कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इरानको पहिलो लडाकू विमान सार्वजनिक

रासस/एएफपी

तेहरान — इरानले तेहरानमा आयोजित प्रतिरक्षा प्रदर्शनीका अवसरमा मङ्गलबार पहिलो घरेलु लडाकू विमान सार्वजनिक गरेको छ । 

इरानको पहिलो लडाकू विमान सार्वजनिक

राज्य नियन्त्रित टेलिभिजनले इरानी राष्ट्रपति हस्सन रौहानीलाई राष्ट्रिय प्रतिरक्षा उद्योगको प्रदर्शनीमा राखिएको नयाँ 'कौसार' विमानको ककपिटमा बसेको देखाएको छ । यो चौथो पुस्ताको लडाकू विमान हो ।


यस विमानमा अत्याधुनिक उपकरणहरु र बहुउद्देश्यीय राडार जडान गरिएको छ । यो विमान सत प्रतशित इरानी प्रविधिबाट उत्पादन गरिएको हो ।


राज्य नियन्त्रित टेलिभिजनले यो विमानको सफलतापूर्वक परीक्षण गरिएको र सार्वजनिक उडानका लागि धावनमार्गमा राखिएको जनाएको छ ।


यो विमानका बारेमा शनिबार मात्र रक्षामन्त्री अमिर हतामीले जानकारी दिएका थिए । उनले यस परियोजनका बारेमा ज्यादै कम विवरण सार्वजनिक गरेका छन् ।


रक्षामन्त्री हतामीले इरानको प्रतिरक्षा कार्यक्रम सन् १९८० को दशकमा इराकबाट ८ वर्षसम्म लगातार आक्रमण भएदेखि नै आरम्भ गरिएको बताए ।


इजरायल र संयुक्तराज्य अमेरिकाले बारम्बार चेतावनी दिएपछि इस्लामिक गणतन्त्रले आफ्ना सबै विकल्प खुला राख्नुपर्दछ भन्ने मान्यताबाट अघि बढेको पनि उनले स्पष्ट गरे ।


'हामीले इरान–इराक युद्धबाट परनिर्भर होइन आफैँ सक्षम हुनु पर्दछ भन्ने कुरा सिक्यौँ । हामीसँग स्रोत सीमित छ र न्यून लागतमै सुरक्षा प्रणालीलाई मजबूत बनाउन हामी प्रतिबद्ध छौँ ' उनले भने ।


अमेरिकाले अर्बौँ डलरका हातहतियार इरानका क्षेत्रीय प्रतिद्वन्द्वी राष्ट्रहरुलाई बेचेको छ, तर इरानमाथि प्रतिरक्षा कार्यक्रमलाई नियन्त्रण गर्न आग्रह गरी आएको छ । इरानमाथि दबाब सिर्जना गर्न अमेरिकाले आर्थिक नाकाबन्दी लगाइरहेको छ ।

प्रकाशित : भाद्र ५, २०७५ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?