युवामा सुर्तिजन्य वस्तु प्रयाेग दीगाे विकासकाे चुनौती :विज्ञहरु

भिषा काफ्ले

बाली (इन्डोनेसिया) — एसियाली राष्ट्रका युवाहरुमा बढ्दै गएको सुर्तिजन्य पदार्थ सेवनको प्रभावले दीगो विकासलाई नै चुनौती दिने अवस्थामा पुगेको विज्ञहरुले बताएका छन् । 

इन्डोनेसियाको बालीमा बिहीबारबाट सुरु भएको सुर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी एसिया प्यासिफिक सम्मेलनका सहभागी विज्ञहरुले आगामी पुस्तालाई स्वस्थ्य बनाउन सुर्तिजन्य पदार्थको प्रयोगबाट टाढा राख्नुपर्ने धारणा राखेका छन्।

उनीहरुले स्वस्थ्य युवाको कल्पना नगरी दीगो विकास असम्भव भएको बताए। सुर्तिजन्य पदार्थ सेवनको कारण युवा अवस्थामा नै दीर्घरोगको शिकार भइ राज्यले उपयोग गर्नुपर्ने समयमा राज्यलाई नै थप भार बढ्दै गएको उनीहरुको चिन्ता थियो।

सम्मेलनमा बोल्दै इन्डोनेसियाकी स्वास्थ्य मन्त्री निला मोइलोइकीले १५ देखि १९ वर्षका युवाको समूह सुर्तिजन्य पदार्थको लतमा पर्ने गरेको बताइन्। सुर्ति उद्योगले आफ्नो दीर्घकालीन ग्राहकको रुपमा यो उमेरका युवालाई बढी प्रभाव पार्ने उनको धारणा थियो।

यही समूह नै अबको बिश्वलाई अगाडी बढाउने पुस्ता भएकाले सुर्तिजन्य बस्तुको प्रभावबाट टाढा राख्न यस क्षेत्रका राजनैतिक नेतृत्व तयार हुनुपर्ने बताइन्। ‘हामीले यही कारण परिवारको सदस्य गुमाउनु परिरहेको छ, सन्तान कुलतमा परेको हेरिरहनु परेको छ।’ उनले भनिन्, ‘यी सबै जोगाउने दायित्व हामी राजनीतिक दलहरुको हो। व्यवसायीका दबाव आउँछन् तर त्यसलाई बेवास्ता गरेर जनताको स्वास्थ्य जोगाउनु हाम्रो नैतिक दायित्व हो।’

२९ एसियाली देशका हजार भन्दा बढी सुर्तिजन्य पदार्थ नियन्त्रण अभियानमा लागेका मानिसहरुको भेलालाई सम्बोधन गर्दै इन्डोनेसियाका महिला सामाजिक विकास तथा बालबालिका मन्त्री युहाना एम्बिसे ले इन्डोनेसियामा २४ प्रतिशत युवाहरुले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको बताइन्। उनले एसियाली देशहरुमा यही अनुपातमा युवाहरु सुर्तिजन्य पदार्थको कुलतमा लागेको दावी गरिन्।

इन्डोनेसियामा ८३ लाख बढी बालवालीका सुर्ति जन्य पदार्थको सेवनमा रहेको बताइन्। उनले देश विकासको मूलआधार रहेका युवा र अबको केही वर्ष पछि हुनुपर्ने सक्रिय युवा दुइटै पुस्तालाई कसरी जोगाउने भन्ने चिन्ता बढेको बताइन्। १९ प्रतिशत महिलाले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको र ती मध्ये ११ प्रतिशत गर्भ तुहिने गरेको इन्डोनेसियाको तथ्यांक रहेको छ।

बिश्व स्वास्थ्य संगठनका प्रतिनिधी डा. वरानी तारागंले विश्वले लिएको दीगो विकासलाई पूरा गर्ने हो भने सुर्तिजन्य पदार्थको नियन्त्रण विना सम्भव नभएको बताए। ‘अबको पुस्ता स्वस्थ्य देख्न चाहने हो भने सबैभन्दा पहिले नसर्ने रोगको प्रमुख कारण रहेको सुर्तिजन्य पदार्थ नियन्त्रणमा तत्काल लाग्नुको विकल्प छैन,’ उनको जोड थियो।

सुर्तिजन्य पदार्थ सम्बन्धी अन्तराष्ट्रिय राष्ट्रिय सन्धीलाई पालना गर्दै यस क्षेत्रका देशहरुले तत्काल कार्यन्वयनतर्फ नलागे अबको पुस्ता स्वस्थ्य भेट्न मुस्किल पर्ने द यूनियन एसिया प्यासिफिकका उपनिर्देशक डा. तारासिंह बम बताउछन्। ‘कुरा मात्र हैन सीधै काममा लाग्नुको विकल्प छैन,’ उनले भने।
बिश्व स्वास्थ्य संगठनकाअनुसार प्रत्येक वर्ष सुर्तिजन्य पदार्थको सेवनबाट ७० लाख मानिसको मृत्यु हुने गरेको छ। जसमा एक तिहाई जनसंख्या विकासोन्मुख देशबाट प्रभावित हुने गरेको छ। सन् २०१६ मा बिश्वमा ८ दशमलव ८ प्रतिशत रहेको युवा पुस्ताको धुमपान मोह यही तरिकाले बढ्दै गए २०३० सम्ममा १६ दशमलव ४ पुग्ने बिश्व स्वास्थ्य संगठनकी दक्षिण पूर्वी एसियाली देशहरु निर्देशक डा. पुनम क्षेत्रपाल बताउँछिन्।

