कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘प्रतिबन्ध नहटाए परमाणु अस्त्र त्याग्दैनौं’

रोयटर्स/बीबीसी

न्युयोर्क — उत्तर कोरियाले आफ्नो देशविरुद्ध अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्ध जारी राखे परमाणु नि:शस्त्रीकरण नगर्ने चेतावनी दिएको छ ।

‘प्रतिबन्ध नहटाए परमाणु अस्त्र त्याग्दैनौं’

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाली विदेशमन्त्रीले यस्तो चेतावनी दिएका हुन् । विदेशमन्त्री रि योङ–होले आफ्नो देशविरुद्ध जारी प्रतिबन्धले अमेरिकाप्रतिको ‘अविश्वास गहिरो बनाउँदै लगेको’ बताए ।


महासभामा बोल्दै विदेशमन्त्री रिले अमेरिकाले ‘निशस्त्रीकरण पहिले’ नीति अवलम्बन गरेकाले आफ्नो देशमाथिको प्रतिबन्धको स्तर बढेको जनाए । उनले भने, ‘पछिल्लो गतिरोध अमेरिकाको हेपाहापूर्ण प्रवृत्तिका कारण देखिएको हो ।’ रिले त्यस्तो व्यवहारले विश्वासको वातावरण गुम्ने दाबी गरे ।


‘अमेरिकामाथि विश्वास नहुन्जेल हामी देशको राष्ट्रिय सुरक्षामा विश्वस्त हुन सक्दैनौं ।’ विश्वासको वातावरण नबनेसम्म उत्तर कोरियाले पहिला नि:शस्त्रीकरण नगर्ने रिको भनाइ छ । प्रतिबन्धका कारण आफ्नो देशले घुँडा नटेक्ने बताउँदै रिले भने, ‘प्रतिबन्धले उत्तर कोरियालाई घुँडा टेकाउन सकिन्छ भन्ने हामीसँग अपरिचित मानिसहरूको भ्रम मात्रै हो ।’


प्योङयाङले बारम्बार आफ्नो देशविरुद्ध लगाइँदै आएका प्रतिबन्ध हटाउन राष्ट्रसंघ, अमेरिका र अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै आएको छ । यसअघि चीन तथा रुसले भने सकारात्मक प्रतिक्रिया दिइसकेका छन् । चीन उत्तर कोरियाको निकट व्यापारिक साझेदार हो । अमेरिकाले भने उत्तर कोरियाले परमाणु हतियार पूर्ण रूपमा नष्ट नगरेसम्म प्रतिबन्ध हटाउनु छिटो हुने प्रतिक्रिया जनाउँदै आएको छ ।


गत जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनसँग ऐतिहासिक शिखर बैठक भएको थियो । बैठकमा किमले परमाणु नि:शस्त्रीकरणका लागि आफू इमान्दार रहेको प्रतिबद्धता जनाएका थिए । तर त्यो दिशामा ठोस प्रगति चाहिँ नगण्य मात्रै भएको बताइन्छ । बैठकमा भएको सहमतिमा उत्तर कोरियाली द्वीपलाई परमाणु अस्त्रविहीन बनाउने उल्लेख छ । तर त्यसका लागि समयसीमा, विस्तृत विवरण वा प्रमाणीकरण प्रक्रियाबारे भने केही उल्लेख गरिएको छैन । जसका कारण अमेरिकामा समेत ट्रम्पको आलोचना हुँदै आएको छ ।


गत महिना ट्रम्पले उत्तर कोरियाको साझेदार चीनले अमेरिकासँगको व्यापार विवादका कारण नि:शस्त्रीकरण प्रगति कमजोर भएको आरोप लगाएका थिए ।

प्रकाशित : आश्विन १५, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?