कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अमेरिकाले रोक्यो प्यालेस्टाइनी संस्थालाई सहयोग

जनताविरुद्धको अनैतिक आक्रमण तथा राष्ट्रसंघीय सम्झौताको अवज्ञा : प्यालेस्टाइन
रोयटर्स

वासिङ्टन/रमल्लाह — अमेरिकाले प्यालेस्टाइनी शरणार्थीलाई सहायता उपलब्ध गराउने राष्ट्रसंघीय निकायलाई दिँदै आएको सबै सहयोग बन्द गरेको छ ।

अमेरिकाले रोक्यो प्यालेस्टाइनी संस्थालाई सहयोग

अमेरिकी कदमसँगै प्यालेस्टाइनी नेतृत्व र ट्रम्प प्रशासनबीच जारी तनाव थप बढाएको छ ।

प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अब्बासका प्रवक्ताले अमेरिकी कदम ‘प्यालेस्टाइनी जनताविरुद्धको अनैतिक आक्रमण तथा राष्ट्रसंघीय सम्झौताको अवज्ञा’ भएको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले राष्ट्रसंघीय सहायता एजेन्सी (यूएनआरडब्लूए) ‘सच्याउन नमिल्ने किसिमको’ रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता हिथर नुयर्टले ‘अमेरिकी प्रशासनले उक्त विषयबारे सावधानीपूर्वक समीक्षा गरिसकेको छ । अब अमेरिकाले उन्र्वालाई थप योगदान दिने छैन ।’

नबिल अबु रदिनाहले ‘अमेरिका तथा अन्य कुनै पनि शक्तिले यूएनआरडब्लूए विगठन गर्न नसक्ने बताए । समाचार संस्था रोयटर्ससँग कुराकानी गर्दै उनले ‘अमेरिका प्यालेस्टाइनी जनताका लागि शत्रु भएको र आफूहरूले अन्यायपूर्ण निर्णयप्रति आत्मसमर्पण नगर्ने’ चेतावनी दिए ।

जर्मन विदेशमन्त्री हेइको मासले ‘जर्मनीले यूएनआरडब्लूएलाई दिँदै आएको सहयोग रकम बढाउने’ बताएका छन् । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले यूएनआरडब्लूएको कार्यको प्रशंसा गरेका छन् । उनले अमेरिकी घोषणाका कारा उक्त संस्थामा उत्पन्न हुन सक्ने आर्थिक खाडल पुर्न अन्य दाता राष्ट्रलाई सहयोग बढाउनसमेत आग्रह गरेका छन् ।

गत साता अमेरिकी प्रशासनले वेस्ट बैंक र गाजा क्षेत्रका प्यालेस्टाइनी लक्षित कार्यक्रमका लागि दिँदै आएको २ सय मिलियन डलर सहायताबारे पुनर्विचार गर्ने जनाएको थियो ।

यूएनआरडब्लूए प्रवक्ता क्रिस गुनेजले निर्णयप्रति ‘गहिरो दु:ख’ लागेको प्रतिक्रिया दिएका छन् । उनले शृखलाबद्ध ट्वीटमार्फत यूएनआरडब्लूएको बचाउ गरेका छन् ।
उनले लेखेका छन्, ‘यूएनआरडब्लूएका विद्यालय, स्वास्थ्य केन्द्र र आपत्कालीन सहायता कार्यक्रम सच्याउनै नमिल्ने गरी त्रुटिपूर्ण रहेको आरोपको कडा शब्दमा अस्वीकार गर्छौं ।’ उनले अमेरिकी निर्णयले राष्ट्रसंघीय संकल्प प्रस्तावको अवज्ञा गरेको दाबी गरे ।

गत जनवरीमा अमेरिकाले यूएनआरडब्लूएलाई दिँदै आएको रकम आधाले कटौती गर्ने घोषणा गरेको थियो । यसअघि राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हलीले उक्त संस्थाले प्यालेस्टाइनी शरणार्थीको संख्याबारेको तथ्यांक बंग्याएको आरोप लगाएकी थिइन् । उनले यूएनआरडब्लूएमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता रहेको टिप्पणी गरेकी थिइन् ।

शुक्रबार अमेरिकाका लागि प्यालेस्टाइनी राजदूत होसाम जोमलटले अमेरिकाले इजरायलको पक्ष लिएर ५ लाख प्यालेस्टाइनी शरणार्थीको अधिकारमाथि अन्याय गरेको आरोप लगाएका थिए । समाचार संस्था एएफपीसँग कुराकानी गर्दै उनले ‘अमेरिकाले पहिलेदेखि नै द्वन्द्वका कारण अस्थिर क्षेत्रमा शान्ति स्थापनामा थप क्षति पुर्‍याएको’ बताएका थिए ।

प्यालेस्टाइनी अधिकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको पक्ष लिएर उक्त क्षेत्रको तनाव थप बढाइरहेको आरोप लगाउँदै आएका छन् । गत डिसेम्बरमा ट्रम्पले प्यालेस्टाइनको विरोधा बाबजुत जेरुसेलमलाई इजरायको राजधानीको मान्यता दिएका थिए ।

के हो यूएनआरडब्लूए ?
अरब–इजरायल युद्धका कारण विस्थापित हजारौं प्यालेस्टाइनीको रेखदेख गर्न स्थापना गरिएको ६८ वर्ष पुरानो संस्था हो, यूएनआरडब्लूए । यसले हाल वेस्ट बैंक, गाजा तथा जोर्डन, लेबनान, सिरियालगायतका देशमा रहेका ५० लाखभन्दा बढी प्यालेस्टाइनी शरणार्थीलाई स्वास्थ्य, शिक्षा र सामाजिक सेवाको क्षेत्रमा सहयोग गर्दै आएको छ ।

अमेरिका यूएनआरडब्लूए निकायलाई सबैभन्दा बढी सहायता उपलब्ध गराउने दाता हो । अमेरिकाले यूएनआरडब्लूएलाई ३ सय ६५ मिलियन डलर सहयोग दिने घोषणा गरे पनि गत जनवरीमा करिब ६० मिलियन डलरमा दिएको थियो ।

उक्त रकम यूएनआरडब्लूएको करिब ३० प्रतिशत हुन्छ । यूएनआरडब्लूएलाई अमेरिकाका अतिरिक्त युरोपेली संघ, साउदी अरब, जर्मनी, बेलायत, जापान, स्विडेन, स्विटजरल्यान्ड, नर्बे, नेदरल्यान्ड, क्यानडा, अस्ट्ेरलिया, डेनमार्क, इटाली, यूएईलगायतका देशले सहयोग गर्दै आएका छन् ।

प्रकाशित : भाद्र १७, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?