१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

दिल्लीमा पुतली राजमार्ग

सुरेशराज न्यौपाने

नयाँदिल्ली — बगैंचा वा पार्कमा हिँडदा छेवैबाट हूलका हूल रंगीन र आकर्षक पुतलीको ओहोरदोहोर । पैदल यात्रुका लागि फुटपाथ भएजस्तै पुतलीलाई निर्बाध ओहोरदोहोर गर्न बेग्लै ‘बटरफ्लाई करिडोर’ अर्थात् पुतली मार्ग ।

दिल्लीमा पुतली राजमार्ग

सुन्दै मन रमाउने । तर नझुक्किनुस्, प्रकृति र जीवजन्तु संरक्षणको यस्तो लोभलाग्दो परियोजना काठमाडौंमा होइन, भारतको राजधानी नयाँदिल्लीमा सुरु हुन लागेको हो ।

हुन त दिल्लीको तुलनामा काठमाडौं र आसपासका क्षेत्रमा पाँचगुणा बढी अर्थात् ३५० भन्दा बढी पुतलीका प्रजाति पाइन्छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गरेको अध्ययनले नेपालमा ६ सय ३५ प्रजातिका पुतली रहेको देखिएको छ । जबकी बम्बे नेचुरल हिस्ट्री सोसाइटी (बीएनएचएस) ले एक वर्षअघि गरेको अध्ययनअनुुसार दिल्लीमा भने ७० प्रजातिका मात्रै पुतली छन् ।

बीएनएचएसले करिब डेढ सय वर्षदेखि पर्यावरण र वन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ । तर बिहानसाँझ हिँडडुल गर्न खुला चौरको समेत अभाव खेपिरहेका काठमाडौंबासीका लागि ‘पुतली मार्ग’ अहिलेका लागि कोरा सपना नै हो ।

वन्यजन्तु तथा प्रकृति संरक्षणमा काम गर्ने संस्था तथा विज्ञहरूले पुतलीलाई घुमफिर गर्न सहज बनाई सहरलाई पर्यावरणीय हिसाबले आकर्षक बनाउन यस्ता अवधारणा अघि सारेका हुन् । बीएनएचएसले जवाहरलाल नेहरू तथा दिल्ली विश्वविद्यालयका विज्ञसँग मिलेर पुतली मार्गको अवधारणा कार्यान्वयनको गृहकार्य सुरु गरेको हो ।

बीएनएचएसले दिल्लीका यमुना विविध जैविक पार्कलगायतका एक दर्जन पार्कलाई यसअघि नै पुतलीमैत्री बगैंचाका रूपमा विकास गरिसकेको छ । पुतली मार्ग निर्माणका लागि दिल्लीका पार्क, बगैंचा, वनलगायतका हरित स्थललाई एकअर्कासँग जोडिनेछ । पुतलीलाई रस चुस्न मिल्ने र अण्डा पार्न तथा झुसिलकीरा हुर्काउन अनुकूल हुने विरुवा अर्थात् ‘होस्टप्लान्ट’ चाहिन्छ । हेर्दा सानो देखिए पनि पर्यावरणीय सन्तुलनमा पुतलीको अहंभूमिका हुन्छ । त्यसबाहेक पुतलीले बोटविरुवाको परागसेचनमा पनि सक्रिय भूमिका खेल्छन् ।

विज्ञहरूको टोलीले सम्भावित पुतली मार्गको नक्सांकन पनि गरिसकेको छ । यसका साथै रोप्नुपर्ने बोटविरुवाको सूची पनि तयार पारिएको छ । होस्टप्लान्ट रोप्ने काम सुरु भइसकेको निर्देशक मादेनले जानकारी दिए । यसअघि स्थानीयसँगको सहकार्यमा पुतलीको प्रजाति र तिनको संख्या पहिचान गरिएको निर्देशक मादेनले जनाए । ‘नागरिकसँगको सहकार्यबिना यस किसिमको योजना सफल हुन सक्दैन,’ उनले भने ।

त्यसैगरी, पुतलीले फ्लाईओभर तथा सडक कसरी पार गर्छन् भन्ने अध्ययन पनि सुरु भइसकेको उनले जनाए । बीएनएचएसले हाल दिल्लीको उत्तरी छेउबाट दक्षिणी छेउसम्म पुतलीमार्ग निर्माण गर्न लागिएको र त्यसलाई ५ वर्षभित्र दिल्लीभर विस्तार गर्ने योजना बनाएको छ ।

करिडोरले पुतलीलाई दिल्लीका पार्क र बगैंचामा हिँडडुल गर्न सुरक्षित मार्ग उपलब्ध गराउनुका साथै संरक्षणमा समेत योगदान गर्ने निर्देशकको मादेनको दाबी छ । तर, केही विज्ञले भने दिल्लीको बाक्लो बस्तीले सिर्जना गरेको प्रदूषणका कारण पुतली मार्गको अवधारणा पूर्णरूपमा कार्यान्वयनमा ल्याउन सहज नहुने बताएका छन् ।

तर सहरीकरण भए पनि सडक, स्कुल तथा कलेजमा होस्टप्लान्ट लगाउन सकिने भएकाले आयोजना प्रभावकारी हुने मादेनको तर्क छ । ‘कार्यान्वयन सुरु भएपछि मात्र केकस्ता चुनौती आउँछन्भन्नेबारे थाहा हुन्छ र सम्बोधनको आवश्यक कदम चालिनेछ,’ मादेनले भने ।

प्रकाशित : भाद्र १७, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?