१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

अमेरिकी लडाकू विमान दुर्घटनाग्रस्त, पाँचजना बेपत्ता

रासस/एपी

टोक्यो — जापानको दक्षिणपश्चिमी तटीय क्षेत्रमा दुईवटा अमेरिकी लडाकू बिमान बिहीबार आकाशमा जुधेर दुर्घटनाग्रस्त भएका छन् । सैनिक अधिकारीहरुले बिमानमा सवार चालक दलका सात जनामध्ये पाँचजना हराइरहेको बताएका छन् । 

आकाशमा एउटा लडाकू बिमानमा अर्को सैनिक बिमानबाट तेल भर्ने क्रममा दुबै बिमान एकआपसमा ठक्कर खाएर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।


अमेरिकी मरिन क्रप्सका अनुसार एफए–१८ लडाकू बिमान र तेल बोकेर आएको केसी–१३० सैनिक बिमान एकआपसमा ठोक्किएका थिए । पश्चिमी जापानको हिरोसिमा नजिक इवाकुनीस्थित अमेरिकी सैनिक अखडाबाट तालिमको सिलसिलामा बिमानहरु उडेलगत्तै दुर्घटनाग्रस्त भएको बताइएको छ ।


अमेरिकी सैनिक अधिकारीहरुले उक्त दुर्घटना सैनिक अखडाबाट करिब ३२० किलोमिटर टाढा प्रशान्त महासागरमा भएको थियो । तत्काल खोजी तथा उद्धारमा खटिएका सैनिकहरुले चालक दलका दुई सदस्यलाई उद्धार गरेको थियो ।


उक्त दुर्घटनाको कारणबारे अनुसन्धान शुरु भइसकेको छ । खोजी र उद्धारमा जापानी सैनिक बिमान र पानी जहाजहरु पनि परिचालन गरिएको जापानी सैनिक अधिकारीहरुले बताएका छन् ।


पछिल्ला केही समयदेखि जापानी तटीय इलाकामा अमेरिकी लडाकू बिमान र नौसैनिक जहाजहरुको दुर्घटना हुनेक्रम बढेको छ । गत महिना पनि एउटा अमेरिकी नेभीको लडाकू बिमान ओकिनावा नजिक दुर्घटनाग्रस्त भएको थियो । गत अक्टोबरमा एउटा एमएच–६० सि–हक लडाकू बिमान पनि फिलिपिनी सागरमा उड्नासाथ दुर्घटनाग्रस्त भएको थियो ।


जापान र अमेरिकाबीचको सुरक्षा सम्झौता बमोजिम जापानमा हाल ५० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् ।

प्रकाशित : मंसिर २०, २०७५ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?