१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

युवामा सुर्तिजन्य वस्तु प्रयाेग दीगाे विकासकाे चुनौती :विज्ञहरु

भिषा काफ्ले

बाली (इन्डोनेसिया) — एसियाली राष्ट्रका युवाहरुमा बढ्दै गएको सुर्तिजन्य पदार्थ सेवनको प्रभावले दीगो विकासलाई नै चुनौती दिने अवस्थामा पुगेको विज्ञहरुले बताएका छन् । 

युवामा सुर्तिजन्य वस्तु प्रयाेग दीगाे विकासकाे चुनौती :विज्ञहरु

इन्डोनेसियाको बालीमा बिहीबारबाट सुरु भएको सुर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी एसिया प्यासिफिक सम्मेलनका सहभागी विज्ञहरुले आगामी पुस्तालाई स्वस्थ्य बनाउन सुर्तिजन्य पदार्थको प्रयोगबाट टाढा राख्नुपर्ने धारणा राखेका छन् ।

उनीहरुले स्वस्थ्य युवाको कल्पना नगरी दीगो विकास असम्भव भएको बताए । सुर्तिजन्य पदार्थ सेवनको कारण युवा अवस्थामा नै दीर्घरोगको शिकार भइ राज्यले उपयोग गर्नुपर्ने समयमा राज्यलाई नै थप भार बढ्दै गएको उनीहरुको चिन्ता थियो ।

सम्मेलनमा बोल्दै इन्डोनेसियाकी स्वास्थ्य मन्त्री निला मोइलोइकीले १५ देखि १९ वर्षका युवाको समूह सुर्तिजन्य पदार्थको लतमा पर्ने गरेको बताइन् । सुर्ति उद्योगले आफ्नो दीर्घकालीन ग्राहकको रुपमा यो उमेरका युवालाई बढी प्रभाव पार्ने उनको धारणा थियो ।

यही समूह नै अबको बिश्वलाई अगाडी बढाउने पुस्ता भएकाले सुर्तिजन्य बस्तुको प्रभावबाट टाढा राख्न यस क्षेत्रका राजनैतिक नेतृत्व तयार हुनुपर्ने बताइन् । ‘हामीले यही कारण परिवारको सदस्य गुमाउनु परिरहेको छ, सन्तान कुलतमा परेको हेरिरहनु परेको छ ।’ उनले भनिन्, ‘यी सबै जोगाउने दायित्व हामी राजनीतिक दलहरुको हो । व्यवसायीका दबाव आउँछन् तर त्यसलाई बेवास्ता गरेर जनताको स्वास्थ्य जोगाउनु हाम्रो नैतिक दायित्व हो ।’

२९ एसियाली देशका हजार भन्दा बढी सुर्तिजन्य पदार्थ नियन्त्रण अभियानमा लागेका मानिसहरुको भेलालाई सम्बोधन गर्दै इन्डोनेसियाका महिला सामाजिक विकास तथा बालबालिका मन्त्री युहाना एम्बिसे ले इन्डोनेसियामा २४ प्रतिशत युवाहरुले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको बताइन् । उनले एसियाली देशहरुमा यही अनुपातमा युवाहरु सुर्तिजन्य पदार्थको कुलतमा लागेको दावी गरिन् ।

इन्डोनेसियामा ८३ लाख बढी बालवालीका सुर्ति जन्य पदार्थको सेवनमा रहेको बताइन् । उनले देश विकासको मूलआधार रहेका युवा र अबको केही वर्ष पछि हुनुपर्ने सक्रिय युवा दुइटै पुस्तालाई कसरी जोगाउने भन्ने चिन्ता बढेको बताइन् । १९ प्रतिशत महिलाले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको र ती मध्ये ११ प्रतिशत गर्भ तुहिने गरेको इन्डोनेसियाको तथ्यांक रहेको छ ।

बिश्व स्वास्थ्य संगठनका प्रतिनिधी डा. वरानी तारागंले विश्वले लिएको दीगो विकासलाई पूरा गर्ने हो भने सुर्तिजन्य पदार्थको नियन्त्रण विना सम्भव नभएको बताए । ‘अबको पुस्ता स्वस्थ्य देख्न चाहने हो भने सबैभन्दा पहिले नसर्ने रोगको प्रमुख कारण रहेको सुर्तिजन्य पदार्थ नियन्त्रणमा तत्काल लाग्नुको विकल्प छैन,’ उनको जोड थियो ।

सुर्तिजन्य पदार्थ सम्बन्धी अन्तराष्ट्रिय राष्ट्रिय सन्धीलाई पालना गर्दै यस क्षेत्रका देशहरुले तत्काल कार्यन्वयनतर्फ नलागे अबको पुस्ता स्वस्थ्य भेट्न मुस्किल पर्ने द यूनियन एसिया प्यासिफिकका उपनिर्देशक डा. तारासिंह बम बताउछन् । ‘कुरा मात्र हैन सीधै काममा लाग्नुको विकल्प छैन,’ उनले भने ।

बिश्व स्वास्थ्य संगठनकाअनुसार प्रत्येक वर्ष सुर्तिजन्य पदार्थको सेवनबाट ७० लाख मानिसको मृत्यु हुने गरेको छ । जसमा एक तिहाई जनसंख्या विकासोन्मुख देशबाट प्रभावित हुने गरेको छ । सन् २०१६ मा बिश्वमा ८ दशमलव ८ प्रतिशत रहेको युवा पुस्ताको धुमपान मोह यही तरिकाले बढ्दै गए २०३० सम्ममा १६ दशमलव ४ पुग्ने बिश्व स्वास्थ्य संगठनकी दक्षिण पूर्वी एसियाली देशहरु निर्देशक डा. पुनम क्षेत्रपाल बताउँछिन् ।

प्रकाशित : भाद्र २९, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?