३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गोर्खा स्मारक बेलायतलाई

लन्डन — गोर्खाहरूको आधुनिक युद्ध इतिहास बोकेको बेलायत फोकस्टनस्थित गोर्खा मेमोरियल स्मारक स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ ।

गोर्खा स्मारक बेलायतलाई

निर्माण सकिएको ३ वर्षपछि गोर्खा मेमोरियल फन्डले शनिबार स्थानीय फोकस्टन टाउन काउन्सिललाई स्मारक हस्तान्तरण गरेको हो ।

फोकस्टन टाउन मेयर आन बेरी र गोर्खा मेमोरियल फन्डका संस्थापक अध्यक्ष पूर्वकाउन्सिलर धन गुरुङबीच सम्झौतापत्रमा हस्ताक्षरपछि स्मारक काउन्सिलको जिम्मामा गएको हो । ‘बेलायत सरकारलाई समस्त गोर्खाहरूका तर्फबाट उपहार हो यो,’ गुरुङले भने, ‘यसबाट बेलायतले गोर्खाहरूप्रति हेर्ने दृष्टिकोण र विश्वास अझ बढ्ने हाम्रो आशा छ ।’

स्मारकको नियमित मर्मतसम्भार र अन्य व्यवस्थापन गर्न फन्डलाई सकस भइरहेको थियो ।

गुरुङले काउन्सिलर छँदै सन् २००९ तिर स्मारक निर्माण प्रोजेक्टको योजना बनाएका थिए । विभिन्न चन्दादाताबाट करिब एक करोड रुपैयाँ सहयोगमा सन् २०१५ मा स्मारक बनाइएको हो । बेलायती सेनामा गोर्खा भर्तीको २ सय वर्षगाँठको अवसर पारेर ब्रिटिस अभिनेत्री जोआना लुम्ली र कांग्रेस नेत्री सुजाता कोइरालाले उक्त स्मारक उद्घाटन गरेका थिए ।

स्मारकमा अफगानिस्तान र अन्य देशका द्वन्द्वमा वीरगति प्राप्त गरेका १५ जना दिवंगत गोर्खाहरूको नाम अंकित छ । यसमा गोर्खा इतिहास पनि समावेश छ । स्मारकले नेपाली नयाँ पुस्ता र बेलायती नागरिकलाई गोर्खा इतिहास र योगदानबारे थप प्रस्ट्याउने विश्वास लिइएको छ ।


गोर्खा मेमोरियल फन्डका संस्थापक गुरुङले आफ्नो संस्थाले बेलायतस्थित गोर्खा समुदाय र मातृभूमिका लागि कल्याणकारी काम गर्दै आएको जनाए । फन्डले हालै झापाको काँकडभिट्टा माविमा ३१ कम्प्युटरसहित आईटी सेन्टर स्थापना गरिदिएको छ भने आगामी वर्षसम्म रोल्पाको खाबाङ गाउँस्थित श्री बलभद्र माविमा त्यस्तै सेन्टर स्थापना गर्ने उद्देश्य राखेको छ ।


संस्थाको प्राकृतिक विपत्ति सचेतना कार्यक्रमअन्तर्गत नेपालमा अग्नि नियन्त्रणसम्बन्धी प्रशिक्षण र सामग्रीसाथै एम्बुलेन्स उपलब्ध गराइएको जानकारी पनि गुरुङले दिए ।

प्रकाशित : जेष्ठ २१, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?