चीनले लखेटयो अमेरिकी जहाज

रोयटर्स/बीबीसी

बेइजिङ — अमेरिकी नौसैनिक जहाज विवादित साउथ चाइना सीस्थित चिनियाँ टापुनजिक पुगेपछि चीनको युद्धक पानीजहाजले धपाएको छ ।

चीनले लखेटयो अमेरिकी जहाज

अमेरिकी नौसेनाले आफूहरूको निकै नजिक आएर ‘असुरक्षित र अव्यावसायिक’ तवरले
आफ्नो जहाजलाई फर्कन बाध्य पारेको जनाएको छ । चीनले अमेरिकी जहाज विवादित स्पाट्ली टापु पुगेको जनाएको छ ।


अमेरिकी मिसाइल विध्वंसक ‘यूएसएस डिकेटुर’ स्वतन्त्र नेभिगेसन अप्रेसनअन्तर्गत सो क्षेत्रमा गएको अमेरिकाको भनाइ छ । स्वतन्त्र नेभिगेसन अप्रेसनले अन्तर्राष्ट्रिय जलक्षेत्रमा सबैलाई यात्रा गर्ने स्वतन्त्रता दिन्छ ।


अमेरिकाले ‘नेभिगेसन स्वतन्त्रता’ मिसन खुम्च्याउन खोजेको भन्दै चीनप्रति तीव्र असन्तुष्टि व्यक्त गरेको छ । ताइवान, फिलिपिन्स, बु्रनाई, मलेसिया र भियतनामाले उक्त विवादित क्षेत्रको भागहरू आफ्ना रहेको दाबी गर्दै आएका छन् ।


चीनले ‘९ डास लाइन’ भनिने अधिकांश भूभाग आफ्नो रहेको दाबी गर्दै अमेरिकाले आफ्नो सैनिकलाई भडकाउनुका साथै पटकपटक व्यवधान गर्दै आएको आरोप लगाउने गरेको छ । गत साता अमेरिकी बम्बर बी ५२ ले उक्त क्षेत्रमा उडान भर्दा चीनले गम्भीर आपत्ति जनाएको थियो ।


यसअघि गत मेमा अमेरिकी नौसेना साउथ चाइना सीबाट करिब २० किलोमिटरको दूरीमा देखा परेको थियो । तर त्यस क्षेत्रलाई चीनले दाबी गर्ने गरे पनि अन्तर्राष्ट्रिय समुदायले भने अस्वीकार गर्दै आइरहेको छ ।


सुरक्षा वार्ता स्थगित
व्यापार युद्ध, ताइवान नीति र साउथ चाइना सी विवादका कारण दुई देशको सम्बन्ध बिग्रँदै गएको जनाउँदै चीनले अमेरिकासँग हुने सुरक्षा वार्ता रद्द गरेको जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले मंगलबार एक विज्ञप्ति जारी गर्दै वासिङटनको आग्रहमा वार्ता रद्द गरेको दाबी गरिन् । यसबारे अमेरिकाले भने हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।


हुवाले दुईदेशबीच अक्टोबर महिनामै दोस्रो चरणको सुरक्षा संवाद हुने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘अमेरिकाले उक्त वार्ता सार्ने इच्छा देखाएपछि वार्ता स्थगित गरिएको हो ।’
पछिल्लो समय गम्भीर बन्दै गइरहेको व्यापार युद्ध, अमेरिकाको लगातार आरोप र साउथ चाइना सीको विवादका कारण दुई देशको सम्बन्ध चिसिँदै गएको छ । यसैगरी रूससँग हतियार खरिद गरेको आरोपमा पनि अमेरिकाले चीनमाथि प्रतिबन्धको घोषणा गरेपछि पनि दुई देशको सम्बन्ध थप बिग्रेको हो ।

प्रकाशित : आश्विन १७, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?