२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

दुई कोरियाबीच रेल सञ्चालन हुने

सिन्हवा

सोल — उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालन हुने भएको छ । कोरियाली सीमाक्षेत्रमा मंगलबार दुई कोरियाली अधिकारीको संयुक्त बैठकमा दुई देशबीच आधुनिक रेल सेवा सञ्चालन गर्ने सहमति भएको हो ।

दुई कोरियाबीच रेल सञ्चालन हुने

कोरियाली सीमाक्षेत्रको पान्मुन्जोममा अवस्थित ‘पिस हाउस’ मा मंगलबार भएको बैठकमा दुई कोरियाको पूर्वी र पश्चिमी क्षेत्रबाट रेल सेवा जोड्ने विषयमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।


उत्तर दक्षिण कोरियाबीच पहिलोपटक रेल सेवा सञ्चालनका विषयमा वार्ता भएको हो । बैठकमा उत्तर कोरियाको रेल सेवालाई आधुनिकीकरण गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।


वार्तामा दुवै देशका रेल सेवा मन्त्रालयका उपमन्त्रीको नेतृत्वमा ३/३ अधिकारीको संलग्नता थियो । दक्षिण कोरियाली अधिकारीले उत्तर कोरियासँग रेल सञ्जाल स्थापित गर्ने विषयमा कुराकानी मात्र भएको तर अहिले नै सेवा सञ्चालन भइहाल्ने अवस्था भने नरहेको बताएका छन् ।


उत्तर कोरियामाथि राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियाद्वारा जारी नाकाबन्दी भने जारी छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले पूर्णरूपमा परमाणु नि:शस्त्रीकरण नगरेसम्म नाकाबन्दी फुकुवा नगर्ने बताइसकेका छन् । उनले उत्तर कोरियासँग आर्थिक, व्यापारिक र पारवहनसम्बन्धी कुनै पनि विषयमा सहकार्य र सम्झौता नहुने बताएका छन् ।


गते अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच यही जुन १२ मा सिंगापुरमा शिखर बैठक भएको थियो । बैठकमा कोरियाली प्रायद्वीपलाई पूर्णरूपमा परमाणु अस्त्रमुक्त बनाउने सहमति भएको थियो ।


यद्यपि, ट्रम्प र किमबीचको शिखर वार्तामा परमाणु नि:शस्त्रीकरण कसरी गर्ने भन्नेबारे विस्तृत विवरण भने उल्लेख छैन । उक्त शिखर बैठकमा भएको सहमतिअनुसार अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास रद्द गरिसकेका छन् ।


उत्तर कोरिया तथा चीनले कोरियाली प्रायद्वीपमा नियमित रूपमा हुने गरेको सैन्य अभ्यास अन्त्य गर्न लामो समयदेखि आवाज उठाउँदै आएका थिए । तर अमेरिकाका एसियाली सहयोगी दक्षिण कोरिया र जापानले भने सैन्य अभ्यास निकै महत्त्वपूर्ण हुने गरेको बताउने गरेका थिए ।


दक्षिण कोरियामा तैनाथ २९ हजार अमेरिकी सेनाले हरेक वर्ष ठूलो सैन्य अभ्यास गर्दै आएका थिए । १७ हजार ५ सय अमेरिकीसहित दुई देशका सेनाले आगामी महिना सैन्य अभ्यास गर्ने जनाएका थिए ।


वासिङ्टन तथा सोलस्थित अधिकारीले गत मंगलबार देशको सैनिक अभ्यास स्थगित भएको जनाएका छन् । ‘दक्षिण कोरिया र अमेरिकाबीच आगामी महिनाका लागि तय भएको संयुक्त सैन्य अभ्यास स्थगित गरेसँगै अन्य विकल्पबारे समेत छलफल गरिने भएको छ,’ दक्षिण कोरियाली रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत उल्लेख गरेको हो ।


ह्वाइटहाउस प्रवक्ता सराह स्यान्डर्सले पत्रकारहरूसँग ‘सिंगापुरमा प्रतिबद्धता जनाएजस्तो उत्तर कोरियाले विश्वास दिलाए संयुक्त सैन्य अभ्यास सधैंका लागि अन्त्य हुने’ बताएकी थिइन् ।

प्रकाशित : असार १३, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?