१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तालिवान–सरकार युद्धले खाद्यान्न संकट

४ दिनमा ३०० मारिए
एएफपी

काबुल — राष्ट्रसंघले अफगानिस्तानको घज्नी सहरमा गत शुक्रबारदेखि तालिवान विद्रोही लक्षित कारबाहीका कारण खाद्यान्न संकट उत्पन्न भएको जनाएको छ । 

तालिवान–सरकार युद्धले खाद्यान्न संकट

‘मुख्य अस्पतालहरूमा औषधोपचारका सामग्रीको अभाव भएको छ र मानिस उपचारका लागि अस्पाताल आउन सक्ने अवस्था छैनन् ।’ अफगानिस्तानका लागि राष्ट्रसंघीय मानवीय समन्वयकर्ताले बताए । उनले युद्ध चर्किंदै गएको उल्लेख गर्दै ‘घज्नी क्षेत्रमा चरम मानवीय संकट उत्पन्न भएको’ जनाए ।

दुई पक्षको भिडन्तका कारण हजारौं विस्थापित भएका छन् । ‘जीवन निकै संघर्षपूर्ण बन्दै गएको छ, उनीहरूले खानेकुरा तथा पानी पाएका छैनन्,’ विस्थापित एक व्यक्तिले बीबीसीलाई भने । बीबीसीका अनुसार करिब २ लाख ७० हजार मानिसले खानेपानी तथा खाद्यान्नको संकट बेहोरिरहेका छन् ।

तालिवान विद्रोही लक्षित आक्रमणका क्रममा हालसम्म करिब ३ सय जनाको मृत्यु भएको रक्षा मन्त्रीले सोमबार बताएका छन् । उनले मृत्यु हुनेमध्ये करिब सय जना अफगान सेना तथा प्रहरी रहेको जनाए ।

‘भिडन्तमा विद्रोहीतर्फका १ सय ९४ लडाकु मारिएका छन्,’ रक्षा मन्त्री तारिक साह बरामीले काबुलमा आयोजित पत्रकार सम्मेलनमा भने । भिडन्तमा परी केही सर्वसाधारणको मृत्यु भएको उनले जनाए । यद्यपि उनले ४ दिन यताका भिडन्तका कारण भएको मानवीय तथा अन्य भौतिक क्षतिबारेका सूचना पुष्टि गर्न कठिन रहेको उनले बताए ।

अधिकारीहरूका अनुसार गत शुक्रबार तालिवानले घज्नीको चारैतर्फबाट आक्रमण सुरु गरेपछि सरकारी फौजले जवाफी कारबाही सुरु गरेको हो । घज्नी सहर काबुल र कान्दहारको मुख्य राजमार्ग बीचमा पर्छ । उक्त सहरमाथि विद्रोहीको नियन्त्रणले अफगानिस्तानको दक्षिणी क्षेत्र राजधानी काबुलसँगको सम्पर्कबाट अगल हुन्छ ।

विद्रोहीले सरकारी फौजलाई परास्त गर्दै गएपछि राष्ट्रपति असरफ घानीले थप १ हजार सैनिक परिचाल गरेका छन् । सरकार र नेटो सेनाले घज्नी आफ्नो नियन्त्रणमा रहेको दाबी गरेका छन् ।

तर उक्त क्षेत्रका सडकहरूमा विद्रोहीहरू घुमिरहेको तथा सरकारी कार्यालयमा कब्जा जमाएको बीबीसीले जनाएको छ । हाल उक्त क्षेत्रमा इन्टरनेट तथा टेलिफोन सम्पर्क टुटेका कारण थप विवरण थाहा हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित : श्रावण २९, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?