कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

हक्कानी सञ्जालका संस्थापकको मृत्यु

एएफपी

काबुल — अफगानिस्तानको प्रभावशाली हक्कानी नेटवर्कका संस्थापक जलालुद्दिन हक्कानीको दीर्घरोगका कारण मृत्यु भएको अफगान तालिवानले जनाएको छ ।

हक्कानी सञ्जालका संस्थापकको मृत्यु

अफगान तालिवान तथा अल कायदासँग निकट सम्बन्ध रहेको हक्कानी समूहको नेतृत्व अहिले जलालुद्दिनका छोरा सिराजुद्दिनले गरिरहेका छन् । उनले सन् २००१ देखि हक्कानी समूहको नेतृत्व लिएको अनुमान छ । सिराजुद्दिन अफगान तालिवानका उपनेता पनि हुन् ।

जलालुद्दिनको मृत्यु दीर्घरोगका कारण भएको उल्लेख गर्दै तालिवानले प्रकाशन गरेको वक्तव्यमा ‘उनी आफ्नो समयका ठूला जिहादी व्यक्तित्व रहेको’ दाबी गरिएको छ । सन् १९८० को दशकमा हक्कानीले अमेरिका र पाकिस्तानको सहयोगमा अफगानिस्तानबाट रूसी सैनिक फिर्ता गराउन लामो सशस्त्र संघर्षको नेतृत्व गरेका थिए ।

अरबी भाषा धाराप्रवाह बोल्न सक्ने जलालुद्दिनले ओसामा बिन लादेनसहित अन्य प्रभावशाली अरबी लडाकुसँग सम्बन्ध सुदृढ गर्न भूमिका निर्वाह गरेका थिए । उनी अफगानिस्तानमा तालिवानी सरकारमा रहँदा मन्त्रीसमेत भएका थिए । जलालुद्दिनको मृत्युको खास कारण भने सार्वजनिक गरिएको छैन । यसअघि सन् २००८ र २०१५ मा पनि उनको मृत्यु भएको हल्ला चलाइएको थियो । उनी ८० वर्षको हाराहारी उमेरका रहेको बताइन्छ ।

पछिल्ला वर्षहरूमा उनी पाकिस्तानमा लुकीछिपी बसेको हुन सक्ने जनाइएको छ । अफगानिस्तानमा अमेरिकी हस्तक्षेपपश्चात् हक्कानी समूहले विभिन्न आक्रमणको नेतृत्व गरेको ठानिन्छ । पछिल्ला दिनहरूमा काबुलसहितका विभिन्न स्थानमा भएका आक्रमणमा समेत हक्कानी समूहको संलग्नता रहेको छ तर त्यसको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिइरहेको छ ।

विश्लेषकहरूका अनुसार हक्कानीसँग इस्लामिक स्टेटको सम्बन्ध पनि प्रगाढ छ, तर बाहय संसारलाई भ्रमित पार्न हक्कानी समूह र आईएसबीच बेलाबेला अन्तरसंघर्ष हुने गरेको छ । पाकिस्तानको छाया सैनिकसँग लामो सम्बन्ध कायम राखेको हक्कानी समूहलाई अमेरिकी एडमिरल माइक मुलेनले सन् २०११ मा पाकिस्तानी जासुसी संस्थाको ‘विश्वसनीय हतियार’ रहेको बताएका थिए ।

अमेरिकाले आतंककारी समूह घोषित गरेको हक्कानी समूहले ठूलो संख्यामा आत्मघाती बम हमला गर्ने गरेको बताइन्छ । काबुलमा सन् २०१७ को मेमा भएको ट्रक बम हमलामा समेत हक्कानी समूहको संलग्नताको आशंका छ । उक्त आक्रमणमा करिब १ सय ५० जनाको ज्यान गएको थियो । तर सिराजुद्दिनले बिरलै गर्ने एक अडियो सन्देशमा उक्त हमला आफूहरूले नगरेको दाबी गरेका थिए ।

प्रकाशित : भाद्र २०, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?