१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अष्ट्रेलियाको राजनीति अस्थिर बनाउने उप निर्वाचन

नारायण खडका

अष्ट्रेलिया — शनिबार अष्ट्रेलियाको एक निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । उक्त क्षेत्रमा हुने नतिजाले अष्ट्रेलियाको राजनीति र संसदलाई अस्थिर बनाउन सक्ने भएकाले पनि उक्त निर्वाचनलाई महत्वका साथ हेरिएको छ  ।

अष्ट्रेलियाको राजनीति अस्थिर बनाउने उप निर्वाचन

पुर्व प्रधानमन्त्री माल्कम टर्नबुलले पद त्यागेर राजनीतिबाटै सन्यास लिएपछि सिड्नीस्थित उनको निर्वाचन क्षेत्र वेन्टवर्थमा उपनिर्वाचन हुन लागेको हो । यस निर्वाचन क्षेत्रमा अहिले सरकारमा रहेको दल लिबरलबाट भारतीय मुलका देव शर्मा, बिपक्षी दल लेबरका टिम मुर्रे र स्वतन्त्र उम्मेदवार डा. केरिन फेल्प्स उम्मेदवार छन् । अहिले सरकारमा झिनो बहुमतका साथ रहेको लिबरलले यदी यो निर्वाचनमा पराजय भोगेमा आफ्नो बहुमत गुमाउनेछ भने स्वतन्त्रबाट समर्थन नपाएमा संसद र राजनीति अस्थिर बढ्ने सम्भावना रहेको छ । त्यसैले पनि यस निर्वाचनमा प्रधानमन्त्री स्कट मरिसनलगायतका ठुला नेताहरु आफ्नो दललाई जीत दिलाउन लागि परेका छन् ।

पुर्व प्रधानमन्त्री टर्नबुलले १४ वर्षसम्म यसै क्षेत्रबाट राजनीति गरेका थिए । टर्नबुलको राम्रो पकड रहेको उक्त क्षेत्रमा उनले आफ्नो दलको उम्मेदवारको पक्षमा केही नबोलेका कारण समेत समस्या सृजना भएको बिष्लेषण गरिएको छ । अष्ट्रेलियाको राजनीति बुझेका डा. भरतराज पौडेल जम्मा १ सिटको बहुमत रहेको अहिलेको सरकारका उम्मेदवारले हार ब्योहोर्नुपरे संसद, सरकार र राजनीति अस्थिर बन्ने र प्रधानमन्त्री बाध्य भएर कुनैपनि बेला निर्वाचनमा जान सक्ने बिष्लेषण गर्छन् । उनी आफ्नो उम्मेदवार जिताउन लिबरलका नेताहरुले टर्नबुललाई आग्रह गरिरहेको भएपनि उनले अहिलेसम्म मुख खोलेका छैनन् । १४ वर्षसम्म एक्लै जित हासिल गरेका टर्नबुलले उम्मेदवारको समर्थनमा बोलिदिए जित हासिल गर्ने दाबी उनको छ ।


अष्ट्रेलियाको राजनीति लिबरलमा आएको पद र नेतृत्व प्राप्तिको लडाईसँगै पछिल्लो समयमा रोचक बनिरहेको छ । पिटर डट्टनलाई प्रधानमन्त्रीको निर्वाचनमा हराएर पद हासिल गर्न सफल मरिसनलाई यो निर्वाचन प्रतिष्ठाको बिषय बनेको छ । अर्कोतिर स्वतन्त्र उम्मेदवार फेल्प्सले आफुले जीत हासिल गरे सरकारलाई समर्थन गर्ने आश्वासन दिएकी भएपनि उनको समर्थन सरकारले ल्याउने भावी नीति तथा कार्यक्रममा समेत निर्भर रहने बताइएको छ ।

अष्ट्रेलियामा संसदीय निर्वाचन हुन केही महिना मात्र बाँकी रहेको सन्दर्भमा भइरहेको यो उपनिर्वाचनले आउँदो मे पछि हुने निर्वाचनमा समेत असर पर्ने बिष्लेषण गरिएको छ । अर्कोतिर केही समयपहिले भएका ५ वटै उपनिर्वाचनमा बिपक्षी दल लेबरले जित हासिल गरेकाले समेत यो उपनिर्वाचन लिबरललाई प्रतिष्ठाको बिषय बनेको हो ।

प्रकाशित : आश्विन ३०, २०७५ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?