आदित्यनाथको जनकपुर भ्रमण : नेपाली दूतावास बेखबर

‘यस्तो प्रवृत्तिले संस्थागत मूल्यमान्यता र गरिमा कमजोर पार्नुका साथै राज्यको संस्थागत स्मृति ह्रास गराउँछ’
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विवाह–पञ्चमीका दिन अयोध्याबाट ‘भगवान् रामको जन्ती’ लिएर जनकपुर जाने निश्चित भइसक्यो । भारतीय राजदूत मञ्जिभसिंह पुरीले दिल्लीको निर्देशनबमोजिम जनकपुर पुगेर भ्रमण तयारीबारे प्रदेश २ सरकारसँगै छलफल गरिसके ।

आदित्यनाथको जनकपुर भ्रमण : नेपाली दूतावास बेखबर

तर नयाँदिल्लीस्थित नेपाली दूतावासलाई यसको अत्तोपत्तो छैन । नेपाल सरकारले कुनै जानकारी गराएको छैन ।

कूटनीतिक मामिलाका जानकारहरू सरकारले आफ्नै नियोगहरूलाई उपेक्षा गर्नु गलत भएको बताउँछन् । यसले संस्थागत मूल्यमान्यता र गरिमा कमजोर पार्नुका साथै राज्यको संस्थागत स्मृति ह्रास गराउने परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराईको धारणा छ । ‘आफ्ना नियोग परिचालन गर्दा नियोगका अधिकारीहरूको क्षमता अभिवृद्धि हुनुका साथै उनीहरूको सम्बन्धित मुलुकका अधिकारीसँग सम्बन्ध विस्तारमा पनि सघाउ पुर्‍याउँछ,’ उनले भने ।

नेपाली पक्षको यही कमजोरीमा टेकेर कतिपय मुलुकले दूतावासलाई उपेक्षा गर्दै सिधै सिंहदरबारसँग सम्पर्क स्थापित गर्ने गरेको एक कूटनीतिक मामिला विज्ञले बताए । परराष्ट्र मन्त्रालयले २०६८ सालमा जारी गरेको कूटनीतिक आचारसंहितामा विदेशी सरकार वा संस्थासँग पत्राचार गर्दा नेपाली नियोगमार्फत गर्नुपर्ने उल्लेख छ । तर मन्त्रालयले महत्त्वपूर्ण विषयमा विदेशस्थित नियोगमार्फत पत्राचार गराउनु त परै, काठमाडौंस्थित विदेशी नियोगलाई गरिएको पत्राचारको विवरणसमेत पठाउँदैन ।

नेपाली दूतावासहरू पाखा लगाइनुमा राजनीतिक नेतृत्व बढी दोषी रहेको पछिल्ला केही घटनाबाट पुष्टि हुन्छ । कात्तिक दोस्रो भारतीय जनता पार्टीनिकट थिंक ट्यांक इन्डिया फाउन्डेसनको कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहालको सहभागिताबारे पनि दूतावास अनभिज्ञ रह्यो । त्यसअघि लखनउमा ‘हिन्दुस्तान दैनिक’ को कार्यक्रमको निम्तो पाएका दाहाल अन्तिम समयमा पुग्न सकेनन् ।

यसबारे पनि दूतावासलाई औपचारिक जानकारी थिएन । कतिपय सांसद तथा उच्च अधिकारीहरू दिल्ली ओर्लेपछि मात्र दूतावासमा सम्पर्क गर्छन् । त्यो पनि दूतावासको गाडी र औषधोपचारलगायत प्रयोजनका लागि आवश्यक भनसुन गराउने उद्देश्यले मात्र ।

भारतका उच्च पदस्थ सरकारी अधिकारीदेखि राजनीतिज्ञसम्मको वैदेशिक भ्रमण हुँदा सबैभन्दा पहिले विदेश मन्त्रालयबाट सम्बद्ध मुलुकका भारतीय दूतावासलाई पत्राचार गरिन्छ । कुनै भारतीय व्यक्तित्व नेपाल भ्रमणमा जाँदा पनि विदेश मन्त्रालयको नेपाल डेस्क हुँदै लैनचौरस्थित भारतीय दूतावासमा खबर गरिन्छ ।

भारतका लागि एक नेपाली पूर्वराजदूत सरकारदेखि राजनीतिक नेतृत्वसम्मले दूतावासलाई प्राथमिकतामा नराखेकामा असन्तुष्टि व्यक्त गर्छन् । ‘आफ्ना नियोगलाई सबैभन्दा पहिले खबर गर्नुपर्ने हो । यो अहिलेको

नभएर पुरानै रोग हो । कतिपय अवस्थामा त परराष्ट्र मन्त्रालयलाई समेत पाखा लगाउने गरिएको छ ।

जबकि अरू मुलुकले दूतावासलाई विशेष प्राथमिकतामा राख्छन्,’ उनले भने ।

मापदण्ड र आचारसंहिता पालना गराउन सक्ने क्षमता र हैसियत मन्त्रालयमा नहुनुलाई उनी दु:खद पक्ष बताउँछन् । आचारसंहिताले राज्यकोषबाट सुविधा लिने जोकोहीलाई जिम्मेवारी, स्तर वा ओहदासँग मेल नखाने कार्यक्रमको निमन्त्रणा स्विकार्न पनि निषेध गरेको छ । पूर्वप्रधानमन्त्रीदेखि बहालवाला सरकारी अधिकारीसम्मले यसको उल्लंघन गर्ने गरेका छन् ।

दिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत भरतकुमार रेग्मी विदेशस्थित नियोगको स्थापना र सञ्चालनमा हुने ठूलो लगानी र स्रोतसाधन सदुपयोग गर्न पनि सरकारले तिनलाई बढीभन्दा बढी परिचालन गर्नुपर्ने बताउँछन् ।

प्रकाशित : मंसिर २०, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?