२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

हत्या गरिएका भनिएका पत्रकार जिउँदै

सीएनएन

किभ — युक्रेनको राजधानी किभमा गोली हानी हत्या गरिएका भनिएका रुसी पत्रकार अर्कादी बाब्चेन्को नाटकीय रुपमा पत्रकार सम्मेलनमा उपस्थित भएका छन् ।

हत्या गरिएका भनिएका पत्रकार जिउँदै

युक्रेनी सुरक्षा अधिकारीसहित उपस्थित उनले आफ्नो हत्या योजनालाई असफल बनाउन यो नाटक रचिएको बताएका छन् ।

युक्रेनको सुरक्षा एजेन्सीले बाब्चेन्कोको हत्या गर्ने रूसी योजनालाई असफल पार्न हत्याको नाटक रचिएको जनाएको छ । युक्रेनका सुरक्षा प्रमुख भासिल रित्साकले यो योजना दुई महिना अघिदेखि बनेको बताएका छन् । ट्वीटरमार्फत उनले युक्रेनी भूमिमा रूसी आतंकवादी क्रियाकलापको प्रमाण संकलन गर्न यो अपरेशन सञ्चालन गरिएको बताए ।

मंगलबार युक्रेनी समाचार समिति युक्रिनफर्मले ४१ वर्षीय बाब्चेन्कोलाई गोली हानी छाडिएको अवस्थामा फेला पारिएको र अस्पताल लैजाँदा लैजाँदै एम्बुलेन्समा मृत्यु भएको जनाएको थियो । त्यसपछि प्रहरीले शंकास्पद हत्याराको स्केचसमेत सार्वजनिक गरेको थियो । बुधबारको पत्रकार सम्मेलनमा बाब्चेन्कोले श्रीमती र शुभेच्छुकसँग माफी मागेका छन् ।

उनी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचकका रुपमा चिनिन्छन् । युक्रेनबाट क्रिमिया टुक्रिने समयमा उनले पुटिनको भूमिकाको विरोध गर्नुका साथै पुटिनविरुद्ध कैयौं समाचार पनि लेखेका थिए ।

राजधानी मस्कोमा रहेर पत्रकारिता गरिरहेका उनी त्यसपछि भागेर प्राग पुगेका र पछि किभमा बस्दै आएका थिए । बाब्चेन्कोले सन् २०१६ मा रुसमा दुर्घटनाग्रस्त एउटा रूसी सैनिक विमानका बारे आलोचनासहितको एक समाचार लेखेका थिए । त्यसपछि आफूलाई मार्ने धम्की आएको उनले बताएका थिए । त्यसलगत्तै उनले रूस छाडेको सार्वजनिक भएको थियो ।

प्रकाशित : जेष्ठ १७, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?