छन् ।


चीनले उनीहरू पक्राउको घटना मेङ्गको पक्राउसँग सम्बन्धित रहेको बारेमा केही बताएको छैन । तर बेइजिङस्थित पश्चिमा कुटनीतिज्ञहरूले भने क्यानडेलीहरूको गिरफ्तारी चीनको ‘जस्तालाई त्यस्तै’ नीति रहेको बताएका छन् ।


बुधबार पक्राउ परेका तेस्रा व्यक्तिको परिचय खुलाइएको छैन । बुधबारको नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले नयाँ गिरफ्तारीको घटनाबारे आफूलाई केही थाहा नभएको बताइन् ।


अमेरिकाको आग्रहमा मेङ्गलाई गत डिसेम्बर १ मा क्यानडाको भ्यानकुभरमा पक्राउ गरिएको थियो । पछि उनलाई ससर्त जमानतमा रिहाइ गरिएको थियो ।

प्रकाशित : पुस ५, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?