१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ट्रम्पले गरे २ सय अर्ब डलरका चिनियाँ सामानमा करवृद्धिको घोषणा

रासस/एपी

वासिङ्टन — ट्रम्प प्रशासनले थप दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा करवृद्धि गर्ने घोषणा गरेको छ । अर्को सातादेखि लागू हुने यस करवृद्धिका कारण विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुकबीच व्यापार युद्ध निम्त्याउने खतरा बढेको छ ।

ट्रम्पले गरे २ सय अर्ब डलरका चिनियाँ सामानमा करवृद्धिको घोषणा

पछिल्लो करवृद्धिका कारण हाते झोलादेखि साइकलका टायरसम्मको मूल्य वृद्धि हुनेछ । आगामी सोमबारदेखि लागू हुने अमेरिकी करवृद्धि १० प्रतिशतबाट आरम्भ हुनेछ, र आगामी वर्ष सन् २०१९ को जनवरी १ बाट २५ प्रतिशत पुग्नेछ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार करवृद्धिको घोषणा गरेका थिए । यस घोषणाले वासिङ्टन र बेइजिङबीचको तनाव अझ बढाउने विश्लेषकहरुको भनाइ छ । ट्रम्पले यसअघि नै ५० अर्ब डलर बराबरका चिनीया सामानमा २५ प्रतिशत करवृद्धि गरिसकेका छन् ।


चीनले पनि प्रतिशोध स्वरुप अमेरिकी सोयाबिनको आपूर्तिमा करवृद्धि गरेको थियो । अमेरिकी राष्ट्रपतिका समर्थक कृषकहरुमाथि चीनको यस कदमले असर पारेको छ ।


ट्रम्प प्रशासनले करवृद्धि गरेमा बेइजिङले पनि थप ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा करवृद्धि गर्ने चेतावनी दिइसकेको छ । यदि चीनले प्रतिकार गरेमा ट्रम्पले अरु २ सय ६७ अर्ब डलर बराबरका अमेरिकी सामानमा करवृद्धि गर्ने चेतावनी दिएका छन् । यस्तो परिस्थिति आएमा कूल ५ सय १७ अर्ब डलर बराबरका चिनियाँ सामानमा करवृद्धि हुनेछ अर्थात् चीनबाट अमेरिका प्रवेश गर्ने सबैजसो सामानमा करवृद्धि हुनेछ ।


सर्वसाधारणको प्रतिक्रिया सुनेपछि ट्रम्प प्रशासनले चीनबाट आयात हुने साइकलका हेल्मेटजस्ता केही बालसुरक्षा सामाग्रीहरुमा करवृद्धि नगर्ने जनाएको छ । एप्पल कम्पनीका स्मार्ट घडीहरु र अरु केही इलेक्ट्रोनिक्स सामानलाई पनि करवृद्धिको पछिल्लो सूचीबाट हटाइएको छ ।


यहीबीच, ट्रम्प प्रशासनले चीनसँगको मध्यस्थता वार्तालाई खुलै राखेको जनाएको छ । 'हाम्रा सरोकारलाई सम्बोधन गर्ने चीनसँग पर्याप्त अवसर छ,' ट्रम्पले एक विज्ञप्तिमा भनेका छन् । 'चिनियाँ नेताहरुले अनुचित व्यापारिक तौरतरिका अन्त्य गर्न तत्काल कार्य गर्नेछन् ।'


अमेरिकी प्रविधि प्रभुत्व समाप्त गर्ने बेइजिङको महत्वाकाङ्क्षालाई लिएर दुवै मुलुकबीच सङ्घर्ष जारी छ । अमेरिकी व्यापारिक प्रतिनिधिको कार्यालयले विदेशी प्रविधि हासिल गर्न चीनले अपनाएको नीति स्वीकार्य नरहेको जनाएको छ ।


चीनले अपनाएका प्रमुख रणनीतिहरुमा अमेरिकी व्यापारिक गोपनीयता फुत्काउनु र चिनियाँ बजारको प्रलोभन देखाएर विशिष्ट प्रविधिहरु चीनलाई हस्तान्तरण गर्नु रहेका छन् ।


ट्रम्पले अमेरिकाको चीनसँगको व्यापार घाटा बढ्दै गएकोमा पनि चिन्ता व्यक्त गरेका छन् । गत वर्षमात्र अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँगको व्यापार घाटा ३ सय ३६ अर्ब डलर पुगेको थियो ।


चिनियाँ सामानमा भएको पछिल्लो करवृद्धिले अमेरिकी सर्वसाधारणलाई थप पीडा हुनेछ । ट्रम्प प्रशासनले घरेलु प्रयोजनका सामानमा गरेको करवृद्धिले उपभोक्तामाथि नै अतिरिक्त व्ययभार थप्नेछ ।


ट्रम्पले राष्ट्रपतीय चुनावताका आयातित सामानमा करवृद्धि गर्ने र अमेरिकी कम्पनी तथा कामदारको प्रतिकूल हुने सबै व्यापारिक सम्झौताहरु रद्द गर्ने घोषणा गरेका थिए । तर विश्लेषकहरुले ट्रम्पको त्यस्तो कार्यले सफलता प्राप्त गर्न कठिन हुने बताउँदै आएका छन् ।


प्रतिकार गर्छौं-चीन

चीनले संयुक्तराज्य अमेरिकाले अर्को साताबाट लागू हुनेगरी गरेको पछिल्लो करवृद्धिको प्रतिकार गर्ने जनाएको छ ।


'चीनसँग प्रतिकारात्मक कारबाही गर्नुको कुनै विकल्प छैन,' चिनीया बाणिज्य मन्त्रालयले म‌ंगलबार जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । तथापि यसअघि चेतावनी दिइएझैं ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा करवृद्धि गर्ने कुरा विज्ञप्तिमा उल्लेख छैन ।


चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ शुआङले बेइजिङमा आयोजित नियमित पत्रकार भेटघाटमा चीनले अपनाउने प्रतिकारात्मक कारबाहीका बारेमा उपयुक्त समयमा निर्णय लिइने बताए । उनले अमेरिकाले अपनाएको संरक्षणवादी र एकतर्फी घोषणा चीनका लागि अस्वीकार्य रहेको स्पष्ट गरे ।

प्रकाशित : आश्विन २, २०७५ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?