प्रकाशित : भाद्र २९, २०७५ १०:३५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

शिक्षक सरुवा विवाद: उपमेयरलाई दुर्व्यवहार

पवन यादव

सिमरा — शिक्षक सरुवा विवादका कारण असन्तुष्ट विद्यार्थीले बिहीबार बरियारपुरमा महागढीमाई नगरपालिकाका उपमेयरलाई दुव्र्यवहार गरेका छन् । विवाद समाधान गर्न वार्तामा बस्नका लागि विद्यार्थीलाई सम्झाउने क्रममा उपमेयर तारा देवी कानुलाई दुर्व्यवहार भएको हो ।

गणित शिक्षक अर्को विद्यालयमा सरुवा भएपछि आन्दोलनमा उत्रिएका गढीमाई महेन्द्र प्राविधिक नमुना माविका विद्यार्थी । तस्बिर : पवन

गणित विषयको शिक्षकको नगर क्षेत्रकै अर्को विद्यालयमा सरुवा भएपछि स्थानीय गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । शिक्षक सरुवा समस्यालाई समाधान गर्न छलफलमा बस्नुपर्ने आग्रह गर्ने क्रममा आन्दोलनरत विद्यार्थीहरूको हुलबाट उपमेयरमाथि पानीले भरिएको बोतल प्रहर भएको प्रत्यक्षदर्शीले बताए ।


‘तपाईंहरू शान्त भई दिनुस्, वार्ताबाट हामी समस्या समाधान गर्न सक्छौं,’ उपमेयरले भन्दै थिइन्, ‘वार्ताबाटै समस्या समाधान हुन्छ, विश्वास गर्नुस् ।’ त्यही क्रममा उनीमाथि बोतल प्रहार भएको प्रत्यक्षदर्शीले बताए । उपमेयर कानुमाथि विद्यार्थीहरूको आडमा केही व्यक्तिहरूले गढीमाई मन्दिर नजिक बोतल प्रहार भएको स्थानीयले बताए ।


विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले काज सरुवा भएको शिक्षक मनोज साह गोंढलाई फिर्ता गर्न माग गर्दै गएको मंगलबारदेखि चरणबद्ध आन्दोलनमा उत्रेका छन् । महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवसँग भएको कुराकानीमा उपमेयरमाथि हातपात भएको सुनिएको तर हातपात भएको हो होइन भने आधिकारिक जानकारी नआएको बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले बताए ।


‘हातपात भएको अधिकारिक जानकारी वा निवेदन हामी कहाँ आएको छैन,’ उनले भने, ‘हातपात हुने आशंका लागेपछि स्थानीय प्रशासनले सुरक्षाको प्रबन्ध मिलाएको छ ।’ यदी हातपात गरेको व्यक्तिको पहिचान खुलेमा कानुनी कारवाही गरिन्छ । महागढीमाई नगरपालिका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले यसअघि विद्यालयमा आगजनी र तोडफोड समेत गरेका थिए ।


गढीमाई मन्दिर नजिक विद्यार्थीहरूले टायर बालेर प्रदर्शन गरिरहेका बेला वार्ता समिति बस्दा समेत विद्यार्थीहरू नआएपछि विद्यार्थीलाई वार्तामा बस्नका लागि उपमेयर कानुले आग्रह गर्न जांदा विद्यार्थीसँगै रहेका केही व्यक्तिले हातपात गर्दै दुव्र्यवहार गरेको महागढीमाई नगरपालिकाले दाबी गरेको छ ।


विद्यार्थीहरू आन्दोलनमा उत्रेपछि नगरपालिकाले वडा नं. १ का वडा अध्यक्ष सुदामा साह कानुको अध्यक्षतामा १७ सदस्यीय छानबिन तथा समन्वय समिति गठन गरेको छ । आन्दोलित विद्यार्थी र विद्यार्थीसँग रहेका केही व्यक्तिले बरियारपुर बजार, इनर्वा बजार बन्द गराएका छन् ।


छानबिन समितिले दिएको प्रतिवेदनअनुसार माग पूरा गर्ने सार्वजनिक रूपमै पटकपटक प्रतिबद्धता दिएको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले बताए । ‘कक्षा १० का एक सय ८ जना विद्यार्थी र तिनका अभिभावकलाई विद्यालयबाट पत्राचार गरी छलफलका लागि बोलाएका थियौं,’ मेयर यादवले भने, ‘विद्यार्थीहरू आन्दोलित भएपछि आफूले आन्दोलनको दिनदेखि नै विद्यार्थीको माँग पूरा गर्ने आश्वासन दिँदै आएको छु ।’

प्रकाशित : भाद्र २९, २०७५ १०:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT