२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘जलवायु परिवर्तन ठूलो चुनौती’

एएफपी

क्याटोविस, पोल्यान्ड — जलवायु परिवर्तन मानव समुदायका लागि हालसम्मकै ठूलो खतराका रूपमा रहेको विज्ञहरुले बताएका छन् । 

‘जलवायु परिवर्तन ठूलो चुनौती’

पोल्यान्डको क्याटोविसमा सुरु जलवायु सम्मेलनको उद्घाटनमा बोल्दै राष्ट्रसंघीय वातावरण निकाय प्रमुख पेट्रिसिया एसपिनोसाले विश्वव्यापी तापमान वृद्धिका कारण मानवजाति नै संकटमा पर्न सक्ने चेतावनी दिइन् । उनले मानव समुदायले जलवायु परिवर्तनका कारण हालसम्मकै सबभन्दा ठूलो खतरा सामना गरिरहेको दाबी गरिन् ।


उनले भनिन्, ‘जलवायु परिवर्तनले विश्वका विभिन्न समुदाय नराम्ररी प्रभावित भएका छन् । प्राकृतिक विपत्ले संसारभर विनाश निम्त्याइरहेको छ । त्यसकारण जलवायु परिवर्तनको प्रभाव कम गर्न हामीले आपतालीन कदम चाल्न अपरिहार्य भएको छ ।’


सम्मेलनमा बोल्दै प्राकृतिवादी डेभिड अटेनबोरोघले जलवायु परिवर्तन मानव समुदायकले हजारौं वर्षयताको भयानाक चुनौती भएको बताए । उनले भने, ‘यसले प्राकृतिक विश्व र मानव समुदाय नै पतन हुन सक्छ ।’ अटेनबोरोघले वर्तमान समयमा हामी आफैंले सिर्जना गरेको विपतो सामना गरिरहेको बताए । कोप–२४ मा सर्वसाधारण र नीति निर्माताबीच सहजकर्ताको भूमिकामा उपस्थित भएका हुन् ।


राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले ‘जलवायु परिवर्तन कतिपय देशका लागि जीवन र मृत्युको सवाल भएको’ बताए । उनले जलवायु परिवर्तनका लागि जिम्मेवार केही देश आफ्नो दायित्वबाट विमुख भएको आरोप लगाए ।


जलवायु परिवर्तनलाई सीमित पार्न चाल्नुपर्ने कदमबारे निक्र्योल गर्न आयोजित अन्तर्राष्ट्रिय सम्मेलन तोकिएभन्दा एक दिन अगाडि नै भएको हो । राष्ट्रसंघले प्रायोजन गरेको वार्ता टोलीका ४ पूर्व प्रमुखले निर्णायक कदमका लागि अपिल गरेका छन् । उनीहरुले पृथ्वी ग्रह चौबाटोमा आइपुगेकाले बचाउनुको विकल्प नभएको दाबी गरे ।


सम्मेलनलाई सन् २०१५ मा पेरिस सम्झौता भएयता जलवायु परिवर्तनसम्बन्धी सबभन्दा महत्त्वपूर्ण पहलको रूपमा लिइएको छ । विज्ञहरुले क्याटोविस सम्मेलन उक्त सम्झौता कार्यान्वयका लागि कोसेढुंगा हुने अपेक्षा गरेका छन् ।


जलवायु परिवर्तनका कारण वातावरणमा देखिएको तापमान वृद्धिका कारण विनाशकारी डढेलो, उष्णवायु, आँधी, तुफान साथै सामुद्रिक सतहको वृद्धिजस्ता समस्या विकराल रूपमा देखिएका छन् । पेरिस सम्झौतामा तोकिएका लक्ष्य हासिल गर्न कार्बन उत्सर्जनको मात्रा १.५ देखि २ डिग्री सेल्सियसले घटाउनुपर्ने विज्ञहरूले औंल्याएका छन् । त्यसका लागि हरित गृह ग्यास उत्सर्जनलाई सन् २०३० भित्र ४५ प्रतिशतले कटौती गर्नुपर्ने बताइएको छ ।


त्यसका लागि राष्ट्रसंघले हरेक वर्ष एक अर्ब डलर संकलन गर्ने उद्देश्य राखेको छ । समाचार संस्था रोयटर्सका अनुसार विश्व बैंकले आगामी दशकको सुरुदेखि ५ वर्षका लागि २ अर्ब उपलब्ध गराउने जनाएको छ ।


तर विश्व तापमान वृद्धिका लागि मुख्य जिम्मेवारमध्येको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौता कुनै पनि हालतमा नमान्ने बताउँदै आएका छन् । उनले यसअघि नै अमेरिका उक्त सम्झौताबाट फिर्ता हुने बताएका थिए ।


अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा शनिबार सम्पन्न जी–२० सम्मेलनको समापनसँगै जारी विज्ञप्तिमा नेताहरूले पेरिस सम्झौताको ‘परिवर्तन असम्भव रहेको’ बताएका थिए ।

सम्मेलनमा विश्वका २ सय राष्ट्रका प्रतिनिधि सहभागी छन् । सम्मेलनलाई २९ राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूले सम्बोधन गर्नेछन् ।

प्रकाशित : मंसिर १७, २०७५ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?