गुजरातमा विश्वकै अग्लो प्रतिमा

सुरेश न्यौपाने

नयाँदिल्ली — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्र भारतका प्रथम उपप्रधानमन्त्री बल्लभभाइ पटेलको सम्मानमा निर्मित विश्वकै अग्लो प्रतिमाको अनावरण गरेका छन् ।

गुजरातमा विश्वकै अग्लो प्रतिमा

प्रधानमन्त्री मोदीले भारतका ‘लौहपुरुष’ नामले समेत चिनिने पटेलको १४३ औं जन्मजयन्तीका दिन बुधबार प्रतिमा अनावरण गरेका हुन् ।

गुजरातको नर्मदा बाँधको सामुन्ने साधु टापुमा निर्मित यो प्रतिमाको उचाइ १८२ मिटर छ । प्रतिमा ठड्याउन ३ हजार ४ सय कामदारलाई करिब ४२ महिना लागेको थियो । करिब २९.९ अर्ब भारतीय रुपैयाँको लागतमा बनेको प्रतिमा निर्माणमा ५ हजार ७ सय टन स्टिल, २२ हजार ५ सय टन सिमेन्ट, १८ हजार टन छड, १८.५ लाख केजी तामाको धुलो प्रयोग गरिएको छ । दृश्यावलोकनका लागि १५३ मिटर उचाइमा रहेको प्रतिमाको छातीसम्म जान सक्ने गरी लिफ्ट जडान गरिएको छ । त्यहाँ एक पटकमा करिब २०० पर्यटक जान सक्नेछन् ।

भारतका प्रथम गृहमन्त्रीसमेत रहेका पटेल भारतको अखण्डता र सुरक्षा संवेदनशीलताका विषयमा अन्य राजनीतिज्ञको तुलनामा कठोर र ढृढ मानिन्थे । ५ सयभन्दा बढी ससाना राज्यहरूलाई भारतमा एकीकरण गर्न पनि उनकै प्रमुख भूमिका थियो ।

उनकै निर्देशनमा भारतीय सेनाले निजामको राज्य हैदरावादमाथि सैन्य हमला गर्दै आफ्नो नियन्त्रणमा लिएको थियो । पटेलको राजनीतिक छविअनुसार नै प्रतिमालाई ‘स्ट्याचु अफ युनिटी’ को संज्ञा दिइएको भारतीय सन्चार माध्यमले जनाएका छन् । अहमदाबादबाट २ सय किलोमिटरको दूरीमा रहेको यो स्थानमा बर्सेनि २५ लाख पर्यटक आउने र यो स्थानीय अर्थतन्त्र मजबुत पार्न सहयोगी हुने गुजरात सरकारको दाबी छ । मूर्ति रहेको क्षेत्र २० हजार वर्गमिटर छ ।

प्रतिमा अनावरणसँगै त्यसमाथि पक्ष विपक्षमा राजनीतिक बहस पनि सुरु भएको छ । विपक्षी तथा स्वतन्त्र विश्लेषकहरूले प्रतिमा निर्माणलाई राज्य स्रोतको अनावश्यक दोहन र चुनावी राजनीति लक्षित ‘रणनीति’ को रूपमा अथ्र्याएका छन् ।

विपक्षी तथा राजनीतिक आलोचकहरूले सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) ले आगामी १९ औं लोकसभा चुनावलाई लक्षित गर्दै पटेल समुदायलाई खुसी बनाउन खोजेको आरोपसमेत लगाएका छन् भने भाजपाले विपक्षीहरूले अनावश्यक राजनीति गरेको प्रतिक्रिया जनाएको छ ।

भारतीय राष्ट्रिय कंग्रेसको गुजरात इकाईले प्रतिमा उद्घाटन कार्यक्रम सरकारको नभएर भाजपाको मात्र भएको टिप्पणी गरेको छ । केही राजनीतिक टिप्पणीकारले चुनाव आउन केही महिना मात्र बाँकी रहेको अवस्थामा पटेलको प्रतिमाको अनावरण सन् १९८० को दशकमा भाजपाले चलाएको अयोध्यामा राम मन्दिर निर्माणको अभियान जस्तै भएको दाबीसमेत गरेका छन् ।

प्रतिमाको निर्माण पटेललाई भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू र महात्मा गान्धीभन्दा पनि राष्ट्रवादी र माथिल्लो दर्जाको राजनीतिज्ञका रूपमा प्रस्तुत गर्ने उद्देश्यबाट समेत प्रेरित भएको एकथरी विश्लेषकको टिप्पणी छ ।

पटेल सधैं नै गान्धीको विचारबाट प्रेरित रहेको र उनको नेहरूसँग पनि सुमधुर सम्बन्ध रहेको दाबी गर्दै भाजपाले राजनीतिक उद्देश्यका लागि इतिहास ‘तोडमोड’ गर्न खोजेको आरोप विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका प्रवक्ताले लगाएको सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिमा निर्माणका लागि करिब ७५ हजार आदिवासीको जग्गा अधिग्रहण गरिएको र उचित मुआब्जासमेत नदिएको एकथरी अधिकारकर्मीहरूको आरोप छ ।

विश्वका ५ अग्ला प्रतिमा
स्टयाच्यु अफ युनिटी, १८२ मिटर, भारत
स्प्रिङ टेम्पल, १२८ मिटर, चीन
उशिकु दाइबुत्सु, १२० मिटर, जापान
स्टयाच्यु अफ लिबर्टी, ९३ मिटर, अमेरिका,
क्रिस्ट अफ रिडिमर, ३८ मिटर, ब्राजिल

प्रकाशित : कार्तिक १५, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?